arrow

लुकेर बसेका र काठमाडौँबाट फर्काइएकालाई राखिएपछि खचाखच भरिए क्वारेन्टाइन

logo
रवीन्द्र काफ्ले,
प्रकाशित २०७७ वैशाख १७ बुधबार
doti-quarantine.jpg

फिदिम । विदेशबाट आई गाउँघरमा लुकेर बसेका तथा काठमाडौँबाट गाउँ फर्काइएकालाई राखिएपछि यहाँका क्वारेन्टाइन खचाखच भरिएका छन् ।

चैत लागेयता पाँचथरका १२९ जना विदेशबाट फर्केका थिए । तीमध्ये झण्डै एक तिहाइ मानिस क्वारेन्टाइनमा नबसी गाउँघरमै लुकेर बसेका थिए । पहिलो चरणमा विदेशबाट फर्केका तथा उनीहरुको सम्पर्कमा पुगेका १०४ जनालाई क्वारेन्टाइनमा दुई साता राखेर शीघ्र डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षणपछि घर फर्काइएको थियो । 

पछिल्लो पटक प्रशासनले विदेशबाट फर्केर लुकीछिपी बसेकाको सम्पर्कमा पुगेका, रातारात अन्य जिल्लाबाट आएका तथा काठमाडौँबाट ल्याइएकालाई क्वारेन्टाइनमा राखेको छ । हाल यहाँका क्वारेन्टाइनमा ५२५ जना रहेका छन् । यही साता काठमाडौँबाट २९२ जना जिल्लामा आइपुगेका थिए । उनीहरु सबैलाई शीघ्र परीक्षणपछि मात्रै घर फर्काउने प्रशासनको निर्णयपछि क्वारेन्टाइन खचाखच भरिएका हुन् । क्वारेन्टाइनमा नौजना बालबालिकासमेत रहेका छन् । 

एकैसाथ झण्डै ३०० जनालाई क्वारेन्टाइनमा राख्न परेपछि यहाँका स्थानीय तहले सरकारी कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाका भवनमा अस्थायी क्वारेन्टाइन निर्माण गरेका छन् । यस क्रममा क्वारेन्टाइनमा बस्नेले समस्यासमेत भोग्नुपरेको छ । स्थानीय तहलाई व्यवस्थापनमा समस्या आएको छ । निकै असहज हुनेगरी एकै कोठामा धेरै श्यया राखेर अस्थायी क्वारेन्टाइन निर्माण गरिएका छन् । सदरमुकाम फिदिमकै क्वारेन्टाइन निकै साँघुरा र सङ्क्रमणको जोखिमका दृष्टिले चुनौतीपूर्ण छन् । 

क्वारेन्टाइनमा सामग्रीको समेत अभाव छ । फाल्गुनन्द गाउँपालिका–३ स्थित जलसिंह माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा फाल्गुनन्द र फिदिम नगरपालिकाका १२३ जनालाई राखिएको छ । चिसो ठाउँ भएका कारण क्वारेन्टाइनमा बस्नेलाई न्यानो कपडासमेत उपलब्ध गराउन नसकिएको फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तित्रखीको भनाइ छ । “रेडक्रसबाट प्राप्त भएका तथा खरिद गर्न भेटेसम्म कम्बल खरिद ग¥र्यौं”, उहाँले भन्नुभयो, “चिसो ठाउँ भएकाले क्वारेन्टाइनमा बस्नेहरुलाई समस्या छ ।” उनीहरुलाई खाने र बस्नेको उचित प्रबन्ध गर्न कठिनाइ परेको तिखत्रीले बताउनुभयो ।

जिल्ला बाहिर रहेका मानिस जिल्ला भित्रिने क्रम निरन्तर रहे सङ्क्रमणको जोखिम बढ्ने भएकाले यथास्थानमा राख्न आग्रह गरिँदै आएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताउनुभयो । “सङ्क्रमण फैलिएका जिल्लाबाट समेत पाँचथर आउन पाउनु प¥यो भन्ने माग आएका छन्”, उहाँले भन्नुभयो, “अब कसैलाई पनि जिल्ला नपठाउन प्रदेश सरकारलाई लिखित आग्रह गरेका छौँ ।” 

विगतमा छिमेकी जिल्ला झापाबाट आएकाहरुलाई समेत क्वारेन्टाइनमा राखिएको थियो । तर अहिले काठमाडौँबाट आउनेलाई समेत क्वारेन्टाइनमा राख्न नसक्ने स्थिति आउनु चिन्ताको विषय भएको प्रजिअ शर्माको भनाइ छ । गाउँ सुरक्षित छ भन्ने भ्रममा अन्य जिल्ला तथा ठूला शहरमा लामो समय रहन सक्ने सक्षम आर्थिक अवस्थाका मानिससमेत गाउँ फर्कन थालेपछि स्थानीयस्तरमा समस्या आएको हो । 

क्वारेन्टाइनमा राखिएका व्यक्तिको बुधबारदेखि शीघ्र डाइग्नोष्टिक परीक्षण गरिने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाका अनुसार उक्त परीक्षणका लागि जिल्लामा मंगलबार मात्रै ९०० थान किट प्राप्त भएका छन् । बुधबारदेखि शीघ्र डाइग्नोष्टिक परीक्षण गरी घर फर्काउन थालिने सापकोटाले जानकारी दिनुभयो । हालसम्म पाँचथरमा २०६ जनाको शीघ्र परीक्षण गरिएको छ भने ३७ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिनुभयो । हालसम्मका परीक्षणमा कसैको पनि नतिजा पोजेटिभ आएको छैन । सङ्क्रमणको जोखिम अझै पनि उत्तिकै रहेकाले अझै पनि सतर्कतामा कमी हुन नदिइने प्रजिअ शर्माको भनाइ छ । 
–––



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