arrow

देशको प्रमुख ‘दुश्मन’ कोरोना -प्रधानमन्त्रीको ‘प्रधानशत्रु’ भने पत्रकार !

(लकडाउन डायरी – पृष्ठ ११)

logo
केदार सुवेदी, 
प्रकाशित २०७७ वैशाख २१ आइतबार
pmnew31.jpg

देशमा लकडाउन चलिरहँदा पनि प्रधानमन्त्रीबाट सबैभन्दा धेरै निसानामा परेको क्षेत्र र पात्र रह्यो सञ्चार माध्यम अर्थात सञ्चारकर्मी –पत्रकार । यसलाई उनले ‘स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने’ तत्व भनेर विल्ला लगाइदिए र ‘सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनता’ लाई यसका विरुद्ध प्रतिकारमा उत्रन सार्वजनिक आह्वान गरे । यो भनेको यतिबेला प्रधानमन्त्रीका लागि ‘प्रधानशत्रु’ भनेको प्रेस–पत्रकार हो ।

यता देशले भने आफनो प्रमुख शत्रु कोरोना भाइरसलाई मानेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारका विरुद्ध प्रतिकारमा उत्रन आह्वान गरेका ‘आम नेपाली जनता’ पनि सकेसम्मको हतियार बोकेर कोरोना विरुद्ध नै लडिरहेकोछ । त्यसलाई प्रधानमन्त्रीले नजरअन्दाज गरे ।   

यो आरोप होइन, विवरणलेनै त्यस्तै भन्छन् । बन्दाबन्दीका मध्ये बाइसवटा दिनमा उनले सबैभन्दा बढी, कतिसम्म भने, आफनो प्रधानमन्त्रित्वकै राजीनामा मागिरहेकाहरुका बारेपनि मौन बसेर यो बीचका हरेक सम्वोधनमा पत्रकारले गरेका रिपोर्टलाई ‘कूप्रचार’ को संज्ञा दिए भने स्वाभाविक छ त्यस्तो रिपोर्ट गर्नेहरु ‘कूप्रचारक’ नै भए । बैशाख १९ गतेको श्रमिक दिवसमा  श्रमिकहरुलाई  शुभकामना दिएको उनको यतिबेलासम्मको पछिल्लो सम्वोधन हो । 

यसमा त उनले पहिले त्यस्तै केके आरोप लगाइरहेको अवस्थाबाट एकैपटक धेरै कदम अघिबढेर देशको प्रधानशत्रु नै पत्रकार अर्थात सञ्चारमाध्यम रहेको सन्देश दिन खोजे । कम्युनिष्टहरुका दस्तावेजमा पहिलो निसानीमा राखिएकालाई प्रधानशत्रुको संज्ञा दिनेगरेको पाइन्छ । त्यसपछि त्यसका विरुद्ध भएजति शक्ति खन्याएर प्रहार गर्न थालिन्छ । यो दिन विहान प्रधानमन्त्रीले दिएको यो शुभकामना सन्देशमा यो क्षेत्र (सञ्चार माध्यमहरु) लाई  ‘प्रधानशत्रु’  मानेर त्यसका विरुद्ध ‘सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनता’ मिलेर प्रतिकार गर्न आह्वान भएको बुझाउन खोजियो । 

शुभकामनाको त्यो अंश 

ओली प्रधानमन्त्री मात्र नभएर सत्तारुढ दलका अध्यक्ष पनि हुन् । यी दुवै पदबाट बैशाख १९ गते विहान श्रमिकहरुको दिवसमा उनले दिएको यो शुभकामनाले यो क्षेत्रका श्रमिकहरुमा भने भय उत्पादन गर्छ । शुभकामना भनिएको त्यो परिच्छेदको अंश –

‘आज नेपालका केही सञ्चार माध्यमहरू र सामाजिक सञ्जालहरूमा पनि स्थिरता, स्थायित्व र विकासका विरूद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरूको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोना महामारीका विरूद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका त्यस्ता प्रयासहरू गरिनु दुःखद् कुरा हो । आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु, ।’

