arrow

डा. साब, भिष्म गार्डेनको झार हटाउनूस्

logo
कुसुम भट्टराई,
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
Teaching-hospital.jpeg

शिक्षण अस्पताल परिसरमा एउटा बगैंचा छ । त्यो बगैंचाको कुनै कुनोमा एउटा शिलापत्र छ र त्यो शिलापत्रमा लेखिएको छ, भिष्म गार्डेन । आखिर कसरी त्यो भिष्म गार्डेन भयो त ? यसपछिका शब्दहरुले त्यो रहष्य खोल्ने नै छन् । तर, केही कुरा मैले पृष्ठभूमी बाँध्नैपर्छ ।  

टिचिङका संस्थापक डा. भिष्मराज प्रसाई यतिबेला नब्बे पास गरिसकेको बृद्ध हुनुहुन्छ । सन् २०१८ मा उहाँको अटो बायोग्राफीका लागि अडियो रेकर्डको काम सकेर फर्कदै गर्दा डा. साबले भन्नुभएको थियो, कुसुम बाबु, मेरो मु्टुमा पेशमेकर राखिएको छ, पेसमेकरको ब्याट्री कुन दिन सकिन्छ, ठेगान छैन, म बाँचेकै बेलामा यो किताब निकाल्न पाए हुन्थ्यो है ।’

मैले लाओत्सेको दर्शन उद्ध्रण गर्दै भने, ‘डा. साब इट्स डेस्टीनी, हजू्र बाँचेकै बेलामा यो किताब निस्कनेछ्, म अहोरात्र काम गर्नेछु ।’

मैले अहोरात्र काम गरें र उहाँको किताब प्रकाशीत भयो । अहिले कोरोनाको कोपको बेलामा के सरकारले यो देशको वरिष्ठ प्याथोलोजिस्ट, शिक्षण अस्पतालको सँस्थापक डा. प्रसाइसँग सल्लाह लिइरहेको छ त ? अतः यहाँ एउटा इतिहासको पक्षलाई उजागर गर्दैछ्, अबको आवाज डा साबकैः

म त्यतिबेला एमबिबिएस शिक्षणको सँयोजकका रुपमा इन्स्टीच्यूट अफ मेडिशिनको व्यवस्थापन हेरीरहेको थिएँ । मेरा ठूलो बुबाका छोरा तेजबहादुर प्रसाई त्यो बेला शिक्षा मन्त्रालयमा सचिव थिए । उता, मेरा भाई बेनुप बिद्यार्थी आन्दोलनका नेता । बिद्यार्थी आन्दोलनका क्रममा नयाँ शिक्षा योजना पनि एउटा प्रमुख मुद्दा बनेको थियो । सरकारलाई पुरानो पद्धती हटाएर नयाँ पद्धती कायम गराउन सकस भइरहेको थियो । कतिपयले त्यसप्रति असन्तुष्टी पनि व्यक्त गरीरहेका थिए । त्यसको हल खोज्न र समग्र शैक्षिक परिस्थितिको अध्ययन गर्न सरकारले शाही आयोग गठन गरेको थियो । त्यसैबेला मैले शिक्षा क्षेत्र सुधारमा सघाउ पुगोस भनि ‘अन्डरग्राजुयट मेडिकल एजुकेशन इन नेपाल, इटस कन्सेप्टस एन्ड प्रब्लेम’ शिर्षकको किताब लेखेर आफै प्रकाशीत पनि गरेको थिएँ । 

ठिक त्यसैबेला सन् १९८० मा राजा विरेन्द्रबाट जापानको भ्रमण भयो । त्यो भ्रमणका क्रममा जापानले एउटा ऐतिहासिक प्रस्ताव राख्यो । त्यो प्रस्ताव थियो, नेपालमा शिक्षण अस्पतालको निर्माण । नेपालमै चिकित्सा शिक्षाको सुविधा होस् र नेपालले आफुलाई चाहिने दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्न सकोस् भन्ने सदाशयले जापानले राखेको त्यो प्रस्तावलाई नेपालले सहर्ष स्वीकार गर्यो । हुन पनि त्यतिबेला नेपालमा कार्यरत कुल ६२७ जना डाक्टरहरु, ३५ बिशेषज्ञ डाक्टसहित, (स्रोतःः हेल्थ म्यानपावर डाइरेक्टरी, १९८०)  विदेशबाट पढेर आएका थिए । 

चिकित्सा शिक्षामा समर्पित डिन हेमांग दिक्षित, म र अन्य साथीहरु त्यो घोषणाबाट निकै उत्साहीत भयौं । तत्काल हामीले ‘अस्पताल योजना कार्यदल’ बनायौं अनि त्यसमा रहेर काम गर्न डा. एन. बि. राणालाई इन्स्टीच्यूट अफ मेडिशिनमा आमन्त्रण गर्‍यौं । इन्स्टीच्यूट अफ मेडिशिनका लागि नयाँ शिक्षण अस्पताल निर्माणको योजना बनाइयो, जसमा डा. मदनप्रसाद उपाध्याय, डा. गोपाल आचार्य, म र  डा. एन. बि. राणाको विशेष भूमिका रह्यो । 

केही समयभित्रै जापान सरकारले ‘शिक्षण अस्पताल निर्माण योजना’लाई साकार पार्न आफ्नो टोली पठायो र कुनै विलम्ब नगरी अस्पताल निर्माणको काम सुरु भयो । इन्स्टीच्यूट अफ मेडिशिन (आइओएम)सँग ‘शिक्षण अस्पताल निर्माण योजना’लाई नेतृत्व दिनका लागि सिमित जनशक्ति थियो । हामीसँग प्राध्यापक र सह प्राध्यापक गरेर जम्मा ५ जना थिए । यीमध्ये चार जना मभन्दा कनिष्ठ थिए । त्यसैले मलाई नै नयाँ शिक्षण अस्पतालको प्रथम निर्देशक बनाइयो । हुन त मलाई भर्खर सुरु भएको एमबिबिएस कार्यक्रम छाडेर निर्देशक हुन मन थिएन, तर डिन गोपाल आचार्यको विशेष अनुरोधमा म शिक्षण अस्पतालको निर्देशक बन्न तयार भएँ । आइओएमका लागि पनि शिक्षण अस्पताल निर्माण योजना आफैमा चुनौतीपूर्ण जिम्मेवारी थियो । मैले त्यो चुनौती स्वीकार गरें । त्रिभुवन विश्व विद्यालयका उपकुलपती रामचन्द्रबहादुर सिंहले मलाई त्रिपुरेश्वरस्थित आफ्नो कार्यालयमा डाकेर नियुक्तीपत्र दिए । 

