बैश्विक महामारी (कोबिड-१९) पछीको तयारी- युवा केन्द्रित रोजगारउन्मुख कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ

डा.कुष्माकर भट्ट, प्रकाशित मिति : २०७७ बैशाख १४ आइतबार
डा.कुष्माकर भट्ट

सन २०१९को अन्त्यतिर चीनको बुहानमा फेला परी हाल डरलाग्दो महामारीका रुपमा संसारका सबैजसो देशमा जंगलमा लागेको आगो जस्तै फैलिई ठूलो संख्यामा संक्रमण र मानिसहरुको मृत्यु गराई रहेको नयाँ स्वरुपको नोबेल कोरोना भाइरस (कोभिड-१९)बाट नेपाल पनि अछुतो रहन सकेन। संघियता सहितको तीन तहको सरकार स्थापना र सञ्चालन भएसंगै छोटै समयमा राजनैतिक, प्रशासनिक संक्रमण ब्यवस्थापन तथा बिभिन्न बिपत्ति सामना गर्दै जाँदा अहिले मुलुकले कोरोनाको कहर र बिपत्तिको सामना गरिराखेको छ।

कोभिड-१९ को कारणले बन्द हुन गएका ब्यापार-ब्यवसाय र यसको फलस्वरुप अर्थतन्त्रमा निकै नकारात्मक असर पर्न गएको छ। यसबाट मुख्य रुपमा अनौपचारिक (ज्यालादारी तथा मजदूरी) क्षेत्रमा स्वदेश तथा बैदेशिक रोजगारीमा काम गरिराखेका ठूलो संख्याका युवाहरु बढी प्रभावित भएका छन। यस्तो अवस्थामा तत्काल सहयोग पुग्ने र त्यसको दिगोपना समेत हुनेगरी देश भित्र रोजगारीका अवसरहरु श्रृजना गरिनु आवश्यक छ। यस लेखमा बेरोजगार र कामको खोजीमा रहेका युवाहरुलाई सीपमूलक तालिम दिई स्वरोजगार, रोजगार श्रृजना, ब्यवसाय बिस्तार, उत्पादन बृद्धि र सेवा प्रवाह गर्दै आय आर्जन र देश निर्माण प्रक्रियामा सक्रिय सहभागिता गराउँदै समाज र देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कार्यहरुको बारेमा उल्लेख गरिएको छ।

नेपालमा युवाहरुको अवस्था
नेपालमा काम गर्ने उमेरको जनसंख्या २ करोड ७ लाख रहेको छ जसको ५५.५५% (१ करोड १५ लाख) महिला रहेका छन। सन २०१९ मा स्थानीय तहबाट प्राप्त तथ्यांक अनुसार, नेपालमा १७,०१,५५५ जनाले बेरोजगारीको सुचीमा दर्ताका लागि आवेदन दिएका छन्। श्रम, रोजगार तथा सामाजिक बिकास मन्त्रालयको सर्भेक्षण तथ्यांकले देशमा १३,३३,५४४जना बेरोजगार रहेको देखाउँछ। यो अवस्था कोबिड-१९ को माहामारीपूर्वको हो। यस अवधिमा भारत तथा अन्य मुलुकको रोजगारीबाट फर्केका युवाहरुको ठूलो समूह थपिएको छ। संयुक्त राष्ट्रसंघ र विश्व बैँक जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको पाइन्छ । पछिल्लो पटक संयुक्त राष्ट्रसंघले समेत UNSCR २२५० का सन्दर्भमा युवाको उमेर समूहलाई १५-२९ को रुपमा आत्मसात गरेको सन्दर्भ पनि छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार हाल नेपालमा युवाको जनसंख्या १ करोड ७ लाख (कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत) रहेको छ। युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औं नम्बरमा रहेको¸ १९.२ प्रतिशत युवा पूर्ण वेरोजगार रहेको¸ कृषिमा युवाहरुको संलग्नता ५०.२ प्रतिशत रहेको र २६.१ प्रतिशत युवाहरु स्नातक भएर पनि बेरोजगार बस्नु परेको अवस्था विद्यमान छ । (रा.यु.नीति २०७२)।

