- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बौनिया । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको छ । प्रशासन पनि कोरोना रोकथाम भन्दै अन्य आफ्ना जिम्मेवारीबाट पन्छिएको छ ।
यही मौका छोपेर वनमा तस्करी बढ्न थालेको छ । लकडाउन सुरु भएपछि तस्करहरू वनमा प्रवेश गर्न थालेका हुन् । लकडाउनमा प्रहरी प्रशासन सडक, बजार केन्द्रित हुने र वन कर्मचारीको गस्ती कम हुने अवस्था देखिएपछि बन तस्कर सक्रिय हुन थालेका छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो लकडाउनको एक महिनाको अवधिभित्र एकपछि अर्को गरि वन तस्करीका घटना बाहिरिएका छन् ।
सोमबार गाउँपालिकाको वडा नम्बर १ मुढागाउँबाट ३ वटा सालको काँचो गोलियासहित एक डल्लब वनले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा सबडिभिजन वन कार्यालय बर्दगोरियाका फरेष्टर नारायणप्रसाद चौधरी नेतृत्वमा गएको वन कर्मचारीको टोलीले उक्त गोलिया नियन्त्रणमा लिएको बताइएको छ ।
सोही वडाको साझाचोक नजिकबाट ३० क्युफिट सालको ३ वटा गोलियासहित डल्लब नियन्त्रणमा लिइएको सबडिभिजन बन कार्यालय बर्दगोरियाका प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिए । वन कर्मचारीको गस्ती टोलीलाई देखेपछि वन तस्कर डल्लब छोडेर फरार भएको उनले बताए ।
निरन्तर काठ तस्करी हुँदा कमैमात्र चासो दिइँदा भने मिलेमतोको आशंका भएको स्थानीयहरु बताउँछन् ।
बाहिरिएका प्रतिनिधिमूलक घटना–
बर्दगोरियामा पछिल्लो एकमहिनाको अवधिमा विभिन्न सामुदायिक बन क्षेत्रबाट ४ वटा तस्करीका घटना बाहिरिएका छन् ।
गएको चैत्र १४ गते बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित पुरैना सामुदायिक बन उपभोक्ता समूहको संरक्षण क्षेत्राधिकारमा पर्ने बनमा पोथ्रा रुख अवैध रूपमा कटानी गरिरहेको अवस्थामा घोडाघोडी नगरपालिका वडा नम्बर ६ बसन्ताका सुरेन्द्र चौधरीलाई समितिले पक्राउ गर्यो ।
उक्त घटनामा संलग्न ६ जनालाई समितिले ८० हजार जरिवाना गराएर छोडेको थियो । यस्तै, गएको चैत्र १९ गते बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बाट तस्करी गरि ल्याउँदै गरेको अवस्थामा से ४ प ६७४१ नम्बरको मोटरसाइकल सहित चिरान काठ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ईलाका प्रहरी कार्यालय बौनियाबाट गएको टोलीले सालको चिरान गरिएको ६ थान ७ फिटको कडी र ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
दानुफाँटा नमूना सामुदायिक बन उपभोक्ता समूहको क्षेत्रबाट ल्याउँदै गर्दा काठ प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त तस्करीमा संलग्न दुईजना समितिका सल्लाहकार संयोजक स्थानीय भवानी रिजालमाथि आक्रमण गरि फरार रहेका छन् ।
उक्त घटनामा संलग्न वडा नम्बर ३ का श्याम चौधरी र भेषराज जैसीलाई कार्वाहीको माग गर्दै पीडित भवानी रिजालले प्रहरीमा जाहेरी समेत दिएका छन् ।
त्यसैगरी, गत बैशाख ७ गते मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसौनाबाट अवैध हतियार भरुवा बन्दुक सहित ठूलो परिणाममा प्रहरीले काठ नियन्त्रणमा लिएको थियो ।