२०४० सालमा शिक्षण अस्पतालको निर्माण पुरा भयो । तीन सय शैयाको अस्पताल भवन निर्माणपछि एउटा भव्य समारोह आयोजना गरेर जापानीहरुले मलाई नै भवनको साँचो हस्तान्तरण गरेका थिए । त्यो कार्यक्रममा शिक्षा मन्त्री, नेपालस्थित जापानी राजदूत, सचिवहरु, त्रिविविका अधिकारी र प्राध्यापकहरु सहभागी थिए । शिक्षण अस्पताल (टिचिङ अस्पताल) भवनका दुई खण्ड थिए । पहिलो खण्डमा ओपीडी, इमर्जेन्सी र इमर्जेन्सी अपरेशन थियटर, रिसेप्सन, रेडियोडाइग्नोशीस, क्लीनिकल ल्यबरोटरी, लाइब्रेरी, प्रंशासन, लेक्चरर र सेमीनार हल थिए । दोश्रो खण्डमा अपरेशन थियटर, ३०० शैयाको अन्तरंग विभाग, आइसीयु/सिसियु र फयाकेल्टी अफीसर बस्ने ठाउँ थियो । पहिलो खण्ड हस्तान्तरण भइसकेको थियो, दोश्रो खण्ड पनि सन् १९८४ मा जापानीहरुले हामीलाई हस्तान्तरण गरे । 

जापानी मित्रहरुले भवन त हस्तान्तरण गरे, तर अस्पतालको रुपमा त्यसलाई सँचालन गर्न धेरै काम बाँकी थियो । म निर्देशक भएका बेलामा भएका केही कामहरु बुँदागत रुपमा राख्न चाहन्छुः 

भौतिक पुर्वाधारः शिक्षण अस्पतालको पुरै संरचना तयार हुन्जेलसम्मका दश महिनामा हामीले तत्काल त्याहाँ ओपीडी सेवा सुरु गर्ने तदारुकता देखाएका थियौं । जापानीहरुले मलाई अस्पतालका दुई हजार ढोकाका चाबी हस्तान्तरण गरेका थिए । ति कोठामा चाहिने सारा सामानको व्यवस्था मेरै सँयोजकत्वमा हुन थाल्यो । हामी आधुनिक अस्पताल बनाउन चाहन्थ्यौं । यस्तो अस्पताल जहाँ पानी, बिजुली र आवश्यक इक्युपेन्टहरु सबैको सुविधा होस् । विशेषज्ञ डाक्टरहरु अस्पतालकै छेउमा बस्न सकून् र जसका लागि डाक्टरहरुको रेसिडेन्सीयल बिल्डीङ पनि आवश्यक थियो । हामीले त्यसको सारा प्रबन्ध मिलायौं । इन्स्टुमेन्ट र इक्युपमेन्ट केही पहिला नै किनिएको थियो, केही जापानीहरु दिएका थिए भने केही बाहीरबाट किनेर मगायौं ।

हामीसँग त्यो बेला प्राविधिक जनशक्ति थिएन । हामीले इन्टरनल फर्नीचर, स्टीलका बेड, गद्दी, तन्ना, टेबल, अपरेशन थियटरका सामान, जनशक्ति आदि सबैको व्यवस्था मिलायौं । बाहीरबाट कच्चा पदार्थ ल्याइ कलकत्ताको फयाक्ट्रीका मान्छेहरुलाई यतै डाकेर हामीले अस्पतालकै कम्पाउण्डभित्र स्टीलका बेडहरु बनाउन लगाएका थियौं । जापानकै सहयोगमा सिमिजु कन्स्ट्रक्सन कम्पनीबाट प्राप्त मेडिकल औजारहरुले भरिएको कोठाको साँचो पनि हामीलाई हस्तान्तरण गरियो ।  

विधि र व्यवस्थापनः अस्पतालको प्रथम निर्देशक भएकाले अस्पताल सँचालनको विधि विधान तर्जुमा गर्नुपर्ने दायित्व पनि मेरै काँधमा थियो । टिचीङ अस्पताललाई वीर अस्पताल चलाए जसरी चलाउने कि आधुनिकीकरण गर्ने ? भन्ने प्रश्न मेरो सामु थियो । मैले अस्पतालको आधुनिकीकरणका लागि एउटा नीति नियम प्रस्ताव गरें । त्यतिबेलासम्म अस्पतालमा डाक्टर र नर्सहरुको डयुटी विहान आठ बजेदेखि एक बजेसम्म मात्र थियो । हामीले आठ बजेदेखि पाँच बजेसम्म सेवा समय (डयुटी आवर) तोकिदियौं । साथमा तलब पनि बढाइयो । पहिला जति तलब थियो, त्यसको पचास प्रतिशत थपिदिएँ । जसबाट काम गर्ने पनि खुशी भए, विरामीले पनि सेवा पाए । अझैसम्म स्वास्थ्य मन्त्रालयले यस्तो व्यवस्थापन गर्न सकेको छैन, तर मैले त्यसबेलादेखि नै टिचीङमा त्यसखालको व्यवस्थापन मिलाएको थिएँ । टिचीङको आधुनिकीकरणको त्यो पहिलो कदम थियो ।  