सीप बिकास संग सम्बन्धित समस्याहरु
नेपालमा सीप बिकास, रोजगार श्रृजना र गरिबी न्यूनीकरणका लागि भनेर बिभिन्न परियोजनाहरु, कार्यक्रमहरु संचालनमा रहेका छन्, जसमा राज्यको ठूलो बजेट बिनियोजित छ। यस्ता कार्यक्रमहरु बिभिन्न मन्त्रालय, बिभाग एबं परियोजना ईकाईहरु मार्फत संचालन गरिएका छन्। यस्तै तीनै तहका सरकारहरुले समेत सीप बिकास, तालिम, शसक्तीकरण, रोजगार, गरिबी निवारण लगायत शिर्षकहरुमा बजेट छुट्याएको छ। वास्तवमा यी कार्यक्रमहरुको उद्देश्य समान भए पनि संस्थागत तालमेलको अभावमा छरिएर रहेको बजेटको प्रभावकारी रुपमा उपयोग हुनका लागि एकीकृत रुपमा कार्यक्रम कार्यान्वयन गर्न सकिएमा अपेक्षित उपलब्धिहरु सहजै हासिल गर्न सकिन्छ। उदाहरणको लागि संघीय १२ वटा बिभिन्न मन्त्रालयहरुले सीप बिकास तथा ब्यावसायिक तालिम कार्यक्रमहरु संचालन गरि राखेका छन्। मुख्य रुपमा ठूलो संख्यामा तालिम तथा रोजगारका लागि युवा स्व-रोजगार कार्यक्रम, घरेलु तथा साना उद्योग बिकास समिति, घरेलु बिभाग, प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद र यस अन्तर्गतका परियोजनाहरु, ब्यावसायिक शिक्षा तथा सीप अभिबृद्धि परियोजना, बैदेशिक रोजगार बोर्ड र सीप बिकास तालिम केन्द्रहरु लगायतले संचालन गर्ने तालिम तथा रोजगार कार्यक्रमहरुको आपसी समन्वय रहेको देखिन्न। यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिनियोजित ठूलो धनराशि बालुवामा पानी हाले जस्तै भएको छ। यसको कार्यान्वयन पक्ष अपारदर्शि, वास्तबिक बिपन्नलाई समेट्न नसकेको र कार्यक्रमको दिगोपना नरहेको जनगुनासो आएको छ।

चिनिया उखान छ “कुनै भोको मान्छेलाई माछा मारेर दिंदा उसले मरेको माछा छदासम्म मात्र खान सक्छ भने उक्त ब्यक्तिलाई माछा मार्ने सीप दिन सकेमा जीवनभरी माछा मारेर खान सक्छ”। अहिलेको ढाँचामा संचालित प्रधानमन्त्री रोजगार लगायतका हाम्रा कार्यक्रमहरुले परनिर्भरता बढाउने काम गरेको छ।कार्यक्रमहरुका बारेमा लक्षित समूह सु-सूचित हुन नसक्दा कार्यक्रममा लक्षित समूहको पहुँच पुग्न नसकेको, जनसहभागिता हुन नसकेको, सीप बिकास र रोजगार श्रृजनाबीच सामञ्जस्यता गराउन नसकिएको, गुणात्मक भन्दा संख्यात्मक पक्षमा जोड दिईएको, सहभागि दोहरिने गरेका, कार्यक्रमहरु श्रम बजारकोमाग अनुसार संचालन गर्न नसकिएका, रोजगार प्रदायकहरुसंग समन्वय हुन नसकिएको, कमजोर अनुगमनका कारण तालीम पश्चातका सेवाहरु (रोजगार-स्वरोजगारी संयोजन) उपलब्ध गराउन नसकिएको र दिगोपना नरहेको आदि कारणहरुले गर्दा प्रत्येक बर्ष कार्यान्वयन गरिने तालिम कार्यक्रमहरुले अपेक्षित उद्देश्य हासिल गर्न सकेको छैन।

कोबिड १९को बैश्विक महामारी पश्चातको अवस्थाले थप उत्पादनमा ह्रास, बेरोजगारी, भोकमरी र मानसिक पीडाको रुपमा संकट पैदा हुने निश्चित छ। यस्तो अवस्थामा युवा ब्यवस्थापन, श्रम बजारको माग अनुसार सीप बिकास गरी दक्ष जनशक्ति तयार गर्ने, श्रमप्रति सचेत गराउने, श्रमप्रतिको सकारात्मक सोच, बिचार, ब्यवहार, चेतना, संस्कार सम्बन्धी परामर्श दिने, उत्प्रेरणा जगाउने, परिचालन गर्ने, सहभागिता बढाउने र उत्पादन तथा सेवा बिस्तार गर्दै देशको अर्थतन्त्र बलियो बनाई बेरोजगारी र बिपन्नताबाट मुक्ति पाउनु पर्ने छ।
 
