arrow

महामारीमा पनि कमाउधन्दा चलाउने कम्युनिष्टहरुलाई मनमोहन दन्त्यकथा लाग्दो हो

मनमोहन अधिकारी आफै साक्षी बसेर हामीलाई छुटाउनु भयो

logo
मृदुला कोइराला,
प्रकाशित २०७७ वैशाख १३ शनिबार
mirdula-koirala.gif

बिहान उठेर फेसबुक हेर्दा नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काको एउटा स्टाटसमा आँखा अडियो । ‘पूर्वप्रधानमन्त्री मनमोहन दाईलाई भावपूर्ण श्रद्धान्जली अर्पण’ भन्ने विवरण लेखिएको थियो । 

कोरोनाको कहर छ । लकडाउनले भौतिक उपस्थिति र दैनिकी घरको चौघेरामा सीमित बन्न पुगेको छ । तर, पूर्ण दाईको त्यो स्टाटसले विगतका सम्झनालाई पुनर्ताजगी गराई दियो । पुराना यादहरु झल्झली आँखा वरिपरि घुम्न थाले । अब विगतका कुराहरू खोतलौं खोतलौं भन्ने हुटहुटी चल्न थाल्यो । 

मैले मनमोहन दाईलाई सम्झें । पुराना दिनहरुतर्फ मन अनायसै घोत्लिन थाल्यो । आदर्श बालिका स्कुलमा पढ्दा म उहाँको घर नगएको दिनै हुन्नथ्यो । म नगए प्रीति आफ्नू हजुरआमालाई लिएर हाम्रोमा आईपुग्थिन ।

उहाँकी छोरी प्रीति र म कक्षा ४ मा पढ्दादेखि नै अत्यन्तै मिल्ने साथी हौं । यद्धपि आजको दिनसम्म हाम्रो सम्बन्ध उस्तै छ । कमी आउने कुरै भएन । हामीबीच सुखदुख बाँड्ने क्रम अहिले पनि जारी छ । अर्थात यो सम्बन्ध दशकौंदेखि कायमै छ । प्रीतिकी आमा, साधना दी र मेरो आमा हामीलाई स्कुलमा पढाउनु हुन्थ्यो ।

स्कुलमा पढ्दा मनमोहन ‘दाई नेता हो’ भन्ने थाहा थियो । नेता भनेको ठूलो मान्छे जस्तो लाग्दथ्यो । तर, उहाँको घर जाँदा थाहा हुन्थ्यो उहाँ एउटा सादगीपूर्ण जीवन बिताउने नेता हो । घर सामान्य थियो । बस्नको लागि कुर्सीसमेत नदेख्दा म छक्क परेकी थिए । ‘आखिर यत्रो ठूलो नेताको घरमा कुर्सी पनि छैन’ मेरो मनमा यस्तै तर्कना उठेको थियो । बालपान न हो ।

एउटै घरमा तीन जना दाजुभाइ बस्नुहुन्थ्यो । साधना दीले मट्टीतेलबाट बल्ने दमवाला स्टोभमा खाना बनाउनुहुन्थ्यो । मैले कयौंपटक खाना खाएकी छु । घरमा मनमोहन दाई धेरै नबोल्ने । गम्भीर स्वभाव जस्तो लाग्दथ्यो मलाई । केटाकेहीहरुसंग हँसिमजाक गर्नु हुन्नथ्यो । मलाई पनि उहाँसँग बोल्न डर लाग्थ्यो ।

घरको पछाडि परालको माच (टाली) हुन्थ्यो । प्रीति र म उफ्रन्थ्यौ हल्लाखल्ला गरिरहन्थ्यौं । तर, उहाँले कहिल्यै गाली गर्नु भएन । कडा शब्द बोलेको कहिल्यै सुन्दैनथ्यौ । ‘मनमोहन दाईले जति नै हल्ला गरेर उफ्रे पनि कहिल्यै गाली गर्नुहुन्न । हजुर चै किन गर्नुहुन्छ ?,’ म यस्तै जिज्ञासा मेरो बासँग राख्दथे । 

आमाले पुराना कुरा सम्झेर मलाइ सुनाउनु भयो । २०३८/०३९ सालतिरको कुरा हुदो हो । उहाँको भाई जगतमोहन अधिकारी, जो त्रिभुवन विश्वविद्यालयको उपकुलपति पनि हुनुहुन्थ्यो । पछि उहाँको घाँटीको क्यान्सर कारणले देहान्त भयो । ‘किन अनुहार मलिन देख्छु ?’ मनमोहन दाईलाई स्कुलबाट घर फर्कने क्रममा बाटोमा भेट्दा सोध्नुभएछ । 

‘भाई जगत बित्यो । म रोगी मान्छे । मलाई किन बाँच्नु परेको थियो र ? मेरो के काम छ र ?’ दाईले शोक गर्दै विलौना गर्नुभएछ, ‘मलाई भरे नै काठमाडौ जान पर्ने भयो ।’

आमाले अनुमान लाउनु भएछ ‘पक्कै पनि उहाँलाई टिकट काट्न समस्या परेको हुनुपर्छ ।’ आफ्नो ब्यागमा भएको दुई सय रुपैयाँ झिकेर दिनुभयो रे ! उहाँले लिन मान्नु भएन छ । अप्ठेरो लागेर होला । उमेरमा मनमोहन दाई जेठो भएता पनि नातामा मेरी आमा फुपू हुनुहुन्थ्यो । (नातामा भानिज दाईको छोरा) आमालाई दी भन्नुहुन्थ्यो । तर मेरो आमाले दाई नै भनेर सम्बोधन गर्नुहुन्थ्यो । आमाले पछि साधना भाउजूसंग कुरा मिलाउला भनेपछि राख्नु भयो रे । आमा र साधना दी पेसाले शिक्षक हुनुहुन्थ्यो । एउटै स्कुलमा पढाउनु हुन्थ्यो । 

