arrow

कोरोनाबाट पूर्वखेलाडी पन्थीको मृत्यु, अमेरिकामा पन्ध्र नेपालीले गुमाए ज्यान

logo
मधुकर अधिकारी,
प्रकाशित २०७७ वैशाख १७ बुधबार
panhi.PNG

वासिङ्टन डिसी । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन् ।  महेश पन्थी नेपालका पूर्वफुटबल खेलाडी हुन् ।  पन्थीको मृत्युमा फ्रेण्ड्स क्लबलले सामाजिक सञ्जालमा श्रद्धांजलि व्यक्त गरेको छ ।

ललितपुरको ए डिभिजन फ्रेण्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका पन्थी बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते अस्पतालमा भर्ना भएका थिए । उनीसमेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् । 

मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना संक्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना संक्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ । उनी भन्छन्, “अरु रोग लागेका व्यक्तिमा कोरोनाको संक्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पुर्‌याउने गरेको देखिन्छ ।”

यसैबीच एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवलाई मङ्गलबार अन्तिम संस्कार गर्न सफल भएको भण्डारीले जानकारी दिए । अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाहगृहसम्म पुर्‌याउने काममा भण्डारी महत्वपूर्ण सहयोग गर्दै आएका छन् ।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको राससलाई जानकारी दिए । एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ (अप्रिल २५) सम्म सङ्कलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस संक्रमणबाट मुक्त गराउन सफल भएको छ । सङ्ख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार संक्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्याङ्क छ । 

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा फेब्रुअरी ६ तारिखमा एक जनाको मृत्यु भएको थियो भने यो समाचार तयार पार्दासम्म अमेरिकामा यो भाइरसको संक्रमणबाट ५८ हजार २२० जनाको मृत्यु भइसकेको छ । अमेरिकामा कूल १० लाख १२ हजार संक्रमित पुगेका छन् । कोरोना भाइरसको तथ्याङ्क राख्दै आएको विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय जोन हपकिन्सको पछिल्लो तथ्याङ्कअनुसार १८५ देशका ३१ लाख १६ हजार ६८० जना कोरोना भाइरस संक्रमणमा परेका छन् भने यसको संक्रमणबाट दुई लाख १७ हजार १६८ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २६ दशमलव ८० प्रतिशत मृत्यु अमेरिकामा मात्रै भएको छ ।
–––



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