तागाः कर्णालीको अनौठो चाड

चन्द्र प्रसाद कोइराला, प्रकाशित मिति : २०७७ बैशाख २१ आइतबार
चन्द्र प्रसाद कोइराला र तागा

प्रत्येक बर्ष बैशाख १ गतेका दिन साबिकको कर्णाली अञ्चलका धेरै गाउमा अझै अस्तित्वमा रहेको  पर्बको नाम तागा हो जो आफ्नो पौराणीकता वोकी बाँचिरहेछ । देशका अन्य भुभागमा नयाँ बर्षको शुभकामना आदान प्रदान भईरहदा कर्णालीमा महिला मात्रले यो पर्ब अनौठो तरीकाले मनाइ रहेका भेटिन्छन् । कर्णालीमा यस प्रकारका धेरै परम्परा रहेका छन् जसले समग्र कर्णालीका खसको संयूक्त  पहिचान समेटेको पाइन्छ । अझै पनि यो क्षेत्रमा प्रचलनमा रहेका खस परम्पराको गहिरो अध्ययन हुनसकेको छैन । तीनै लोपन्मूख पर्ब मध्येको एक तागा पनि हो । तागाको ऐतिहासिक, सामाजिक, राजनैतिक र आर्थिक पाटोको अध्ययन बौद्धिक जगतको भएता पनि यस चाडको बारेमा बुझ्नु जान्नु हामी आम नागरीकको कर्तब्य पनि हो । बिशेतः यो महिलाले मात्र मनाउने चाड भएकाले यसको गरिमा अझ छुट्टै छ । 

तागा के हो?
तागाको अर्थ नेपाली शब्दकोशमा भनिएझैं धागो हो । नौ ओटा धागो र निश्चित संख्यामा गाँठोहरु भएको एक बित्ताको डोरीलाई तागा भनिन्छ । यो तागा मुख्यतया स्थानिय वोलिमा भनिने काँचो धागोबाट निर्माण गरिन्छ । “तागालाई मुगुमा तागो भन्निछ” भन्छन् खत्याड निवासी बिश्बराज बुढा “जुन महिलाले आफ्नो चोलोको खुटोमा बाध्ने चलन छ” । तर जुम्ला र कालीकोटमा भने पोतेमा बाध्ने चलन छ, जसलाई स्थानिय भाषामा लडि भनिन्छ । उक्त धागोको समूहमा दुइ किसीमका गाँठोहरु राखिएका हुन्छन् । गाँठोलाई निमार्ण स्थानका आधारमा हाते गाँठो र घुडि गाठो भनिन्छ । हातले बाँधेर बनाइने बिशेष प्रकारको बन्धनलाइ हाते गाँठो र घुडामा राखेर हातले गाँठो पारिने अर्को प्रकारको गाँठालाइ घुडि गाँठो भनिन्छ । “सामान्य हाते र घुडि गाठामा क्रमश ७ र ९ गाँठो रहन्छन” भन्छिन् तागा मनाउदै आएकी कालिकोट माहाबोईका महिला लक्ष्मीकला आचार्य । तागामा कपाल बाट्ने डोरीका झैं झुण्डीने फूर्का रहन्छन् । फुर्काेलाई कपास र रङको सहायताले आर्कषक बनाइएको हुन्छ । आधुनिकता सङ्गै तागामा पनि नयाँपन आएको पाइन्छ भन्छिन् जुम्ला सिंजाकी हरिकला उपाध्याय। उनका अनुसार “आजभोलि सात वटा रङको धागो प्रयोग गरि तागालाई झन् आकर्षक बनाइन्छ। 

तागा कसरी लाउने?
तागा लगाउने दिन बैशाख १ गते बिहान एकाघरका सम्पूर्ण बिबाहिता महिलाहरु नदीमा नुहाउन जान्छन्। नुहायर शुद्ध भए पश्चात पुनः गाईको दुध , तेल र दुबोले समेत शरीर स्नान गरि जिउलाइ शुद्ध बनाइन्छ । कतै कतै नदी किनार त कतै घर घरमा गाईको गोबरले लिपेर गोबरकै दुई वटा कुण्ड बनाइ गाईको दुध र पानी छुट्टा छुट्टै राखिन्छ । नयाँ निर्माण गरिएका तागालाई उक्त कुण्ड नजिक राखी फुल, दुबो, अक्षता र नैबेध राखी गायत्री मन्त्रको जप गर्दै पूजा गरेपछि तागा धारण योग्य हुन्छ। तागाको पूजा भने तागा लगाउने प्रत्येकले आफै गर्नु पर्ने हुन्छ । यसरि लगाउन बनाइएको तागा आफु भन्दा ठूलोबाट लगाइ माग्ने चलन छ । जस्तै जेठानि दीदीले देउरानिलाइ(बहुरानी) लगाई दिने चलन छ । तागा धारण गर्दा मागल (मंगल गान) गाउने गरिन्छ । उक्त पूजा बिसर्जन पछि पूजामा प्रयोग भएको फुल, अक्षता र पातिलाइ खोलामा सेलाउन अबिबाहित छोरी चेलीको आबश्यकता पर्दछ । त्यसदिन घरका छोरीलाइ टिका लगाई दक्षिणा दिइन्छ । यसरि तागा ग्रहण पछि खानपिन र देउडा शुरु हुन्छ र यो चाड समाप्त हुन्छ । त्यसरी लगाईएको तागा करिब ७ महिनासम्म धारण गरिन्छ ।