पर्याप्त खानेपानीः टिचिङ अस्पतालमा खानेपानी आपुर्तीको व्यवस्था मिलाउनु अर्को चुनौती थियो । जापानीहरुले जमीनमुनी खानेपानीको खाली टंकीसमेत बनाइदिएका थिए, तर पानी थिएन । अस्पताललाई धेरै पानी चाहिन्थ्यो । ३०० बेडको ठुलो आधुनिक अस्पताल त्यतिबेला टिचिङ नै थियो, जसलाई सफा राख्न पनि पानी प्रयाप्त आपुर्ती हुनुपथ्र्यो । आफु वीर अस्पतालमा काम गरीसकेको र त्यहाँ पानीको अभावमा अस्पताल फोहर र अस्तव्यस्त भएको देखेकाले मैले टिचिङमा पानीको आपुर्तीलाई मुख्य प्राथमिकता दिएँ । अस्पताल स्वच्छ राख्न अन्र्तराष्ट्रिय मापदण्ड अनुसार के कति मात्रामा पानी चाहिन्छ भनेर अन्र्तराष्ट्रिय बिज्ञहरुलाई नै इस्टीमेट गर्न लगाएँ । चार इन्चको बोरीङबाट निस्किएको पानीले अस्पतालको आवश्यकता पुर्ती हुने इस्टीमेट निस्कीयो । त्यस खालको डिप बोरीङका लागि सुरुमा हामीले खानेपानी संस्थानमा निवेदन दिएका थियौं । तर खानेपानीका अधिकारीहरुले ‘चार इन्चको पानीको पाइप दिनै सकिदैन’ भनेर हामीलाई पन्छाए । उनीहरुले एक–एक इन्चका चार वटा पानीको पाइप दिन्छौं भनेर भनेका थिए, जसबाट हामीलाई पानी पटक्कै पुग्नेवाला थिएन । 

खानेपानी सँस्थानबाट नभएपछि चिनियाँ ठेकेदारहरुलाई जिम्मा दिने कुरा आयो । त्यतिबेला नेपालमा खानेपानीको व्यवस्था मिलाउन सरकारले चिनियाँ ठेकेदारहरुलाई नै जिम्मा दिएको थियो । चिनियाँ ठेकेदारहरुले काठमाडौंका करीब चालीस ठाउँमा डिप बोरीङ गरेर खानेपानीको व्यवस्था मिलाएका थिए । त्यसैले हाम्रो अस्पतालका लागि पनि उनीहरु नै उपयुक्त मानिए । एउटा बोरीङ खनिदिए बापत उनीहरुले सरकारसँग जति पैसा लिएका थिए, हामीले पनि त्यत्ति रकम तिरे हुने भो । यसका लागि लामो प्रकृयामा जानुपर्ने झन्झट पनि आएन। 

अझ, ‘मेटेरियल’ (चाहिने सामान) हामीले दिएमा लागत झन सस्तो हुने कुरा बुझीयो । जमीन मुनी आठ सय मिटर खन्नुपर्ने हिसाब निकालीयो । त्यसका लागि चाहिने पाइप हामीले भारतबाट मगायौं । यीलगायतका सामान बन्दोबस्त भएपछि चिनियाँहरुलाई नै ठेक्का दियौं । चिनियाँहरुले पनि धेरै सहुलीयत दरमा काम गरिदिए । सरकारले दिएको भन्दा कम रकममा काम भएकाले हामीले टेण्डर पनि गर्नुपरेन । त्यो बेला डिप बोरीङ गरेर निकालेको पानी अहिलेसम्म टिचीङमा अविरल आइरहेको छ । 

महामृत्युञ्जयश्वर मन्दिरः टिचिङ अस्पतालको पुर्वतर्फ आकस्मीक कक्षकै छेउमा एउटा मन्दिर छ । महामृत्युञ्जयश्वरको मन्दिर । म निर्देशक भएकै बेला त्यो महामृत्युञ्जयश्वर मन्दिरको स्थापना गरिएको हो । त्यो मन्दिर चाँही जापानी कन्ट्रयाक्टरले नै बनाइदिएका हुन्, त्यसमा सरकारको पैसा परेको छैन । अस्पतालमा मन्दिर स्थापना हुनु आफैमा अनौठो कुरा थियो । त्यो मन्दिरमा कार्य सिद्धि होस् भनेर गणेशको मन्दिर राखियो, मृत्युञ्जयश्वरका रुपमा शिवजीको मुर्ती अनि शिक्षाको केन्द्र भएकाले सरस्वतीको मुर्ती राखियो । 
यहींनेर मलाई एउटा रोचक सन्दर्भको स्मरण हुन्छ । अस्पतालमा मन्दिर निर्माण भएपछि तलब पाउने गरी मैले पुजारी पनि नियुक्त गरिदिएँ । इतिहासमै पहिलो पटक सरकारी खर्चबाट पुजा आजा गराइयो । मन्दिरमा राजाका बडा गुरुज्यूलाई ल्याएर मन्दिरमा स्थापीत मुर्तीमा प्राण प्रतिस्थापन गरिएको थियो । बडा गुरुज्यूलाई दान दक्षिणा पनि गरियो । राजाको दरबारमा पुजाआजा हुँदा बडागुरुज्यूलाई जे जति दान दक्षिणा बक्स हुन्थ्यो, मैले पनि सोही बमोजिम सरकारी खर्चबाट उनलाई दक्षिणा दिएको थिएँ । 
जब अडिटरले अस्पतालको खर्चको हिसाब किताब हेरे, उनले ‘हिसाब मिलेन डाइरेक्टर साब’ भनेर भने । 
‘के मिलेन ?’ मैले सोधें । 