यो ठाउँमा प्रधानमन्त्रीको यो सम्वोधनले सबैभन्दाबढी ध्यान तानेको  कुरा हुनुपर्छ –   

पहिलो:  ‘स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने’ भनी त्यसो गर्ने पात्रको पहिचान भयो जो पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ता वर्ग परे । 

दोस्रो: ‘अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो’ अर्थात प्रधानमन्त्रीबाट नै यो ठूलो आपराधिक काम भएको भन्ने सार्वजनिक रुपमानै ठहर भयो ।

तेस्रो: ‘यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन’ भनी दण्डको प्रकार तोक्ने काम पनि भयो । यसलाई प्रधानमन्त्रीको आह्वान मानेर सरकारका अंग–प्रत्यंग, पार्टीका कार्यकर्ता र  जनता सबै प्रतिकारमा उत्रनु पर्ने भयो । 

कामना गरौं देशका कर्मकर्ताहरुका नाममा प्रधानमन्त्रीबाट आएको यो शुभकामना सन्देशले त्यस्तो प्रतिकारमै उत्रनपर्ने भन्ने र प्रधानमन्त्रीले शत्रु ठानेर ‘त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु,’ भनिएको कुराको पनि अन्यथा अर्थ नलागोस् ।

प्रेस विरुद्ध पहिलो प्रधानमन्त्री 

प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेद्र दाहालका अनुसार ‘अहिलेका प्रधानमन्त्री (केपीओली) प्रेसप्रति बढी नै क्रुद्ध देखिए । पञ्चायतदेखि अहिलेसम्मका प्रधानमन्त्रीहरुमा मिडियाप्रति खरो बोल्नेहरु थिए, तर यो तहमा आक्रोश पोख्नेहरुचाहिँ कोही थिएनन् । वास्तवमा ओली प्रेसप्रति मात्रै नभएर राज्यभन्दा बाहिरको प्रणालीसँग पुरै आक्रोशित छन् ।’ 

हुन पनि नेपाली प्रेसका बारे प्रधानमन्त्री ओली विगत लामो समयदेखि नकारात्मकनै थिए । त्यसका उदाहरण थुप्रै छन । लकडाउन घोषणा भएपछि माथि उल्लेख भएको यो उनको राष्ट्रका नामको तेस्रो सन्देश हो र यसका बीचमा यस्तै सन्देश जस्तो मान्नुपर्ने गरी उनका सम्वोधन जस्तौ थप दुइवटा अन्तर्वार्ता समेत जोडिए  २५ दिनको अन्तर (२५चैत्र १९ बैशाख) भित्र । यति थोरै दिनका यी पाँच बटा मन्तव्यका सबैमा नेकपाका यी अध्यक्ष र प्रधानमन्त्री ओलीले  ‘नेपालका सञ्चार माध्यमहरु’ माथि गम्भीर प्रहार गर्दैनै आइरहे । 

पहिले उनी एक प्रकारले गुनासो जस्तो गर्थे । (यी दिनमा उनले पत्रकारका बारे  कुनबेला के भने भन्ने छ ) पछिल्लो समय भने एक प्रकारले आक्रमणका लागि फायरै खोलिदिएको जस्तो देखियो  । पार्टीका तर्फबाट कार्यकर्तालाई र सरकारका तर्फबाट सरकारी संयन्त्र र आमनागगरिकलाई  सह्य हुदैन भनी प्रधानमन्त्रीले नै भनेपछि जुनसुकै बेला उनले आह्वान गरको यो ठाउँबाट नेपाली सञ्चार माध्यमको प्रतिकार सुरु भयो भने ? यो ठाउँमा पनि त्यस्तो नहोस भन्ने कामना गरौं तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीले ‘सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन’ भनिसकेपछिको अवस्थाको अर्थ के लाग्छ भन्ने आफै अनुमान गर्न सकिन्छ । 