तागा बिसर्जनको पनि आफ्नै नियम छ  उक्त कार्यलाई तागा पुज्ने भनिन्छ । “बैशाख १ गते धारण गरेको तागा लाई कार्तिक ६ गते पूजा गरेर खोल्नु पर्दछ । जसलाई तागा पुज्ने भनिन्छ” जुम्ला बजार कि मनिसा आचार्य ले भनिन् । तागा खोलेर सफा ठाउँमा वा फुलेको बृक्षमा झुण्ड्याउने चलन छ ।

तागा पर्बको महत्व
तागा सामान्य आँखाले हेर्दा जनै पुर्णिमाको झैँ झझल्को आएपनि यस पर्बको प्रकिृती र महिला मात्रले मनाउने कारण तीजसँग समानता रहेको देखिन्छ । यस अर्थमा तीज र जनै पुर्णिमा दुबै पर्बको महत्व तागाले बोक्दछ।

“जसरी जनै पूर्णिमाको दिन पुरुषले शुद्ध भई नयाँ जनै लगाउने चलन छ, त्यसैगरि तागाको दिन महिलाले तागा धारण गर्दछन् । तागा भनेकै जनै हो” भन्छन् खस संस्कृतीप्रेमी रमेश रावल, “जो कर्णाली मात्रको बिशिष्ट बिशेषता हो । यस पर्बलाई कर्णालीमा महिलाहरुले पुरुषझैं समान अधिकार उपभोग गर्दै आएको एउटा ज्वलन्त उदाहरणको रुपमा हेर्न सकिन्छ” उनले भने । 

इतिहासका अलिखीत पाना पल्टाउदा यो पर्ब न्यायपुर्ण लैङगीक मैत्री समाज निर्माणका लागी कोशेढुङगो साबित भएको प्रतित हुन्छ । तागा लागेकै कारण महिलाले भान्छाको अधिकार पाएको सजिलै अनूमान गर्न सकिन्छ । तागा प्रचलन हालको कर्णाली प्रदेश तथा सुदुरपश्चिमका जिल्लामा अझै कतै कतै छदैछ । सुदुर पश्चिमको तागा करिब करीब हराइसकेको र हराउनु दुखको कुरो मान्नु हुन्छ बझांगका संस्कृति प्रेमी रंगलाल महत तर बैतडीमा अझै जीवितै रहेको उनको  भनाइ छ । यो चाडको बिशेषता भनेकै बिबाहित महिलाले मात्र मनाउने खस परम्परा हो । त्यस्तै कतै कतै “मगनी भएको अबस्थामा भने दुलाह पक्षले दुलहीलाई उनैको माइतीमा गई तागा पुर्याउने चलन पनि छ” भन्छिन् जुम्ला कि प्रमिता देबकोटा । तसर्थ यो कर्णालीको बिशिष्ठ परम्परा हो जँहा महिलालाई तागाधारि पुरुष समान अधिकार दिएको छ ।

यो चाड ब्राह्मण र क्षेत्रीले  बिशेष रुपामा मनाए पनि दलितमहिलाले मनाएको भने पाइदैन तर “तागाको दिन दलित महिलाले तागा मान्ने घरमा गई माग्ने चलन भने थियो” कालिकोट मान्मकि दुधा पाण्डेको कथन छ । “परापुर्ब कालमा तागा सबै जातिहरुले मनाउने गरेको तर पछी दलित महिलाले गैर दलित महिलालाई बेचेको चाडको रुपमा आफ्ना हजुर आमाले सुनाएको र त्यसकै ब्याज माग्न तागाका दिन बाली माग्न आउने चलन रहेको” उनको भनाइ छ । यो पर्ब मार्फत कुनै समय दलित र गैर दलितको बिचको भेदभाव नरहेको सजिलै अनुमान गर्न सकिन्छ । 

तिजको जस्तै आफ्नो लोग्नेको दिर्घायुको लागि मनाइने भनिएको यो चाडमा भोको भने बस्नु पर्दैन । “नत लोग्नेको खुट्टाको जल खानु पर्दछ, यो चाड मनाँउन लोग्ने घरमै हुनु पर्दछ भन्ने पनि छैन” भन्छिन जुम्ला बोहरा गाँउकी प्रमिता देबकोटा। त्यसैले तिज भन्दा यो चाड महिला प्रधान रहेको उनको बुझाइ छ । 

तागा पूजाआजाको चाडबाड मात्र नभइ देउडा गितको पनि पर्ब हो । यस पर्बमा दिदी बहिनीहरु चौरमा जम्मा भई देउडा खेलि रमाइलो गर्छन् । साथै “टम्म गहना लगाई आर्कषक लुगामा सजिएर देउडा गीतका रसमा बगेर देउडा खेल्न र हेर्न पनि निकै रमाइलो हुन्छ” भन्छिन् तिला गापा जुम्लाकी देबीदरा रोकाया । चामलको लगड र पुवा भने यस चाडका बिशेष महत्वका खानेकुरा हुन् ।   

तागा पुरुष जत्तिकै महिलाको हैसियत दिने महिलाको चाड हो। आज यसको अध्ययननै नभइ हराउदै छ। आयातित चाडहरुले पौराणिक चालचलन खतरामा छन्। यस्ता धेरै परम्पराहरु कर्णालीमा छन् जस्ले अहिलेको आधुनिक संसारले निम्त्याएको जटिलताको बैज्ञानिक तवरले हल गर्न समेतको हैसियत राख्दछ । त्यसैले ति सम्पदाको अध्ययन, अनुसन्धान तथा संरक्षणको आवश्यकता छ।

सम्पर्कःcpkoirala@gmail.com  

नयाँ