ईलाका प्रहरी कार्यालय बौनिया, सबडिभिजन बन कार्यालय बर्दगोरिया र शान्ति सामुदायिक बन उपभोक्ता समूह बर्दगोरिया २ कुम्भियाको संयुक्त गस्ती टोलीले उक्त काठ नियन्त्रणमा लिन सफल भएको हो ।
उक्त घटनामा ५० वर्षीय धनसरा गिरीलाई प्रहरीले पक्राउ गरेको थियो । उनका श्रीमान चन्चल भनिने चन्द्रराज गिरी फरार भएपछि अनुसन्धानका लागि उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो ।
यी त बाहिर आएका केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । लकडाउनको अवधिमा भएका यी घटनाले पनि वन तस्करी मौलाउँदै गएको महसुस गर्न सकिन्छ ।
स्थानीय सरकारको निगरानी कम
गाउँपालिकामा तस्करी मौलाउँदै गएको भएपनि स्थानीय सरकारले यसतर्फ चासो र निगरानी बढाएको देखिदैन । बर्दगोरियामा गाउँपालिका अन्तर्गत १६ वटा सामुदायिक बन उपभोक्ता समूहहरु रहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐनकानुनमा बन, जंगल, बन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधताका क्षेत्रमा नियन्त्रण तथा व्यवस्थापनको अधिकार दिएको छ ।
स्थानीय स्तरमा रहेका सामुदायिक, ग्रामीण तथा सहरी, धार्मिक कबुलियती र साझेदारी वनको संरक्षण, सम्बर्द्धन, उपयोग, अनुगमन र नियमन तथा उपभोक्ता समूहको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई दिएको छ ।
तर, गाउँपालिकामा भए, गरेका तस्करीका घटनामा संलग्न भनिएका व्यक्ति नै विभिन्न किसिमले संरक्षण र उन्मुक्ति पाउन थालेपछि स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । शान्ति सामुदायिक बन उपभोक्ता समूह बर्दगोरिया २ कुम्भियाका अध्यक्ष नवीन जोशीले बन कार्यालयबाट समेत सहयोग नभएको गुनासो गरे ।
उनले पक्राउ परेका तस्करमाथि अनुसन्धान फितलो हुने र आवश्यक कार्वाही नहुने गरेको बताए । बन कर्मचारीले सामुदायिक बन समितिलाई गर्ने व्यवहार समेत ठीक नभएको जोशी बताउँछन् ।
समितिलाई गस्ती गर्नुपनि जोखिम छ उनले भने, ‘वन कार्यालयले राति गस्ती गर्दैन, हतियार छैन भन्दै बहाना गरेर उम्किन थालेपछि समस्या भएको छ । वन समितिलाई कार्वाही गर्ने यथेष्ट कानुनी अधिकार नहुँदा समेत अप्ठ्यारो भएको जोशीले बताए । वन कार्यालयले बनको अनुगमन र निगरानी बढाउनुपर्ने उनले बताए ।
पछिल्लो समय लकडाउनका कारणले समेत सबै कार्यालयहरु बन्द भएको मौका छोपेर तस्करले फाईदा उठाउँदै जंगलबाट अवैध काठ तस्करी गर्न थालेको सामुदायिक बन महासंघ बर्दगोरियाका अध्यक्ष टंकराज ओलीले बताए । उनले समुदाय स्तरमा रहेका सामुदायिक बन उपभोक्ता समूहले समेत यसको निगरानी र नियन्त्रणमा पहल गर्नुपर्ने बताए ।
सरकारले सामुदायिक बनलाई बन संरक्षणको भूमिका निर्वाह गर्ने जिम्मेवारी सहित समुदायमा अधिकार प्रत्यायोजन गर्दै सामुदायिक वन समुदायको हित एवं भलाइका लागि सामुदायिक लगानीमा वनको सम्पूर्ण कार्यकारी अधिकार समुदाय दिएको छ ।
तर सामुदायिक बन उपभोक्ता समूह हुँदाहुँदै कतिपय घटना बाहिर आउनुमा समितिले समेत उपयुक्त भूमिका निर्वाह गर्न नसकेको कतिपयको बुझाइ छ ।