नियोजित सम्वोधन 

प्रधानमन्त्रीको यो सम्वोधनको यो परिच्छेद  झुक्किएर परेका जस्तो देखिदैन । प्रधानमन्त्रीले लिखितरुपमा बाचन गरेको विवरणको भिडियो  बनेर माध्यमहरुमा आयो । प्रत्यक्ष प्रसारणमा कुनैकुरा चिप्लिए त्यसलाइ तत्काल सच्याउने अवसर हुदैन । तर यो ठाउँ त्यस्तो होइन । त्यसकारण यो कुरा प्रधानमन्त्रीबाट  भन्नै पर्ने लागेर भनिएको भन्ने बुझिएको हुनुपर्छ । 

जव प्रधानमन्त्रीले आफनो सरकार, आफनो पार्टीका आफना कार्यकर्ता र आमनेपाली जनतालाई स्वीकार्य नहुने कुरो लरतरो अवस्थामा कसैले नगर्ला । कुनै कुरा पार्टीलाई, कुनै सरकारलाई र कुनै चाहिँ आम नेपाली जनतालाई स्वीकार्य अस्वीकार्य हुनसक्त छ । तर यो ठाउँमा प्रधानमन्त्रीले नै सबैकालागि अस्वीकार्य भनेका छन । वास्तवमानै उल्लेख भएको ‘स्थिरता, स्थायित्व र विकासका विरूद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने’, काम भइएको हो कि होइन भन्ने निर्धारण प्रधानमन्त्रीले मात्रै गरेर हुन्छ ? भन्ने प्रश्नले पनि उत्तर पाएको छैन । यसको अर्थ प्रधानमन्त्री बलपूर्वक नै पत्रकारलाई आफनो ‘प्रधानशत्रु’ मा स्थापित गर्दैछन ।   

पहिलेको उदाहरण 

दोस्रोपटक सत्ता सम्हालेदेखि दोस्रो र तेस्रो महिनामै सरकारको नियत उदाङ्गो बन्न थालेपछि समाचार माध्यमले सरकरको यथार्थ उतार्न थालेका थिए त्यसपछि नै ओली सञ्चारमाध्यमप्रति निकै असहिष्णु, आलोचक बन्दै आएका हुन् । तर यसरी कार्यकर्ता र जनतालाई नै माध्यमहरुको प्रतिकारमा उत्रन भनी आह्वान भएको अर्थ लाग्ने गरी आएको सन्देश चाहि यो पटकमात्रै हो । यो बेलासम्म आइपुग्दा नपुग्दै उनले भन्नु नभन्नु धेरै भनिसकेका थिए सञ्चारकर्मीहरुलाई । प्रेसमा यस्ता टिप्पणी पटकपटक आइरहेका छन् । 

गएको  पुस २९ मा उनले सम्पादकहरूलाई ‘मुटु नभएका प्राणी’ भनेका थिए त्यो पनि पत्रकारसंग असम्वन्धित कार्यक्रममा । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।‘हामीले काम गरेका छौं । तर, अहिले यस्ता कामहरूको प्रशंसामा लेख्ने कलम छैनन् । यस्ता कामहरुको प्रशंसामा लेख्ने, प्रशारण गर्ने टेलिभिजन छैनन् । यस्ता काम प्रकाशित गर्ने पत्रपत्रिका छैनन् । यस्ता कामहरूको प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । कसैकसैले कतै कतै छ्यास्स छुस्स लेखिहालेछ भने त्यसले त्यहीँ गाली खान्छ– सरकारको दलाल भइस् कि क्या हो ? आलोचनात्मक चेत खै ? राम्रा कुरा गर्न थालिस्, बिग्रिइछस् । सकारात्मक कुरा पनि गर्न थालिस् । यस्तो भन्ने एउटा तप्का छ । जसलाई तथ्य मतलव छैन, निन्दा गर्नुलाई आलोचनात्मक चेत भन्छ ।’

