अकुत कमाउने लालसाले फसे अग्रवाल, सम्पती शुद्धिकरणको मुद्धामा फेरि पक्राउ
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
635
Shares
काठमाडौं। कोरोनाको संकटमै अकुत कमाउने लालसाले प्रहरी हिरासतमा पुगेका सुलभ अग्रवाल अदालतको आदेशबाट हिरासतमुक्त भएपनि फेरि पक्राउ परेका छन्।
काठमाडौं जिल्ला अदालतले अग्रवाललाई धरौटीमा हिरासतमुक्त गरेपनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनलाई अनुसन्धानका लागि पुनः हिरासतमा लिएको हो।
ज्वरो नाप्ने यन्त्र थर्मल गनको कालोबजारी गरिरहेका बेला २५ चैतमा पक्राउ परेका किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवाल २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भए लगत्तै विभागको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई बिहिवार नै विभागमा बुझाउने भएको छ।
काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवालसँग धरौटी माग गर्दै तारेखमा राख्न आदेश दिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। उनी विरूद्व कालोबजारी र सार्वजनिक पदको दूरूपयोगसहित चार कसुरमा मुद्दा दर्ता भएको थियो ।
महानगरीय अपराध महाशाखाले अग्रवाललाई ६७ थान थर्मल गन बेच्न आउदा रंगेहात पक्राउ गरेको थियो । ग्राहक भेषमा रहेका प्रहरीले शंकर ग्रुपका संचालक तथा नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत अग्रवाललाई थर्मल गन र उनले चढेको निलो प्लेटको गाडी सहित नियन्त्रणमा लिएको थियो ।