- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रोल्पा। रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ७ गैरीगाउँ अन्तर्गत पर्ने मैतेगातिना नजिकै उजेरी खोला भन्ने स्थानमा बिहीबार बेवारिसे अवस्थामा रहेको बम विस्फोटमा परी गाईबस्तु चराउन गएका ४ जना बालबालिकाको निधनप्रति नेपाली कांग्रेस रोल्पाले दुख व्यक्ति गरेको छ।
कोरोना भाइरसले विश्वव्यापी रुपमा मानवजातिलाई आतंकित बनाइरहेको बेला भएको यो घटनाले आम जनमानसमा त्रास सिर्जना गरी भयभित समेत बनाएको रोल्पा कांग्रेसले जनाएको छ।
रोल्पा कांग्रेस सभापति अमरसिंह पुनले एक विज्ञप्ती निकाल्दै नेपालमा तत्कालीन माओवादीले चलाएको सशस्त्र विद्रोहलाई शान्तिपूर्ण रुपमा समाधान गरी देश शान्ति प्रकृयामा आएको दशक बितिसक्दा पनि रोल्पा जिल्लाका बिभिन्न ठाउँमा हरेक वर्ष बेवारिसे बम भेटिने जनधनको क्षती हुने गरेको विडम्वना रहेको बताए।
संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले तत्कालीन समयमा हातहतियार व्यवस्थापन गरेको भएता पनि गाउँघर र जंगलहरुमा लुकाइछिपाई राखेका यस्ता बिस्फोटक पदार्थहरु बेलाबेलामा भेटिनुले बिभिन्न ठाउँहरुमा अझैसम्म पनि बम तथा विस्फोटक पदार्थ रहेको अनुमान गर्न सकिने जनाउँदै पुनले आफ्नो विज्ञप्तीमा त्यस्ता सम्भावित ठाउँहरुको पहिचान गरि वेवारिसे बमहरु निष्क्रिय पार्ने अभियान चलाउन नेपाल सरकारसँग माग गरेका छन्।
विहिवारको विभत्स घटनामा परी दिवंगत भएका त्रिवेणी गाउँपालिका वडा नं ४ छेप निबासी लक्ष्मण नेपालीका छोरा वर्ष १३ का गौरव नेपाली, त्रिवेणी गाउँपालिका ७ मैतेगातिना बस्ने ओजबहादुर डाँगीको छोरा वर्ष १४ को नोखिराम डाँगी, त्रिवेणी गाउँपालिका वडा नं ७ मैतेगातिना बस्ने लालबहादुर केसीकी छोरी वर्ष ११ की विमला केसी र निजकै छोरा वर्ष ५ को विजय केसीलाई सरकारले सशस्त्र विद्रोहका बेला निधन भएका व्यक्ती सरह नै शहिद घोषणा गर्न पुनले माग गरेका छन्।
पुनले पिडित परिवारलाई शहिद परिवारलाई झै यथाशिघ्र क्षतिपूर्ती दिन सरकारसंग जोडदार माग गरेका छन्।