यो दल भित्र गुट रहेको भनी पत्रकारले टिप्पणी गर्दापनि प्रधानमन्त्रीबाट गाली खानुपरेका उदाहरण छन । त्यसबेला यी कुरा यसरी आएका थिए – गत माघमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक बसेको थियो । केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीको धुवाँधार आलोचना भयो । अधिकांश केन्द्रीय सदस्यले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाए । त्यसको आक्रोशचाहिँ प्रधानमन्त्रीले सञ्चारमाध्यमलाई नै पोखे । १५ गतेदेखि १९ गतेसम्म चलेको बैठकमा समूहगत छलफलमा भाग लिए । यसकाबारे जस्ताकोतस्तै समाचार दिंदा प्रधानमन्त्रीले सञ्चारमाध्यमले गुटमा भाग लगाइ दिएको भन्दै आरोप लगाएका थिए । ‘हामीले यी पाँच दिनहरूमा बहुतै राम्रोसँग बैठक गरेका छौं, छलफल गरेका छौं र सम्पन्न पनि गरेका छौं । देशको अपेक्षा र जनताको अपेक्षाअनुसार पार्टी एकजुट र एकढिक्का भएर अडाडि बढेको छ । एकढिक्का छ भनेर अगाडि बढ्ने एउटा महत्त्वपूर्ण काम भएको छ । तर दुःखको कुरा हो– केही सञ्चारमाध्यमहरूले हामीलाई यताको भाग र उताको भाग भनेर अत्यन्तै अपमान गरेका छन् । हामी यसको गोठभित्र, त्यसको कटेराभित्र, उसको झुण्डभित्र परेका मान्छे होइनौं । हामी हरेक स्वतन्त्र (इन्डिपेन्डेन्ट) नेताहरू छौं, तर हामीलाई आआफ्नो स्वार्थमा मान्छेले यता र उता भनेर अखबारबाजी गर्ने, विभिन्न मान्छेका टाउका टाउका अन्तर्गत राखेर यताको भागमा यति टाउका, उताको भागमा उति टाउका भनेजस्तो गरेर अंशवण्डा गर्न खोजिएको छ । हामी देश निर्माणका लागि हिँडेको एउटा पार्टी र यसको नेतृत्वलाई एउटा झुण्डको वा यता र उताको भागमा बाँडेर प्रचार गर्नु उचित होइन । हरेक मान्छेसँग एउटा टाउको छ, मस्तिस्क छ, त्यसबाट विभिन्न विचारहरू आउँछन्, विभिन्न व्यक्तिका विचार फरक पर्न सक्छन् । त्यसमा छलफल हुन्छ र छलफलबाटै एउटा निष्कर्ष निस्कन्छ । अनि छलफल हुनेबित्तिकै वा विचारहरू आउनेबित्तिकै मान्छे भाग लगाउने वा भाग लगाएर अपमानित गर्ने यो गलत तरिका हो ।  फलानो मान्छे आफैँ स्वतन्त्र होइन, ऊचाहिँ फलानाको भागको हो भन्ने भान पार्ने, त्यस खालका कुराहरू गर्ने, अनुचित कुराहरू प्रचार गरिनुहुन्न । हामी पार्टीका कार्यकर्ता हौँ र पार्टीभन्दा बाहेक कोही व्यक्तिका पिछलग्गु होइनौं । त्यसो गर्नु पनि हुँदैन । सञ्चारमाध्यले पार्टी्भित्र उहिल्यैदेखि जीवित र निर्णायक रूपमा रहेको गुट, समूहबन्दीलाई प्रकाश पारिदिँदा अतिरञ्जित देखे । त्यसढङ्गले चित्रण गर्नु अत्यन्तै गलत र अपमानजनक कुरा हो । यो कुरा हामीले बुझेका छौँ, यो हाम्रो पार्टीले बुझेको छ, हाम्रो केन्द्रीय कमिटीले बुझेको छ, हाम्रो पार्टी पंक्तिले बुझेको छ र सिङ्गो देशले बुझेको छ ।’

प्रधानमन्त्रीको कुप्रचार आरोप  

‘हामीले कतिपय होटलमा जाँदा त्यहाँ एक प्रकारको धुन बजिरहेको सुन्छौँ । त्यो सुमधुर धुन हो तर नेपालमा एकथरि कर्कस धुन मात्र निकालिरहने समूह छन् । मैले पटकपटक भनेको छु ( मेरो र यो सरकारको भ्रष्टाचार विरुद्धको प्रतिबद्धताका बारेमा, म भ्रष्टार गर्दिनँ र हुन दिन्नँ भनेर । पहिले–पहिले भएका भ्रष्टाचारका मुद्दालाई यो सरकारले छानबिन र कारबाही गरेको हुँदा यही सरकारले भ्रष्टाचार गरेको भन्ने ढङ्गले कुप्रचार गर्ने गरिएको छ । 

