arrow

जिल्ला विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री सहयोग

logo
रासस,
प्रकाशित २०७७ वैशाख २० शनिबार
kavre-distric.jpg

बनेपा। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाजले संयुक्त रुपमा स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकमार्फत उपलब्ध गराइएको सामग्रीमा एक हजार ५०० जोर पञ्जा, पुनःप्रयोग गर्न मिल्ने पाँच हजार ८३० थान मास्क, स्यानिटाइजर र ज्वरो मापनयन्त्र रहेको छ। उक्त सामग्री जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई शुक्रवार हस्तान्तरण गरेको अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका कोषाध्यक्ष जेनकुमार लामाले बताए।

उनले भने, “कोरोना भाइरस सङ्क्रमण रोमथाम तथा नियन्त्रणका लागि खटिने सुरक्षाकर्मी र जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीका लागि सहयोग गर्न संस्थाका सदस्यहरुले व्यक्तिगत खर्चमा सो सामग्री खरिद गरी हस्तान्तरण गरेका हौं।” सो अवसरमा प्रजिअ तिमिल्सिनाले प्राप्त सामग्रीले महामारीविरुद्ध दिनरात खटिरहने कार्यमा थप मद्दत पुग्ने बताए।

यसैबीच उक्त संस्थाले शुक्रबार नै नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। अत्यन्त जोखिमपूर्ण अवस्थामा पनि सूचना, समाचार सम्प्रेषणलगायतका काममा अहोरात्र खट्ने सञ्चारकर्मीहरुका लागि मास्क ५० थान र १०० एमएलको स्यानिटाइजर ५० बोतल महासङ्घका शाखा अध्यक्ष मोतिराम तिमल्सिनालाई हस्तान्तरण गरेको समाजका कोषाध्यक्ष लामाले बताए।

यसैगरी काभ्रे उद्योग वाणिज्य सङ्घ बनेपाको समन्वयमा निर्माण सामग्री व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकले एक हजार थान सर्जिकल मास्क जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ।

अन्तर्राष्ट्रिय मजदुर दिवसमा मजदुरलाई राहत वितरण

बन्दाबन्दीका कारण समस्यामा रहेका मजदुरलाई १३१ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ बनेपा नगर समितिको पहलमा राहत वितरण गरेको छ। महासङ्घको समन्वयमा द बर्गर हाउस बनेपाले उपलब्ध गराएको खाद्यान्न दैनिक ज्यालादारीमा काम गरेर परिवार पाल्दै आएका १५ परिवारलाई सो राहत सामग्री वागमती प्रदेशसभा सदस्य बसुन्धारा हुमगाईँले वितरण गरेकी हुन्।

लकडाउनले दैनिक कामकाज गरेर पेट पाल्ने परिवारको काम नहुँदा भोकभोकै बस्नुपर्ने अवस्था नरहोस् भनेर मजदुरलाई राहत वितरण गरिएको द बर्गर हाउसका सञ्चालक अर्जुन लामाले बताए। मजदुर परिवारलाई १५ केजी चामल, दुई केजी दाल, खानेतेल, नुन र साबुन वितरण गरिएको छ।

कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण दैनिक गुजारा गर्नुपर्ने मजदुरहरुमा खाद्यान्न अभाव भएकाले महासङ्घको पहलमा बनेपा नगरभित्र रहेका मजदुर परिवारलाई विभिन्न चरणमा राहत वितरण गर्दै आएको महासङ्घ बनेपा नगर समितिका इञ्चार्ज राजन अधिकारीले बताए।

यसैबीच नेपाली काँग्रेस सम्वद्ध नेपाल ट्रेड युनिय काँग्रेस काभ्रे जिल्ला समितिले चियापान कार्यक्रमको आयोजना गरेको छ। काँग्रेस श्रमिक तथा मजदुर विभाग संयोजक शिवप्रसाद हुमागाईले कुनै पनि दलविशेषको रूपमा नहेरी आमरूपमा एकताबद्ध भएर अहिले महामारीविरुद्ध लड्न आवश्यक रहेको बताए। कोरोनाविरुद्धको लडाइँ र स्थानीय सरकारले गरेको काममा एकताबद्ध भएर लाग्न उनले पार्टी मातहतका सबै सङ्घ–सङ्गठनलाई आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