arrow

प्रदेश नं १ मा थप पिसीआर ल्याब सञ्चालन, दैनिक ३०० को परीक्षण गर्न सकिने

logo
रासस,
प्रकाशित २०७७ वैशाख २० शनिबार
corona-pcr-lab.jpg

विराटनगर। विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ। प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताए। उनले कोभिड–१९ परीक्षणको मात्रा बढाउँदै लगेको बताए।

मन्त्री घिमिरेले प्रयोगशालामा दैनिक २० जनासम्मको परीक्षण गर्न सकिने उल्लेख गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्षमता विस्तार गरी १०० बढी र कोशी अस्पतालमा २०० जनासम्मको परीक्षण गर्न सकिने जानकारी दिए।

सो ल्याबको परीक्षणमा कोभिड–१९ को पोजेटिभ रिपोर्ट आएमा पुनः कोशी अस्पतालमा परीक्षण गरिने प्रदेश नं १ जनस्वास्थ्य प्रयोशालाका निर्देशक जयवेन्द्र यादवले बताए। उक्त ल्याबबाट यसअघि वर्डफ्लु, स्वाइनफ्लु, एन्थ्रेक्सको परीक्षण हुँदै आएको उनले बताए। प्रदेश सरकारले पिसीआर मेसिन र किट उपलब्ध गराएपछि प्रयोगशालाबाट स्वाब परीक्षण शुरु गरिएको हो। 
    
कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण
सामाजिक विकासमन्त्री घिमिरेलाई कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारार्थ बिरामीका लागि आयुर्वेद औषधि व्यवसायी सङ्घ नेपालले शुक्रबार औषधि हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिश गरेका चार प्रकारका औषधि सङ्घका अध्यक्ष जगराज गिरीले हस्तान्तरण गरेका हुन्। च्यावनप्रास अश्वगन्धा चुर्ण, गिलोय प्लस र तुलसी चिया हस्तान्तरण गरेको सङ्घले जनाएको छ।

सो अवसरमा मन्त्री घिमिरेले बिरामीका लागि प्रयोगमा ल्याउन कोभिड–१९ उपचार केन्द्रका चिकित्सकसँग समन्वय गर्न व्यवस्थापन समितिलाई निर्देशन दिए। 

ज्येष्ठ नागरिकलाई औषधि र खाद्यान्य सहयोग 
नेपाल औषधि व्यवसायी सङ्घ मोरङले वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई शुक्रबार औषधि तथा खाद्यान्य  सहयोग गरेको छ। सङ्घले मोरङको बूढीगङ्गा गाउँपालिका–१ पुष्पलालचौकस्थित महिला जागृति आश्रमका ज्येष्ठ नागरिकलाई  एक महिनासम्म पुग्ने औषधि र खाद्यान्न सहयोग गरेको हो। लकडाउनको समयमा आश्रममा रहेका वृद्धालाई औषधि खरिद गर्न समस्या भइरहेको अवस्थालाई ध्यानमा राखी औषधी र खाद्यान्न सहयोग गरेको औषधि व्यवसायी सङ्घ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए।

आश्रममा रहेका दुई दर्जन ज्येष्ठ नागरिकलाई एक महिनासम्म दीर्घरोगको औषधि, भिटामिन, आँखाको औषधि र खाद्यान्न सहयोग गरेको बताइएको छ। सङ्घले यसअघि पनि विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई औषधि, स्यानिटाइजर र आठ वटा ग्यासको सिलिन्डर सहयोग गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