त्यसका प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई जोडेर प्रचार गरिनु कर्कश धुन बजाउनु जस्तै हो। यो कुरा भ्रम सिर्जना गर्ने, जनता अल्मल्याउने र सरकारलाई असफल पार्ने मनसायबाट प्रेरित हुन् । वास्तवमा विचारहीन र आग्रहपूर्ण ढङ्गले जेमा पनि विरोध र दुष्प्रचार झुठ् र अमर्यादित प्रस्तुति गरिनु एकाध मान्छेको कर्कश धुन हो । 

बिजोग दृश्यमा रमाइलो मान्ने भन्दा पनि यसलाई रचनात्मक रूपमा समाधान गर्न लाग्न सकिन्छ । प्रहरीलाई थाहा नदिइ एकाएक धादिङको सडकमा केही यात्रु कसरी देखिए? अनि प्रहरी र सिडिओलाई थाहा नभएको घटनामा त्यहाँ पहिल्यै काठमाडौँदेखि पत्रकार कसरी पुगे ? के यो रहस्यपूर्ण छैन र !

त्यसकारण सञ्चारमाध्यमले पनि यस्तो स्थितिमा अघिल्लो दिन लिइएको भिडियो भोलिपल्ट देखाउनुभन्दा तत्कालै सूचना दिएर सहयोग गर्न सक्छ । सरकारलाई गालीको फेहरिस्तभन्दा छिटो सूचनाका माध्यमबाट सरकारलाई सूचना दिनु राम्रो । (६ बैशाख) 

ती सञ्चारमाध्यमहरूले गलत जानकारी प्रवाह गरेका हुन् ।  के उद्देश्यले त्यसो गरे थाहा छैन । मेरो सचिवालयको विरुद्ध त शुरूदेखि नै हमला छँदैछ । किनभने सचिवालयमा भएपछि मलाई सहयोग गर्नु स्वाभाविकै हो । मन्त्रिपरिषद्मा भएपछि मन्त्रीहरूले मलाई सहयोग गर्नु स्वाभाविकै हो । मेरा सहयोगीहरूमाथि (सञ्चार माध्यमबाट) हमला शुरूदेखि नै भइरहेकै हो । मेरो सचिवालयका सदस्यहरूको डिफेन्ड गर्‍यो भन्लान्, तर म के ठान्छु भने मेरो सचिवालयका सदस्यहरू त्यति कमजोर छैनन् कि मैले ढाल बनिदिनुपरोस, मैले डिफेन्ड गर्नु परोस् । तर, म कतिमात्रै भन्छु भने यो त मलाई सहयोगी हात बढाउने, मलाई सहयोग गर्ने, समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यमा समर्थन वा सहयोग गर्नेहरूमाथि केही तत्वहरूको निरन्तरको र निराधार हमला सदावहार रूपमा चलेकै छ । 

सचिवालयमा बसेर मेरो आलोचना गरेर, मलाई गुमराहमा राखेर असफल बनाउने भूमिका खेलिदिनुपर्थ्यो  भन्ने उहाँहरूको आग्रह होला । विभिन्न पत्रिका र सञ्चारमाध्यमका वा गलत राजनीतिक उद्देश्य बोकेकाहरूको सुलसुलेको रूपमा काम गरिदिनु पर्थ्यो, कुनै पनि निर्णयहरू वा कुनै पनि छलफल, सल्लाह, आदी कुराहरू संवाददाताको रूपमा सम्प्रेषण गरेर उनीहरूलाई मद्दत पुर्‍याइदिनुपर्थ्यो र देशविरुद्धको एउटा चक्रव्यूहका गोटी बनिदिनुपर्थ्यो भन्ने आग्रह हुनसक्छ । त्यो भएन, अनि रिसाए । (२ बैशाख )

..तर कामै गर्न नसक्ने र  प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ ।समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन ।’ (२५चैत्र) 



नयाँ