arrow

चितवनमा ६ सय ८०ले पूरा गरे क्वारेन्टिन अवधि

logo
प्रकाशित २०७७ वैशाख १४ आइतबार
kailali-quarantine.jpg

चितवन। अन्यत्रबाट  जिल्ला प्रवेश गरेका ६८० जनाले क्वारेन्टिन अवधि पूरा गरेका छन् । कोभिड–१९ को  संभावित जोखिम हुन नदिन अन्यत्रबाट जिल्ला आएकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो ।  

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार सार्वजनिक क्वारेन्टिनमा रहेका ३५ र होम क्वारेन्टिनमा रहेका ६४५ जनाले क्वारेन्टिन अवधि पूरा गरेका हुन् ।

चैत महिनापछि विभिन्न देशबाट नेपाल आएका र अन्तरजिल्ला आउनेलाई क्वारेन्टिनमा राखिएको थियो । अहिले जिल्लाका ६६ सार्वजनिक र होम क्वारेन्टिनमा रहेको उनले जानकारी दिए । सार्वजनिक क्वारेन्टिनमा ६४  र होम क्वारेन्टिनमा ६८२  रहेका थिए ।

अहिले तीमध्ये २९ सार्वजनिक क्वारेन्टिनमा र ३७ होम क्वारेन्टिनमा रहेका छन् । कालिका नगरपालिका र राप्ती नगरपालिकामा रहेका सार्वजनिक क्वारेन्टिनमा २९ रहेका छन् । लकडाउनको समयमा विभिन्न स्थानबाट जिल्लामा आएकालाई १७ दिनसम्म क्वारेन्टिनमा राख्ने गरिएको छ ।

अहिले क्वारेन्टिनमा रहेकामध्ये पाँच विदेशबाट आएका र अन्य ६१ अन्तर जिल्लाबाट यहाँ आएका रहेको सूचना अधिकारी सिम्खडाले बताए ।

होम क्वारेन्टिनमा बस्नेलाई स्थानीय तहका स्वास्थ्यकर्मी र प्रहरीसँग समन्वय गरी राखिएको छ । लकडाउनको समयमा छिमेकी देश भारतको सिमानामा रोकिएकाहरु आजबाट जिल्लामा आउने भएकाले क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढ्ने उनले बताए । भारतमा क्वारेन्टिनमा बसेकालाई पनि जिल्लामा ल्याएपछि पुनः क्वारेन्टिनमा राखिने उनको भनाइ छ । सिमानामा रोकिएका नेपाल आउँदैछन् । उनीहरुलाई पुनः क्वारेन्टिनमा राखिने छ । उनीहरु आज साँझसम्म जिल्लामा आइपुग्नेछन् ।

जिल्लामा हाल ३०० क्षमताको क्वारेन्टिन र २९९ जना क्षमताको आइसोलेसन रहेको उनको भनाइ छ । जिल्लाका अन्य स्थानमा समेत क्वारेन्टिन राख्नका लागि स्थानीय तहसँग समन्वय गरी पहिचानको काम भइरहेको उनले बताए ।

हालसम्म जिल्लामा ८२९ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार उनीहरुमध्ये दुईमा पोजेटिभ र एक जनामा शङ्कास्पद नतिजा देखिएको थियो । पोजेटिभ देखिएकाको स्वाब परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको थियो भने शङ्कास्पद देखिएकी ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरामा  कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये २७ वर्षीय छोरालाई अस्पतालले शनिबार डिस्चार्ज गरेको छ भने आमाको नतिजामा पेजेटिभ देखिएपछि अस्पतालमै राखी उपचार भइरहेको छ । यहाँ रहेको भरतपुर कोभिड–१९ प्रयोगशालामा ४७२ जनाको  पिसीआर परीक्षण गरिसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