arrow

निजी क्षेत्रले मन्त्रालयलाई उपलब्ध गरायो मेडिकल सामग्री

logo
रमेश लम्साल,
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
sree-air.jpg

काठमाडौं । सबैको साथ सहयोगबाट मात्रै विपद् पार लगाउन सकिन्छ । विश्वव्यापी रुपमा कोराना कहरका कारण जनजीवन प्रभावित भएको छ । विपद्बाट जनजीवन सामान्य बनाउन र परीक्षणको दायरा बढाउनका लागि सरकारले पहल गरिरहेको छ । त्यसमा निजी क्षेत्रले पनि साथ दिएको छ ।
 
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र श्री एयरलाइन्सका सुधिर मित्तल तथा महासंघका कार्यकारीणी सदस्य सुधिर आचार्यलगायत पहलमा आज कोरोना भाइरसको परीक्षणका लागि महत्वपूर्ण मानिएको पिसिआर किटलगायत अत्यावश्यक सामग्री आइपुगेको हो । ती सामान आयातका लागि सरकारको पहलमा निजी क्षेत्रको वायु सेवा कम्पनी श्री एयरलाइन्सले चार्टड उडान गरेको थियो । 

सिंगापुरको टेमासेक फाउन्डेसनले नेपाललाई कोरोना परीक्षणका लागि उपलब्ध गराएको मेडिकल सामग्री तथा गंगालाल अस्पताललाई जरुरी रहेको सामग्री चार्टड उडानमा ल्याइएको महासंघका कार्यकारिणी सदस्य आचार्यले जानकारी दिए । 

सरकारलाई प्राप्त भएको तथा निजी क्षेत्रको पहलमा जम्मा गरिएको सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । विमानस्थलमा आइपुगेको सबै स्वास्थ्य सामग्री आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराइसकिएको आचार्यले जानकारी दिए । 

सिंगापुरको टेमासेक फाउन्डेसनले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री दिने जनाएको थियो । सरकारले भने राहत सामग्री लिनको लागि सिंगापुरतर्फ जहाज पठाउन विविध कारणले समस्या भएको थियो । त्यही समस्याको बीचबाट उद्योगी व्यवसायीको पहलमा नै अत्यावश्यक सामग्री ल्याइएको हो । 

आचार्यका अनुसार कूल १० हजार थान पिसिआर किट ल्याइएको छ । उपलब्ध गराउने कम्पनीका अनुसार ती सामानको मूल्य एक लाख ६० हजार अमेरिकी डलर बराबरको रहेको छ । कोभिड–१९ परीक्षणका लागि अत्यावश्यक मानिएका सामग्री ल्याउन व्यवसायीले पहल गरेको हो । यस्तै डा भगवान कोइरालाको अनुरोधमा एजी परीक्षण किटसमेत ल्याइसकिएको छ । मुटु रोगको उपचारमा ती सामग्री जरुरी पर्दछ । मुटु रोगका उपचार गर्ने अस्पतालका प्रयोगशालामा एजी किट सकिएपछि डा कोइरालाको अनुरोधमा अत्यावश्यक सामग्री ल्याइएको हो । संकटको समयमा सबैले आफूले सकेको सहयोग गरांै भन्ने ध्येयका साथ आफूहरुले ती सामग्री ल्याएको कार्यकारिणी सदस्य आचार्यले जानकारी दिए । 

नेपाललाई प्राप्त भएको अनुदानको पिसिआर रिजेन्ट ल्याउन श्री एयरलाइन्सको जहाज बिहिबार सिंगापुर उडेको थियो । श्रीको बम्बार्डियर सिआरजे–७०० सिंगापुर गएको थियो । बिहिबार साँझ नै उक्त जहाज फर्कने भनिएपनि केही ढिला गरी आज बिहान आइपुगेको हो ।  फाउन्डेशनले नेपाललाई अनुदान दिने यी रिजेन्ट नेपाल ल्याउनका लागि श्री एयरलाइन्सले ३३ प्रतिशत भाडा आफंै ब्यहोर्ने भएको छ । पूर्व अध्यक्ष मुरारका, वरिष्ठ उपाध्यक्ष गोल्छा र श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलले ३३– ३३ प्रतिशत भाडा तिर्ने गरी ल्याइएको हो ।

अनुदानको किट नेपाल ल्याउनकै लागिमात्र तीन हप्ता लागेको बताइएको छ । “विगत १५ दिनको लामो प्रयास पछि सामान ल्याउन सफल भइयो, हामीलाई असाध्यै खुसी तुल्याएको छ” कार्यकारीणि सदस्य आचार्यले भन्नुभयो । यस्तै महासंघका पूर्व अध्यक्ष मुरारकाले पनि विपद्को समयमा आफूहरुले जिम्मेवारी बोध गरेर सामान ल्याउन पहल गरेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