दाजुभाईबीच अंशबन्डा भएपछि मनमोहन दाइले विराटनगरको तीनटोलियामा घर बनाउनु भयो र पुरानो घरमा भरतमोहन दाई बस्न थाल्नु भयो । त्यसबेला सबैका घरमा ल्याण्डलाइन टेलिफोन आई सकेको थियो तर मनमोहन दाइको घरमा त्यो सविधा पनि थिएन । फोनमा कुरा गर्नु परे उहाँ झन्डै तीन माइल पर भएको भाईको (भरतमोहन दाईको) घरमा आएर गर्नुहुन्थ्यो ।
कहिलेकाँहि मर्निङवाकको क्रममा हाम्रो घर पस्नुहुन्थ्यो । मेरा आमाबुबासँग राजनीतिका गफगाफ गरेर एक कप चिया पिएर फर्कनुहुन्थ्यो ।

यो मुलुकमा पूर्वप्रधानमन्त्रीका छोराछोरीहरूको कत्रो फूर्तिफार्ती देखिन्छ । सायद त्यो राजनीतितक संस्कार र परम्पराले होला । तर, मेरी प्रिय साथी प्रीति पनि पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीकी छोरी हुन । तर, कहिल्यै त्यस्तो आचरण देखाइनन् । पछि, मुलुकमा प्रजातन्त्र आईसकेपछि मनमोहन दाईसंग मेरो भेट न्यूर्योकमा भयो । उहाँ न्यूर्योक आएको बेला मलाई खोज्नु भयो । उहाँ बसेको होटलमा बोलाउनु भयो । पछि उहाँलाई मैले आफ्नो घरमा बोलाए । राजनीतिक कुराकानीको क्रममा भन्नुभयो, ‘भ्रष्टाचारीहरू मेरो पार्टीमा पनि छन र काँग्रेसमा पनि ।’’ उहाँ आफ्नो पार्टीका मानिसले लेवी तिर्ने गरेपनि कांग्रेसजनले त त्यो पनि नगर्ने गरेको सुनाउनु हुन्थ्यो । 

२०३०/०३१ साल तिरको कुरा हो, स्कूलमा पढ्दा सरस्वती पूजापछि मूर्ति नदीमा सेलाउने गरिन्थ्यो । यद्धपि त्यो चलन अहिले पनि छ । गाडीले खोलासम्म लगेर सेलाउन मानेन । सरस्वतीको मूर्ति सेलाउन नपाउने जस्तो देखेपछि ट्रक पार्क गरेको ठाउँबाट ट्रक अपहरण गरेर साथीहरुले विद्यालय ल्याएछन् । खासमा खाना खान जाँदा चालकले चाबी ट्रकमै बिर्सेका रहेछन् । हाम्रा एकजना साथीले चलाएर आफैं लिएर आएछन् । 

सरस्वतीको मूर्ति राखेर विद्यार्थीहरु खोलातर्फ जान लाग्दै थियौं । पुलिसको गाडी आएर हामीलाई समातेर लग्यो । प्रीतीसहित म र साथी सुमितलाई पनि पुलिसले जिपमा हालेर थानामा लगेको थियो । कतिले हामीलाई देखेका रहेछन् ‘विद्यालय पढ्ने केटीहरुलाई पनि पुलिसले लग्यो’ भन्ने बजारभरि हल्ला फैलिएको रहेछ । हामी पुलिस थानाबाट छुटेपछि सुनेका थियौं । 

डिएसपी कार्यालयमा हामीलाई पुलिसले लगेपछि एकैछिनमा विराटनगरभरि हल्ला भयो । त्योबेला डिएसपी कार्यालयमा मनमोहन दाई आफैं उपस्थित हुनुभयो । साक्षी बस्नुभयो । ‘अब उप्रान्त यस्तो काम नगर्ने र उपद्रोमा सहभागी नहुने’ सर्तमा साक्षी बसेर हामीलाई छुटाएर घर लिएर जानुभयो । सायद त्यतिबेलाको घटनाको दस्तावेज डिएसपी कार्यालयमा अहिले पनि हुनसक्छ । 

प्रधानमन्त्रीबाट हटेपछि उहाँसँग आमाले सोध्नुभयो रे, ‘खैत तपाई प्रधानमन्त्री भएर पनि कुनै उल्लेखनीय काम त गर्नु भएन नी ?’

‘मेरो निष्कलङ्क बहिर्गमन भयो । कसैलाई मैले यो भ्रष्टाचारी हो, गलत काम गर्‍यो भनेर औंठा उठाउने मौका दिइन’ भन्ने जवाफ दिनुभएछ । 

यो मुलुकमा कुनचाँहि पूर्वप्रधानमन्त्रीले आफ्ना सन्तानको हठलाई पुरा गरेनन। मनमोहन दाई मात्र यस्तो प्रधानमन्त्री हुनभयो जसले आफ्नी छोरीलाई जागीर लाउन पनि सक्नु भएन । त्यसैले होला उहाँको यो निष्ठा र सदाचारप्रति मोरङबासीले उहाँप्रति गर्व गर्छन ।

कोभिडको यो महामारीमा पनि कमाउधन्दा चलाउने, कमिसन खान खोज्ने कम्युनिष्टहरुलाई मनमोहन दाईको जीवनशैली दन्त्यकथा लाग्दो हो। विश्व इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री र ती त्यागी नेताप्रति हार्दिक श्रद्धासुमन । (कोइराला नेपाली कांग्रेसकी महासमिति सदस्य हुन्।)



नयाँ