‘सरकारी खर्चबाट दान दक्षिणा दिन मिल्दैन डाइरेक्टर साब’, अडिटरले भने ।    

‘सरकारी पैसाबाट दान दिनु हुँदैन भनेर पनि त लेख्याछैन होला’, मैले तर्क गरें। 

‘हैन यसरी दान दक्षिणा गर्न त कसरी मिल्ला र ?’, उनले भने ।  

मैले ति अडिटरलाई भनें, ‘यो हिन्दु राजाको राज्यमा नयाँ अस्पताल स्थापना हुँदा सबैलाई इश्वरले कल्याण गरुन् भनेर बडा गुरुज्यूको सल्लाह लिएरै मैले दान धर्म, पुजा पाठ गरेको हुँ । मैले रितपुर्वक नै यो दान राजाको बडा गुरुज्यूलाई दिएको हुँ । हिन्दु राज्यमा जे जस्तो धार्मिक रिति रिवाज अनुसार पुजा आजा हुनुपर्ने हो, मैले सोही बमोजिम गरेको हुँ । तपाई यसलाई बेरुजु ठहर्‍याउन सक्नुहुन्छ, ठहर्‍याउनुस् । मैले दण्ड जरीवाना तिर्नुपर्ने भयो भने म आफ्नै खल्तीबाट तिरुलाँ, हैन मिलाउन मिल्छ भने मैले घुस दिएर मिलाउने हैन, जे गरें मैले ठिक गरें, भनेर सही गर्नेछु र परेको व्यहोर्नेछु । बेरुजु नै ठहरिएमामा मैले आफ्नै गोजीको पैसाबाट राजाका बडा गुरुज्यूलाई दान गरेको हुनाले त्यसको पुण्य पनि मै कमाउनेछु ।’

हिन्दु राज्यमा दान धर्म र पुजा पाठमा भएको खर्चलाई बेरुजुमा चढाउने हिम्मत कसैमा भएन । मैले आफ्नो गोजीबाट तिर्नु परेन । त्यसरी मैले अस्पतालमा मन्दिर स्थापना गरेको थिएँ, जहाँ अहिले पनि नियमीत पुजा आजा हुन्छ ।     

चिचि बु गार्डेनः जापानले बनाइदिएकाले शिक्षण अस्पतालका बारेमा जापानमा पनि चर्चा भएको थियो । नेपाल आउने हरेक जापानीलाई सरकारी अधिकारीहरु भन्थे, ‘हामीले नेपालमा बनाइदिएको अस्पताल हेरेर आउनु ।’ अनि जापानीहरु नेपाल भ्रमणमा आउँदा टिचिङ अस्पतालको भ्रमण गरेरै जान्थे । सन् १९८५ मार्चको प्रसँग हो । जापानका तात्कालीन राजा हिरोहितोकी बहीनी (अहिलेका राजा अकिहितोकी फुपु) अधिराजकुमारी चि चि बुको नेपाल भ्रमण हुने खबर आयो । नेपाल भ्रमणका क्रममा अधिराजकुमारी चि चि बुबाट टिचिङ अस्पतालको पनि भ्रमण हुने जानकारी मलाई दिइयो । अस्पतालको निर्देशकका नाताले मलाई जापानी राजदुतावासले आधिकारीक पत्र लेखेर अधिराजकुमारीको स्वागत र सम्मानमा अस्पतालका केकस्तो कार्यक्रमको आयोजना हुनेछ भनेर जानकारी माग्यो । 

आफु निर्देशक भएका नाताले मैले कार्यक्रम तालिका बनाउनुपर्ने कर्तव्य ठानें । त्यसबारेमा मैले त्रिभुवन विश्व विद्यालयका उपकुलपतिसँग परामर्श गरें । कार्यक्रम सेट गर्नुअघि अधिराजकुमारीलाई के कस्तो सम्मान, रिसेप्सन, कार्यक्रमम आयोजना गर्दा उचित होला भनेर जापानी दुतावासका अधिकारीहरुलाई पनि सोधेको थिएँ । दुतावासले ‘तपाईहरुलाई जे उचित लाग्छ त्यही गर्नुस्’ भनेर भन्यो । मैले अधिराजकुमारीको बाहुलीबाट अस्पताल परिसरमा जापानकै प्रख्यात बनस्पती चेरीको विरुवा रोप्न लगाउने कार्यक्रम तय गरें । अनि ‘यस्तो यस्तो कार्यक्रम हुनेछ’ भनेर दुतावासलाई जानकारी पठाएँ ।

जापानले तिनताक आठ वटा चेरीका विरुवा नेपाललाई उपहार दिएको थियो र ति विरुवा गोदावरीस्थित शाही बनस्पती उद्यानमा रोपिएको थियो । मैले उद्यानका बनस्पतीबिदहरुसँग कसरी चेरीको विरुवालाई अस्पताल परिसरमा रोपण गर्न सकिन्छ भन्नेबारेमा आवश्यक सल्लाह लिएँ । शाही बनस्पती उद्यानले त्यसका लागि विरुवा र विशेषज्ञ दुबै उपलव्ध गराउने भयो । मैले अन्य सबै आवश्यक तयारी पुरा गरें । 

अधिराजकुमारीको भ्रमण हुनुअघि सुतीरहेको नेपालको परराष्ट्र मन्त्रालय एकाएक जाग्यो र अधिराजकुमारी चि चि बुको भ्रमणका क्रममा के के कार्यक्रम हुँदैछ भनेर मसँग जानकारी माग्यो । मैले जापानी दुतावासलाई बुझाएकै कार्यक्रम सूची हाम्रो परराष्ट्र मन्त्रालयलाई पनि बुझाइदिएँ । 

अब एउटा समस्या परराष्ट्र मन्त्रालय सामु खडा भयो । परराष्ट्रका चिफ अफ प्रोटोकल विश्वेश्वर रिमालले मलाई फोन गरेर सोधे, ‘तपाईले कसलाई सोधेर अधिराजकुमारीबाट अस्पतालमा वृक्षारोपण कार्यक्रम तय गर्नुभयो ?’ परराष्ट्रको प्रश्न मेरो लागि अप्रत्याशीत थियो । मैले भनें, ‘अस्पतालको निर्देशकका नाताले मैले नै त्यो कार्यक्रम तालीका तय गरेको हुँ ।’