नेपालमा युवा रोजगारी स्वरोजगारीको सम्भावना
युवा शक्ति कुनै पनि देशको राजनैतिक¸ आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो। यो समूह मानव संसाधन विकासको प्रमुख साधन, जनसङ्ख्याको सर्वाधिक सक्रिय¸ उर्जावान र गतिशिल समूह पनि हो। युवा राष्ट्रिय विकासको प्रमुख मानव स्रोत र साधन भएकोले यिनको विकास नभै देशको विकास असंभव छ।हरेक राजनैतिक परिवर्तनलाई संस्थागत गर्न र राष्ट्र निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ। युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ। बिगत १५-२० बर्षमा लगभग ४० लाख श्रमिक कामको खोजीमा खाडी मुलुक पुगेको तथ्यांक रहेको छ। यी मध्ये ७४ प्रतिशत अदक्ष¸ २४ प्रतिशत अर्द्ध दक्ष र केवल २ प्रतिशत मात्र दक्ष जनशक्तिको रुपमा रहेका छन्। भर्खरै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जारी तथ्याङ्क बमोजिम विदेशिने युवाको संख्यामा केही कमि आएको र यो संख्या वार्षिक ३ लाख २३ हजार मात्र रहेको देखिएको छ। युवा विकास उद्यमशिलता र स्वरोजगारका लागि सरकारी गैरसरकारी तथा निजी स्तरबाट भए गरेका प्रयासका कारण यो विदेशिने युवाको संख्यामा कमि आएको हो भन्ने बुझाइ रहेको छ। वैदेशिक रोजगारीमा गएका युवाहरुले विदेशमा काम गरी कमाएको रकम रेमिटेन्सको रुपमा नेपाल भित्रिने गर्दछ जसको राष्ट्रिय अर्थतन्त्रमा २९ प्रतिशत योगदान रहेको छ। त्यस्तै सीप र प्रविधिको अभावमा अफगानिस्तान¸ इजरायल¸ मलेशिया तथा मध्यपूर्व (खाडी) का मुलुकहरुमा काम गर्न जाने युवाहरु अधिकांश अदक्ष श्रमिकको रुपमा रहेकोले उनीहरुको जीवन थप जोखिमपूर्ण बनिरहेको  तीतो सत्य आजको यथार्थ हो। यस बारेमा सम्वद्ध पक्षको गम्भिर ध्यान जानु जरुरी देखिन्छ (रा.यु.नीति २०७२)। 

हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेको छ। यसबाट नेपाल युवा जनसाङ्ख्यिक लाभांशबाट फाइदा लिई समृद्धि हासिल गर्नसक्ने अवसरको अवस्थामा रहेको छ, जसका लागि अन्तर्राष्ट्रिय स्तरमै युवा क्षेत्रमा भएका प्रगति र नेपालको अवस्थालाई मध्यनजर गरी युथ भिजन २०२५ ले अहिलेको युवा विकासका मूल समस्यालाई लक्षित गरी युवा विकासका पाँच रणनीतिक आधारस्तम्भ तय गरेको छ।नेपाललाई सन् २०२५ सम्म द्रुत विकासशील राष्ट्रमा पु-याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारीमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्नुपर्दछ । 
 
प्रभावकारीरुपमा कार्यक्रम कार्यान्वयनका उपायहरुः
हाम्रो देशमा एकातर्फ बिकास निर्माण र सेवामूलक कतिपय कामका लागि बिदेशबाट श्रम आयात भइराखेको छ भने अर्कोतर्फ देशका युवाहरु भारत तथा खाडिमूलुकमा गएर न्यून पारिश्रमिकमा महत्वपूर्ण श्रम बेच्न बाध्य भएका छन। देशबाट कोरा श्रम बिदेशिनाले देशमा संचालित बिकाश निर्माणका कार्यका लागि बिदेशी श्रमिक भित्र्याउनु परिरहेछ। यसरी बिदेशबाट आयातित श्रमिकहरुलाई अतिरिक्त ज्याला दिंदा देशबाट पूँजी पलायन हुनुका साथै बैदेशिक श्रमिकहरुको कारण परियोजनाहरुको समयावधि बढ्ने, लागत बढ्ने तथा कालान्तरमा समाज, राजनीति तथा संस्कृतिमा समेत प्रभाव पर्न सक्छ। अतः हाम्रा प्रयासहरुले देश भित्रनै अधिकतम सीपयुक्त युवा जनशक्ति तयार गरी बिकास र रोजगारी श्रृजना गरेर बैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने र देशभित्र रोजगारी श्रृजना गर्दै देशबाट पूँजी पलायन हुनबाट जोगाउन सकिएमा यसबाट राष्ट्रको दिगो तथा सर्बांगिण बिकासमा टेवा पुग्नेछ। हालका केही वर्षहरुमा नेपालमा पनि युवा विकास¸ उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा आशालाग्दा संकेतहरु देखा पर्न थालेका छन् तथापि देशमा कृषि क्रान्ति ल्याउन नसकेकाले त्यसको असर उद्योग बिस्तारमा समेत परेको छ। फलतः यी दुबै क्षेत्रमा रोजगारीको अवसर ज्यादै न्यून छ। यसकारण कृषि, जडिबुटी, पशुपालन, पूर्वाधार निर्माण, पर्यटन, उर्जा र अन्य सेवामूलक क्षेत्रहरु संग सम्बन्धित सीपमूलक कार्यक्रमहरु सञ्चालन गरी युवा उद्यमशीलता र रोजगारी सिर्जना गर्न सम्भव छ।

