२० औ वार्षिकोत्सवमा सातै प्रदेशका असहाय बृद्ध–बृद्धा, महिला तथा अनाथ बालबालिकालाई सहयोग हस्तान्तरण
प्रकाशित २०७७ वैशाख २१ आइतबार
524
Shares
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सातै प्रदेशमा असहाय बृद्ध–बृद्धा, महिला तथा अनाथ बालबालिकालाई सहयोग गरेको जनाएको छ ।
वि.स. २०५८ साल देखि बीमित, सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा आएको जनाएको छ । २० औं वर्ष प्रवेश गरेको अवसरमा कर्मचारीहरुको तर्फबाट ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु सहयोग स्वरुप प्रदान गरेको जनाएको छ ।
जस अन्तर्गत प्रदेश नं. १ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं. १ कोरोना जनसुरक्षा कोष’ मा रु. १ लाख २१ हजार रकम प्रदान गरेको छ । त्यसैगरी प्रदेश नं. २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न, अत्यावश्य वस्तुहरु, लत्ता कपडा, पानी ट्यांकी, पंखा, इन्भटर लगायतका सामाग्री सहयोग गरेको जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धीत प्रदेश भित्र रहेको विभिन्न अनाथाश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरु प्रदान गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरुले उक्त सहयोग गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस अघि नै कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. १ (एक) करोड रकम योगदान गरिसकेको छ ।
२० औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले बीमा समिति, बीमित, शेयरधनी, सञ्चालक समिति, नियमनकारी निकाय लगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालाहरुलाई हार्दिक कृतज्ञताका साथै धन्यवाद दिएका छन् ।
रातपछि सधैं नयाँ विहानी आउने हुनाले अहिलेको चुनौतीपूर्ण अवस्थाबाट पनि मानव जीवनले धैर्यताका साथ एकजुट भै अगाडि बढेमा विजय प्राप्त गर्ने कुरामा सबै विश्वस्त हुनु पर्ने प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए ।
सञ्चालक समितिका तर्फबाट नेपाल लाइफका अध्यक्ष गोविन्द संघईले सबैलाई धन्यवाद दिनुका साथै आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गरेका छन् ।
समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको जनाएको छ ।
हाल नेपाल लाइफले जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको छ । २० वर्ष प्रवेश गर्दा नेपाल लाइफको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ८६ अर्ब ३३ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ८२ अर्ब रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ६० करोडभन्दा बढी रहेको छ । १ लाख ५४ हजार ५ सय ६ जना प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको बताएको छ । हालसम्म स्वदेश र विदेशमा गरी २७ लाख ३६ हजार ३ सय ११ व्यक्ति यस कम्पनीमा बीमित भइसकेको बताएको छ ।