‘यो तपाईले तय गर्ने विषय हैन, यो सबै कुरा राजदरबारबाट निर्णय हुन्छ । तपाईले कसरी गर्न मिल्छ ?’, चिफ अफ प्रोटोकलले भने । 

खासमा मबाट सानो प्राविधिक भुल के हुन गयो भने मैले दरबारलाई त्यसबारेमा सोधीन । अधिराजकुमारीलाई ‘वृक्षारोपण कार्यक्रम’मा सहभागी गराउने कुराको निधो चाँही प्रोटोकल अनुसार दरबारबाट मात्र हुँदोरहेछ । मैले सामान्य कुरा होला भन्ठानेर दरबारलाई जानकारी नै नदिई त्यो कार्यक्रम राखें । तर त्यसले नै समस्या खडा गर्‍यो । परराष्ट्रका अधिकारीको कुरा सुन्दा त मैले ठुलै अपराध गरेछु, अब आज भोली नै जेल हाल्छन् की जस्तो लाग्यो । 

मैले दरबारका तर्फबाट शिक्षा क्षेत्रसमेत हेर्दै आएका तत्कालीन सचिव चिरन थापालाई फोन गरें ।  ‘सचिवज्यू, अधिराजकुमारीको नेपाल भ्रमण हुन अब धेरै दिन बाँकी छैन । मौसुफबाट अस्पतालको पनि भ्रमण हुने खबर पाएकाले मैले मौसुफको स्वागत र सम्मानमा कार्यक्रम तालीका बनाएँ। तर अहिले आएर परराष्ट्रका अधिकारीहरुबाट समस्या खडा गरिएको छ । अब म के गरुँ सचिवज्यु ?’, मैले आफ्नो समस्या राखें । 

दरबारका सचिव थापाजी पनि फसादमा परे । आखिर दरबारको प्रोटोकल त्यस्तै रहेछ । वृक्षारोपणको कार्यक्रम दरबारबाटै तय गरिदोरहेछ, मलाई त थाहा थिएन। 

‘एक छिन पर्खनुस् डाक्टर साब, म केहीबेरमै तपाईलाई फोन गर्छु’, सचिव थापाले भने ।  

केहीबेरपछि पुन सचिव थापासँग मेरो फोन सम्पर्क भयो । उनले सायद उत्पन्न समस्याका बारेमा राजाका जुनाफमा जाहेरी गरेर राजाबाट हुकुम भए बमोजिम मलाई निर्णय दिनुपर्ने अवस्था आयो होला । अनि अर्को दिन सम्पर्क गर्न भने। 

‘डाक्टर साब, गो अहेड । अधिराजकुमारी सरकार हामी सबैको पाहुना होइबक्सीन्छ, मौसुफबाट अस्पतालको भ्रमण गरिबक्सने भएकाले अस्पतालबाट मौसुफको स्वागत र सम्मानमा जेजस्तो कार्यतालिका बनाइएको छ, त्यसैलाई अघि बढाउनसक्नुहुन्छ,’ भोलीपल्ट मलाई दरबारका सचिव थापाले खुशीको खबर सुनाए ।      

अब चाँही दरबारबाटै अनुमती पाए सरह भयो र कार्यक्रम अघि बढाउन मलाई सजिलो भयो । अधिराजकुमारी चि चि बुबाट अस्पतालको भ्रमण भयो । त्रिविविका उपकुलपती रामचन्द्रबहादुर सिंह, नेपालस्थित जापानका राजदूत महामहिम काजुओ कानेको, इन्स्टीच्यूट अफ मेडिसिनका डिन गोपाल आचार्यले अस्पतालको मुख्य द्वारमा अधिराजकुमारीको हार्दिक स्वागत गरे । निर्देशकका नाताले मैले नै अधिराजकुमारीको अस्पताल भ्रमण कन्डक्ट गरेको थिएँ । 

अधिराजकुमारी हेर्दा अली उमेर ढल्केको भए पनि उनमा युवा जोश भएको मैले पाएँ । जापानमा सामाजिक सेवामा शक्रि चि चि बुले क्षयरोग विरोधी अभियानमा धेरै योगदान पुर्‍याएकी रहीछन् । स्वास्थ्य क्षेत्रप्रति उनमा विशेष लगाव रहेछ । उनकै बरद बाहुलीबाट टिचीङ अस्पताल परिसरमा गोदावरीबाट ल्याएर एउटा चेरीको विरुवा रोपीयो । अस्पतालको हार्दिक स्वागत पाएर त्यो छोटो भ्रमणमा पनि अधिराजकुमारी निकै प्रभावित भएको मैले पाएँ । उनले रोपेको चेरीको विरुवा त हुर्कन सकेन, सायद माटो मिलेन या के भयो, थाहा भएन । तर उनले वृक्षारोपण गरेको बगैचालाई हामीले उनको सम्मानमा ‘चि चि बु उद्यान’ नामाकरण गर्‍यौं । त्यो खासमा उनको मात्र नभएर शिक्षण अस्पताल निर्माण गरिदिने जापानप्रतिकै सम्मान थियो ।  