बेरोजगारीलाई कम गर्न चाल्नु पर्ने सङक्रमणकालीन पहलहरु

  • सबै स्थानिय तहमा कृषि, पशुपालन, जडिबुटि तथा दिगो पर्यटनको एकीकृत गुरुयोजना तयार गरी सो बाट श्रृजना हुने प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी तथा आयको आँकलन तयार गर्नुपर्ने, 
  • स्थानीय तहमा रहेका सीप बिकासका सबन्धी आबस्यकताले श्रृजना गर्ने सम्भावित रोजगारीका आधारमा आधारभुत तथा मध्यम स्तरीय सीप सबन्धी तालिम सन्चालनको रणनीति तयार गरी सन्चालन गर्नुपर्ने,
  • सीप बिकासलाई उत्पादनमूलक रोजगारीसँग जोड्दै देशमा नै रोजगार वा स्बरोजगारी श्रृजना गर्न प्रत्येक स्थानीय स्तरमा सीप बिकासको एकिकृत रोजगार तथा सीप श्रृजना कोष खडा गर्ने नीती तथा कानुन स्थानीय तहमै तयार गरी कार्यान्वयनमा जोड दिने,
  • स्थानीय तहमा सन्चालन हुने पाठ्यक्रम तथा शिक्षण सिकाईलाई प्रोत्साहन गरी सो अनुरुपका प्रशिक्षकहरुको तयारीमा जोड दिने,
  • “एक पाठ्यक्रम एक गाउँ” रणनिति अबलम्बन गर्नुको साथै सिकाईलाई राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा समेत मेल खाने गरि सन्चालित गर्ने,
  • प्रत्येक स्थानीय तहमा समुदायका बिभिन्न क्षेत्रका बिज्ञ, अवकास प्राप्त कर्मचारी-शिक्षक, स्थानीय उद्योगी-ब्यवसायी तथा जनप्रतिनिधि सम्मिलित टोली तयार गरी कार्यक्रमको अनुगमन तथा मुल्यांकन गर्ने प्रावधान राख्ने,

उपरोक्त अनुसार कार्यक्रम कार्यान्वयनका लागि बन्दा-बन्दीको अवस्था समाप्त हुने बित्तिकै कार्यान्वयनमा जाने गरी निम्नानुसार कामहरु गर्दा राहत, सीप बिकास र रोजगारीका कार्यक्रमहरुलाई एकीकृत रुपमा संचालन गर्न सकिन्छ।

  • बिभिन्न निकायहरुले चालू आ.व.मा सञ्चालन गर्ने तालिम तथा रोजगारका कार्यक्रमहरु र बिनियोजित बजेट अद्यावधिक गर्ने,
  • संघ अन्तर्गतका (प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम आदि), प्रदेश अन्तर्गतका (मुख्यमन्त्रि बिकास कार्यक्रम आदि) र स्थानीय तहका सीप बिकास तथा रोजगारसंग सम्बन्धित कार्यक्रमहरुलाई आवासीय सीप बिकासका कार्यक्रम तथा स्वरोजगारी श्रृजनासंग जोडेर त्यसको दिगोपना सुनिश्चित गर्न श्रम बजारको आवश्यकतामा आधारित भै निश्चित समय अवधीको तालिम प्रदान गर्ने ब्यवस्था मिलाउने,
  • स्थानीय तहले संकलन गरेको बेरोजगार जनशक्तिको तथ्यांक अद्यावधिक गर्दै ब्यावसायिक तालिमको आवश्यकता, बिषय छनोट तथा रोजगारीका अवसरहरुको पहिचान गर्ने,
  • प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिमका कार्यक्रमहरु सञ्चालन गर्ने राज्यका निकायहरुले स्थानीय तहसँगको समन्वय र सहकार्यमा मात्र सम्बन्धित तहमा कार्यक्रम सञ्चालन गर्ने कार्यबिधि तयार गरी लागु गर्ने,
  • स्थानिय तहमा बेरोजगार युवाहरुलाई बिभिन्न समूहमा राखि तालिम र रोजगार सम्बन्धी सु-सूचित गर्ने, श्रमको महत्व र उपयोग सम्बन्धी परामर्श दिने, बृत्ति बिकास सम्बन्धी मार्ग निर्देश गर्ने र उत्प्रेरणा जगाउने,
  • सीपमूलक तालिम साथै, नरम सीप (Soft Skills), तालीम पश्चातको सहयोग (Post Training Supports) उपलब्ध गराउनका लागि कार्यबिधिमा ब्यवसाय संचालन गर्न वा स्वरोजगार हुन आवश्यक रकम वा औजार उपकरण अनुदान दिने ब्यवस्था मिलाउने,

