arrow

गैरकानुनी तरिकाले स्वीकृत टेण्डर रद्द गरी अर्को सूचना

कमिशनको खेलमा आफू अनुकुललाई नपरेपछि पुनः सूचना गरिएको आरोप, लकडाउन पीडितलाई राहत दिनमा ढिलाई

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
Phikkal_Gaunpalika.png

सिन्धुली । फिक्कल गाउँपालिकाले स्वीकृत गरिसकेको टेण्डर सूचना रद्द गरेर पुनः सूचना प्रकाशित गरेको छ । आफु अनुकुलका फर्मलाई टेण्डर नपरेपछि गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले स्वीकृत भइसकेको सूचना नै रद्ध गरेको फिक्कल गाँउपालिका स्थानिय घनश्याम पहाडीले बताए । 

विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले मुलुक लकडाउन गरेसँगै खाद्यन्नको अभाव भएकालाई खाद्यान्न खरिद गर्नका लागि गाउँपालिकाले टेण्डर सूचना प्रकाशित गरेको थियो । 

प्रकाशित सुचना अनुसार नै स्थानिय खाद्यान्न पसल तथा अन्य फर्मले टेण्डर हालेको र गाउँपालिकाले छनौट गरि प्रकाशित गरिसकेपछि रद्ध गरेको स्थानियको आरोप छ ।  

‘स्वीकृत भएका बोलपत्रदाताहरुको नाम र ठेगानासमेत प्रकाशित भइसकेको थियो । पछि आफ्ना मातहतका बोलपत्रदाताहरुलाई नपर्ने अवस्था आएपछि बढी मुल्य राखिएको भन्दै स्वीकृत भइसकेको बोलपत्र खारेज गरियो’, रविन रोशन किराना तथा खाद्यान्न पसलका सञ्चालक समेत रहेका पहाडीले भने, ‘कमिसनको खेलमा फिक्कल गाँउपालिकाका जनप्रतिनिधिले मनपरी गर्न थालेको पाइयो । 

उनले पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउनुपर्ने अवस्थामा जनप्रतिनिधिले नै विभिन्न बखेडा झिकेर ढिलाई गरेको आरोप लगाए । यही बैशाख १० गते प्रकाशित सूचनाको च.नं ३०५८ को पत्रअनुसार प्रस्तावपत्र स्वीकृत गर्ने आशयको सूचना समेत गाँउपालिकाले प्रकाशित गरिसेको थियो । 

स्वीकृत गरिसकेको ठेक्का रद्ध गर्नु गैरकानुनी भएको जानकार बताउँछन् । जनप्रतिनिधिले मनपरी गरेको भन्दै त्यसलाई रोक्न प्रमुख प्रशासकीय अधिकृतले कानूनलाई मध्यनजर गर्नुपर्ने स्थानियको भनाई छ । 

फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक घिमिरेले सारभूत रुपमा प्रस्तावपत्र स्वीकृत भए पनि कार्यपालिकाले रद्ध गरेको जनाए । ‘करिब हामी प्रस्तावपत्र स्वीकृत गरि सम्झौताकै चरणमा पुगेका थियौं तर केही उजुरीहरु पनि कार्यपालिकामा आएपछि रद्ध गरि पुन सुचना प्रकाशित गरेका हौं’, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने, ‘हामी फेरि सूचना जारी गरी राहत खरिद गर्छौं ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