‘फयूचर म्यानेजमेन्ट अफ इक्युपमेन्ट’: टिचिङ अस्पतालमा स्थापनाकालमै अर्को एउटा दुरगामी काम भएको थियो, जसमा अहिले आएर विराम लागेको छ । त्यो काम थियो, ‘फयूचर म्यानेजमेन्ट अफ इक्युपमेन्ट’का लागि आर्थिक संचय । नेपालमा अझै पनि विभिन्न सरकारी कार्यालय या संस्थाहरुमा एउटा कम्प्युटर या अन्य कुनै उपकरण ल्याइयो भने त्यसले नै सय वर्ष धान्छ भन्ने सोच राखीन्छ । त्यसलाई समयमै फेर्ने तदारुकता देखाइदैन । अस्पतालमा पनि कुनै एक्सरे मेशीन बिग्रियो भने त्यसलाई फेर्ने हैन बरु पुरानैले काम चलाउने गरिन्छ । किनकी नयाँ किन्न करोडौ रुपैया लाग्छ र त्यो असम्भवजस्तो लाग्छ । यस्तो सिस्टमबाट आधुनिक संसारमा संस्थाहरु चल्न    सक्दैनन् । त्यसकारण मैले टिचिङ अस्पतालमा सुरुदेखि नै कुल आम्दानीको दश प्रतिशत रकम ‘फयूचर म्यानेजमेन्ट अफ इक्युपमेन्ट’  अर्थात भविश्यमा कुनै उपकरण काम नलाग्ने भएमा फेर्न भनेर बचत कोषमा राख्ने प्रणाली बसालें । किनकी सरकारले तलबबाहेक उपकरण किन्न पैसा दिदैनथ्यो । अतः भविष्यमा उपकरण बिग्रिएर अस्पताल संकटमा नपरोस भनेर खडा गरिएको त्यो कोषमा धेरै लामो समयसम्म रकम जम्मा भइरह्यो । कसैले अनावश्यक खर्च गरेनन् । किनकी नियम नै थियो, कुनै उपकरण बिग्रिएमा मात्र नयाँ किन्नका लागि त्यसको पैसा खर्च गर्ने । करोडौं रकम जम्मा भएको थियो र हामीले त्यो पैसा कसैले अन्य काममा खर्च गर्न नपाओस् सरकारको ट्रेजरी बिलहरु किनेर राखेका थियौं । 

(मैले छोडेपछि कालान्तरमा आइओएम ऋणमा डुबेर फँस्दै फँस्दै बैंक्रप्ड भयो । विश्वविद्यालयले त्यहाँका कर्मचारी र डाक्टरलाई तलब खुवाउनै पर्‍यो । कहाँबाट तलब खुवाएछन् भनेको त त्यही ‘फयूचर म्यानेजमेन्ट अफ इक्युपमेन्ट’का लागि खडा गरिएको कोषबाटै झिकेर खुवाएछन् र त्यो पैसा पनि सकेछन् । हालै मात्र मैले त्यो कोषका बारेमा सोधपुछ गर्दा ‘आठ दश वर्षअघिसम्म सुरक्षीत थियो, अहिले त्यो पैसा तलब खुवाएरै सकियो’ भन्ने जवाफ पाएँ । मैले अस्पताललाई आत्मनिर्भर बनाउन दुरगामी सोच राखेर काम गरेको थिएँ, त्यसले निरन्तरता पाउन नसकेकोमा दुःख लागेको छ ।)    

संस्थापक सहकर्मीहरुः अस्पताल सुरु गर्दा हामीसँग सुरुमा एक दर्जन नर्सहरु थिए, जो नर्स कृष्ण प्रजापतिको मातहत खटिएका थिए । शिक्षण अस्पतालका सुरुवाती दिनका ति ‘फ्लोरेन्स नाइटेँगल’हरुमध्ये थिए–ममता श्रीवास्तव, अम्बीका ढुँगाना, कविता देवकोटा, शोभना भुजु आदि । निराला चित्रकार, सुरेश देउजा, रघु तौजेल, चंचल जोशी आदि अस्पताल प्रशासनको ‘ब्याक बोन’ थिए । मसँग काम गर्ने हेल्थ असीस्टेन्टहरुको पहिलो समूहमा थिए–सरला शेरचन, महेन्द्र भट्ट, दिपक जोशी, शान्ति पोखरेल र मिरा उपाध्याय । मलाई सहयोग गर्न केही सिमित सुरक्षा अधिकारी र पियनको पनि व्यवस्था गरिएको थियो । एसएस मल्ल, भरत झा, दफ्तान सादा र मदन श्रष्ठको एउटा विशेष प्राविधि टोली थियो, जो डायग्नोस्टीक सर्भिसमा कार्यरत थियो । त्यतिबेला एक दर्जन डाक्टर इन्स्टीच्यूट अफ मेडिसिनमा कार्यरत थिए, जो शहरका विभिन्न अस्पताल र स्वास्थ्य मन्त्रालयमा खटाइएका थिए । उनीहरु कोही पनि नयाँ शिक्षण अस्पतालमा आइसकेका थिएनन् । 

अस्पतालमा सुरुमा तिनचार महिना ओपीडी मात्रै चलायौं । त्यसपछि इनडोर उपचार पनि सुरु भयो । त्यसरी टिचीङ अस्पतालको प्रारम्भ भएको थियो । अस्पताल खुलेपछिका दिनहरुमा मभन्दा पहिले इन्स्टीच्युट अफ मेडिसिनमा नियुक्त भएका डिन र सहायक डिनहरु आआफ्नो ठाउँमा फर्केर गए । डिन मोइन शाह पनि साउदी अरेबियातीर लागे । उतै काम गरेर बसे । अली उमेर ढल्कीएपछि स्वदेश फर्किए । सुरुमा अस्पताल नभएकाले आउन त्यति इच्छा नराख्ने डाक्टरहरु पनि अस्पताल बनीसकेपछि इन्स्टीच्युट अफ मेडिसिनमा आउन थाले । किनकी डाक्टरहरुले काम गर्ने ठाउँ पाए । तर पहिला झैं काजमा आउन पाइने अवस्था थिएन । अस्पताल बनीसकेपछि भने मन्त्रालय अन्तर्गतको जागीर छोडेर आउनुपथ्र्यो र टिचिङमा अन्तवार्तामा पास भएर मात्र जागीर खान पाइन्थ्यो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत भएपछि यो प्राविधिक हिसाबको कलेज भएकाले डाक्टरले मात्र आउन पाउने अवस्था रह्यो । धेरै डाक्टरहरुले आउन रुची राखेपछि हामीलाई छनौटको अवसर पनि प्राप्त भयो । अस्पताल राम्रो हुँदै गयो । 

