arrow
ADVERTISEMENT

भूकम्पले क्षति पुगेका आठ गाविसले यहाँबाट पाउँदैछन् रकम (विवरण सहित)

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
reconstruction-authority.jpeg.jpeg
काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित भएका नौ जिल्लाका १० गाविसमा रकम वितरण गर्नका लागि रकम निकासा गरिसकेको जनाएको छ। प्राधिकरणले ती गाविसका भूकम्पपीडितहरूलाई तोकिएको बैंकको शाखाबाट पैसा लिनको लागि पनि सम्बन्धित पक्षलाई आग्रह गरेको छ। उसले सम्बन्धित जिल्ला विकास समितिको कार्यालयलाई पनि यथाशीघ्र रकम सम्बन्धित बैंकको कार्यालयमा पुर्‍याउन समेत आग्रह गरेको छ। यद्यापी प्राधिकरणले पठाएको पैसा जिल्ला विकास समितिको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएपछि मात्रै भूकम्पपीडितले खाता खोलेर सो पैसा पाउन सक्नेछन्। 
 
प्राधिकरणले भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका आठ जिल्लाका आठवटा गाविसमा प्रथम किस्ता रकम उपलब्ध गराउने व्यवस्था मिलाउन शुक्रबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय कार्यान्वयन इकाईलाई अनुरोध गरेको छ। यस भन्दा अगाडि नै दोलखाका दुई गाविसमा रकम पठाएर रकम उपलब्ध गराउन प्राधिकरणले आग्रह गरिसकेको छ। 
 
प्राधिकरणले २०७३ साल वैशाख १६ गते बैंक र सम्बन्धित जिविसहरुलाई सम्झौता गर्न लगाई सम्झौता गरिसकेका परिवारहरुलाई प्रथम किस्ताको रकम उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरेको हो। यी गाविसका अनुदान सम्झौता गरेका घरधनीलाई प्रथम किस्ताको रकम उपलब्ध गराउन रकम निकास भइसकेको प्राधिकरणले जनाएको छ।
 
कुन गाविसका भूकम्पपीडित कुन बैंकमा जाने 
प्राधिकरणका यसरी वितरण गरिनै बैंकहरूमा अर्ध सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकमा खाता खोलेर पैसा लिन सकिने जनाउ दिएको छ। उसले निम्न गाविसका भूकम्पपीडितले निम्न बैंकबाट पैसा पाउने व्यवस्था गरिएको छ।  
 
गोर्खाको हंसपुर गाविसका लागि –राष्ट्रिय बाणिज्य बैंक, 
धादिङका मार्पाक गाविसका लागि –राष्ट्रिय बाणिज्य बैंक वा कृषि विकास बैंक 
नुवाकोटको खरानीटार गाविसका लागि राष्ट्रिय बाणिज्य बैंक 
काभ्रेको रविओपी गाविसका लागि नेपाल बैंक लिमिटेड वा राष्ट्रिय वाणिज्य बैंक
रसुवाको ब्रिदिम गाविसका लागि नेपाल बैंक लिमिटेड 
रामेछापाको ओख्रेनी गासिका लागि राष्ट्रिय बाणिज्य बैंक 
सिन्धुलीको झागाझोली गाविसका लागि राष्ट्रिय वाणिज्य बैंक 
ओखलढुंगाको रुम्झाटारका लागि राष्ट्रिय वाणिज्य बैंक
 
प्राधिकरणका अनुसार केन्द्रीय आयोजना कार्यान्वयन इकाईको निर्देशनमा सम्बन्धित जिल्ला विकास समितिहरुले बैंकहरुसँग आवश्यक सम्झौता गरी अनुदान रकम उपलब्ध गराउनेछन्। अनुदान रकम उपलब्ध गराउने बैंकहरुमासम्झौता कार्य जारी रहेका अन्य गाविसहरुबारे बैकिङ सेवाका बारेमा पछि जानकारी गराइने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