काठमाडौंमा बस्ने मनाङका १३सय १० घरमा पठाए घलेले सेनिटाइजर
सरकारलाई दिए सवा करोडको सेनिटाइजर
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
926
Shares
काठमाडौं। मनाङबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सांसद कर्मा घलेले काठमाडौं आइ बसेका मनाङका ४ गाउँपालिकाका १३ सय १० घर परिवारलाई कोरोना संक्रमणबाट बच्न सहयोगी हुने सेनिटाइजर प्रदान गरेका छन्। घलेले मनाङ समाज सेवा समिति, नार्फू समाज समिति र ग्यालसान्दु गुरुङ समाजलाई पनि सेनिटाइजर उपलव्ध गराएका छन्।
काठमाडौंमा रहेका मनाङवासीलाई समेत घलेले सहयोग स्वरुप सेनिटाइजर प्रदान गरेका हुन्। उनले प्रति परिवार सय मिलिलिटरका २ वोतल सेनिटाइजर प्रदान गरेका हुन्। काठमाडौंमा मनाङका नागरिकलाई दिने काम सकिएको समेत उनले बताए।
विश्व स्वास्थ्य संगठन र औषधी व्यवस्था विभागको मापदण्ड अनुसार आफ्नो औषधी उत्पादक कम्पनी सुमि फर्मास्युटिकलबाट उत्पादन गरेको सुरक्षा ब्राण्डको सेनिटाइजर घलेले पहिलो चरणमा सरकारलाई सहयोग स्वरुप हस्तान्तरण गरेका थिए।
नेपाल सरकार र प्रदेश सरकारहरुलाई सवा करोड पर्ने १० हजार लिटर सेनिटाइजर प्रदान गरिसकेका घलेले आफ्नो जिल्लाका सबै गाउँपालिकालाई समेत सेनिटाइजर पठाउन लागेका छन्। मनाङका लागि पठाइने स्यानिटाइजर भने शुक्रवार पठाउने घलेले जानकारी दिए।