म ति कसैलाई विर्सन सक्दीन, जसले सुरुवाती दिनहरुमा शिक्षण अस्पतालमा सेवा गरेका थिए । जव अस्पतालले विरामीलाई सेवा दिन सुरुगर्‍यो, त्यतिबेला आइओएमले विविध विधाका विशेषज्ञहरुको विशेष टोली नै खडा गरेको थियो । उनीहरु थिए–फिजीसियनहरु डा. गोपाल आचार्य र डा. सँजीव ढुँगेल, सर्जनहरु डा. एके शर्मा, डा. जनककेशर प्रशाई, डा. सिपी मास्के, डा. जिपी शर्मा, डा. महेश खकुरेल (जो पछि अस्पतालको निर्देशक भए), र डा. बिआर जोशी त्यहाँ कार्यरत थिए । त्यसैगरी गाइनोकोलोजिस्ट डा. सानुमाया दली र डा. भोला रिजाल, पेडियाट्रीसियन डा. हेमांग दिक्षित, आँखा सर्जन डा. मदनप्रसाद उपाध्याय, इएनटी (नाक, कान, घाँटी विशेषज्ञ) डा. राकेश श्रीवास्तव, अर्थोपेडिक सर्जनहरु डा. बिहारीलाल श्रेष्ठ, डा. पिके झा र डा. लखनलाल शाह, डेन्टल सर्जन डा. राजतिलक बस्नेत, एनेस्थेसीयोलोजिस्ट डा. रोशना अमात्य, प्याथोलोजिस्ट डा. आइएल श्रेष्ठ, डा. हरी गोविन्द श्रेष्ठ र रेडियोलोजिस्ट टिबी बुढाथोकी अस्पतालमा सक्रिय थिए । गिता पाण्डे, म्याट्रोन एवं उप निर्देशक डा. केके काफ्लेको प्रशासनिक सहयोगकै कारण मलाई तत्काल अस्पताल संचालन गरीहाल्ने हौसला मिलेको थियो । अस्पताल सुरुहुँदा हामीसँग सबै क्षेत्रका गरी करीब ३०० जना स्टाफ थिए ।  

शिक्षण अस्पताल र आइओएममा रहँदा मैले गर्व गर्ने अर्को पक्ष के थियो भने मेरै कार्यकालमा आइओएमबाट एमबिबिएसका पहिलो र दोश्रो व्याचका डाक्टरहरु उत्पादन भएका थिए । नेपालको इतिहासमा पहिलो पटक २२ जना एमबिबिएस डाक्टरहरु स्वदेशमै उत्पादन भएका थिए । ति हरेकको अनुहार म यतिबेला झलझली सम्झीरहेको छुः 

पहिलो व्याच १९७८: डाक्टरहरु बाबुराम मरासीनी, मुक्ती शर्मा, निरञ्जन शर्मा, गणेशबहादुर सिंह, केशव ढुँगाना, गोपाल खनाल, निर्मला श्रेष्ठ, शंकर बहादुर श्रेष्ठ, राधा शाह, आनन्द श्रेष्ठ, आनन्द रेग्मी, बिमल ढकाल, तपेश्वर लाल कर्ण, मित्रलाल श्रष्ठ, चन्द्रकान्त शर्मा, पदमबहादुर चन्द, अर्जुनराज पन्त, बालकुमार केसी, गोकर्ण ढकाल, रमेशमान सिंह, प्रमोद श्रेष्ठ ।

दोश्रो व्याच १९७९: डाक्टरहरु शंकर राई, टिकाराम खरेल, कृष्णकुमार राई, मधुशुदन शर्मा, मुकुन्द पन्थी, गोपाल ज्ञवाली, यामबहादुर ओली, प्राश्चीत श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, छत्रकृष्ण श्रेष्ठ, तुलसी नारायण श्रेष्ठ, लालबहादुर मल्ल, कृष्णप्रसाद घिमिरे, जगतनारायण गिरी, गंगाराम चौधरी, सरस्वती पाण्डे, गणेशबहादुर गुरुङ, महेन्द्रबहादुर सिंह, लक्ष्मण मण्डल, रघुनाथ न्यौपाने, विश्वराज खनाल र अर्जुन कार्की ।
यी सबै डाक्टरहरुहरुले आज देशको स्वास्थ्य प्रशासन र एक्याडेमिक क्षेत्रमा महत्वपूर्ण नेतृत्व प्रदान गरिरहेका छन् । त्यो देख्दा मलाई गर्व लाग्छ । 

विशेषज्ञ डाक्टर उत्पादनः टिचिङ अस्पतालमा सेवा सुरु भएपछि भने एक्याडेमिक काममा भन्दा बढी म विरामीको उपचारतीरै केन्द्रीत भएँ । म अस्पतालको निर्देशक थिएँ । त्यो बेला अस्पतालमा एनेस्थेसीया दिने (अपरेशन गर्नुअघि विरामीलाई बेहोस बनाउने ) कुनै डाक्टर थिएनन् । नेपालमै त्यतिबेला त्यस्ता डाक्टर जम्मा चार जना मात्र थिए । तिमध्ये तिनजना वीर अस्पतालमै थिए भने एक जना मन्त्रालयमा थिए । हाम्रो अस्पतालको लागि एनेस्थेसीया दिने डाक्टरको ठुलो खाँचो पर्‍यो । बल्ल बल्ल एकजना एनेस्थेसीस्ट डा. रोशना अमात्य फेला पारियो । डा. रोशना वीर अस्पतालमा कार्यरत थिइन् । मैले टिचिङमा आउन आग्रह गर्दा उनले भनीन्, ‘मलाई सरकारले त्यहाँ जान दिदैन, यदि तपाईले यहाँबाट मलाई छोडन लगाउने व्यवस्था मिलानुभयो भने म टिचिङमा आउन तयार छु ।’