प्रजातन्त्रमा बिचारलाई शसक्त गर्ने, अवसरहरु उपलब्ध गराउने, सही बिचारहरुको समाज रुपान्तरण र समृद्धिका लागि प्रयोगमा ल्याउने गर्दा यसबाट लक्षित बर्गलाई बिकासमा मूलप्रवाहिकरण गराउन सकिन्छ। राष्ट्रको समृद्धिका निमित्त “बहुजन हिताय, बहुजन सुखाय” गुणस्तरीय शिक्षा तथा सीप बिकासका कार्यक्रमहरु संचालन गर्नु आवश्यक छ। गुणस्तरीय शिक्षा र रोजगारीका कार्यक्रमबाट परिवार, गाउँ, समुदाय, शिक्षण संस्था, बिश्वबिद्यालय, तथा सरकारी गैर सरकारी र नीजी संस्थाहरुसम्ममा लैंगिक, जातीय, बर्गीय, राजनीतिक आधारमा गरिने असमान ब्यवहार हटाउन मद्दत पुग्नेछ। साथै पारदर्शिता, समानता, बिश्वसनीयता, सन्तुष्टी, शान्ती र समुन्नती श्रृजना भई बिकास निर्माणका कार्यहरुमा “सबैको साथ, सबैको बिकास” गर्ने भावना जागृत गराउन मद्दत पुग्नेछ। यसर्थ, छरिएर रहेका कार्यक्रमहरुलाई एकीकृत रुपमा संचालन गरी  समाजमा शिक्षा, सीप बिकास र रोजगारीका अवसरहरुको श्रृजनाबाट समताका साथ सबैलाई समृद्धिका सहयोगी र सारथी बन्न अभिप्रेरित गर्नु आवश्यक छ।

भनिन्छः अमन्त्रम् अक्षरोनास्ति नाऔषदय बनष्पते, अयोग्य मनुष्यःनास्तिः योजको तत्र दुर्लभः। 
अर्थात् “जसरी मन्त्र निर्माण नहुने अक्षर हुँदैन, औषधी नभएको बनष्पति हुँदैन, त्यसरी नै कुनै पनि ब्यक्ती अयोग्य भन्ने हुँदैन, उचित योजना निर्माण गरी काममा लगाउन सक्ने योजनाकारको आवश्यकता रहेको छ”।
बिभिन्न बिषय र क्षेत्रमा ब्यावसायिक र प्राबिधिक शिक्षाका माध्यमबाट स्थानीय स्तरमा आवस्यक पर्ने जनशक्त्ति उत्पादन गर्ने, ज्ञान, सीप र अभिबृत्तिमा परिवर्तन गरी शिक्षालाई रोजगारसँग जोडेर जिवनोपयोगी तुल्याई सीप अनुसार काम गर्ने अवसर जुटाउन सकिएमा यसबाट उत्पादन तथा सेवामा गुणात्मक तथा संख्यात्मक बिस्तार भई राष्ट्र समृद्धितर्फ उन्मुख हुन्छ। सरकारले पुर्वाधार बिकास गरी स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनहरुमा आधारित भएर रोजगारी श्रृजना गर्ने बातावरणमा सहजिकरणको भुमिका निभाउन सकेमा बिपन्न र पछी परेका देशले समेत युवा जनशक्तीको ब्यवस्थापनबाट छोटो समयमा उल्लेख्य उपलब्धि हासिल गर्न सक्नेछ। 

(सीटीईभीटीका निर्देशक रहेका डा.कुष्माकर भट्ट काठमाडौं विश्वविद्यालयका भिजिटीङ प्रोफेसर पनि हुन्।) प्रतिकृयाका लागिः k2bhatta@gmail.com

नयाँ