टिचिङ अस्पताल र वीर अस्पताल दुबै सरकारले नै चलाउने भए पनि टिचिङमा त्यतिबेला राजाको प्रत्यक्ष चासो रहन्थ्यो । टिचिङ अस्पताल एउटा राम्रो इन्स्टीच्यूट बनोस् भन्ने राजाको सदाशय थियो । त्यसैले हामीले वीरकी डा. रोशनालाई टिचिङमा ल्याउन दरबारसम्मको सोर्सफोर्स लगाउनु परेको थियो । वीर अस्पतालका प्रमुखले सुरुमा विरोध गरेको भए पनि दरबारबाट स्वीकृती पाएकाले हाम्रो प्रयास सफल भएको थियो । सरकारी जागीर छोडेर डा. रोशना टिचिङमा प्रोफेशर भएर आइन् । 

उनी आएपछि मेरो दिमागमा अर्को आइडीया फुर्‍यो । त्यत्रो अस्पतालमा एकजना एनेस्थेसीस्टले मात्र पुग्दैनथ्यो । क्यानडाका मेरा मित्र कनसल्टयान्ट मेलभिल कर त्यतिबेलै नेपाल आएका थिए । क्याडनाको ‘क्यालग्यारी युनिभर्सीटी’ले टिचिङ अस्पतालमा पढाउनका लागि आवश्यक परेमा अस्थाइ रुपमा आफ्ना प्राध्यापकलाई पठाउनसक्ने संकेत गरीसकेको थियो । अनि मलाई लाग्यो ‘एनेस्थेसीस्ट’ पनि नेपालमै किन तयार नगर्ने ? अनि त्यसबारेमा मैले डा. मेलभीले करसँग कुरा राखें । क्यानडा र नेपाल मिलेर नेपालमै त्यो कोर्स सुरु गर्ने कुरामा मेलकर सहमत भए । हाललाई एक वर्षमै हामीलाई चाहिने केही गाइनोकोलोजीस्ट र एनेस्थेसीस्ट नेपालमै तयार गर्ने योजना बन्यो । नेपालमै पाठयक्रम बनाउने, त्यो पाठयक्रम अनुसार नेपालमै पढाउने, क्यानडाको ‘क्यालग्यारी युनिभर्सीटी’बाट आएका प्रोफेसरले उनीहरुको परिक्षा लिने र त्यसमा पास हुनेलाई ‘डिप्लोमा सर्टीफिकेट’ दिने शिक्षण तालीका बनाइयो । हामीसँग मास्टर्स डिग्रीका लागि तिन वर्षसम्म पर्खिने समय नै थिएन । तत्काल कार्यक्षेत्रमा खटिने विशेषज्ञ डाक्टरहरुको खाँचो भइसकेको थियो । त्यसरी हामीले २०४१ मा विशेषज्ञ डाक्टर जन्माउने शिक्षा पनि नेपालमा सुरु गरेका थियौं र नयाँ तौरतरीका अपनाएर त्यो बेलाको खाँचो पुरा गरेका थियौं । 

पहिलो वर्षमै हामीले चार जना त्यस्ता दक्ष जनशक्ति उत्पादन गरेका थियौं । त्यसैलाई निरन्तरता दिई दुई तिन वर्षपछि हामीले स्टाण्डर्ड पोष्ट ग्राजुयटका रुपमा मास्टर डिग्रीको पढाई सुरु ग¥यौं । अनि त मुलुकमा एनेस्थेसीस्ट र गाइनाकोलोजिस्टको कुनै अभाव भएन । अहिले त हरेक विधामा नेपालमै पोष्ट ग्राजुयट डिग्री हासील गर्न सकिन्छ । निजी क्षेत्रमा पनि थुप्रै अस्पताल खुलीसके र तिनलाई चाहिने जनशक्ति अहिले स्वदेशमै तयार हुन्छन् ।    

भिष्म उद्यानः सन् १९८५ मै राजा विरेन्द्रबाट शिक्षण अस्पतालको विधिवत समुद्घाटन भयो । सो समुद्घाटन समारोहमा रानी ऐश्वर्य र देशका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको समुपस्थिति थियो । राजा रानीबाट भएको करीब दुई घण्टा लामो त्यो अस्पताल अवलोकन र उदघाटनको सम्पूर्ण कार्यक्रमको मैले नै कन्डक्ट गरेको थिएँ । राजा रानीबाट मेरो भूमिकाको प्रशंसा गरियो । ‘यस्तै असल कार्यलाई निरन्तरता दिइरहन’ मलाई राजाबाट उत्साह प्रदान गरिएको थियो । 

ऐतिहासिक शिक्षण अस्पतालको स्थापना र चिकित्सा शिक्षामा मेरो भूमिकाको कदर गरेर नै अस्पताल अगाडी निर्मित बगैचाको नाम राखियो–भिष्म उद्यान । त्रिविविले राजा विरेन्द्रको ४३ औं जन्मोत्सवका अवसरमा ‘भिष्म उद्यान’ घोषणा गरेपछि मलाई लाग्यो, यो देशको लागि मबाट भएको योगदानको देशले पनि कदर गर्‍यो ।’

अस्पतालको निर्देशकको कार्यकाल दुई–दुई वर्षको हुने भनेर हामीले नै निर्देशीका बनाएका थियौं । कुनै निर्देशकले राम्रो काम गर्न सकेनन् भने उनलाई अनेक दोष लगाएर हटाउनुभन्दा दुईवर्षपछि स्वतः पदावधि सकिने नयाँ परीपाटी बसालेका थियौ । एक पटक कार्य अवधि पुरा भएपछि यदि उनको काम राम्रो भएमा बोर्डले फेरी उनैलाई नियुक्त गर्नसक्थ्यो । म दुई कार्यकाल अर्थात चार वर्षसम्म टिचिङ अस्पतालको निर्देशक भएँ । त्यतिबेलासम्म मेरो उमेर पचास वर्ष कटीसकेको थियो र अब कुनै हल्का काम गर्न चाहन्थें । मेरो शरीरले आराम पनि खोजीरहेको थियो, तर पूर्ण निष्कृयता भने हैन । अतः चिकित्सा क्षेत्रमै अली सहज काम गर्ने सोचले मैले निर्देशक पदबाट राजीनामा दिएँ ।  



नयाँ