दाङ जिल्लालाई पूर्णरुपमा बन्द गर्न तुलसीपुर उद्योग वाणिज्य संघको अनुरोध
शरद रेग्मी,
प्रकाशित २०७७ वैशाख २२ सोमबार
919
Shares
तुलसीपुर। कोरोना रोग नियन्त्रण गर्दै संक्रमणबाट बच्न तुलसीपुर उद्योग वाणिज्य संघले दाङ जिल्लालाई पूर्ण रुपमा लक गर्न सुझाव दिएको छ । छिमेकी जिल्ला वांके र रुपन्देहीमा कोरोनाका संक्रमीतहरु देखिए पछि दाङ जिल्लालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने सन्दर्भमा आज सोमवार वाणिज्य संघले आयोजना गरेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा बसेको बैठकले जिल्लामा भोली हुन सक्ने संभावित क्षती र सक्रमणलाई नियन्त्रण गर्न समय मै सबै संयन्त्र परिचालन गर्न समेत स्थानिय सरकार , प्रदेश सरकार र जिल्ला प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
वाणिज्य संघले जिल्लामा सरकारी र निजी स्वास्थ्य संस्था र अस्पतालको अवस्था सुधार गर्न र जिल्ला मै विरामी रिफर गर्ने वातावरण तत्काल मिलाउन समेत सम्वन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको छ । साथै बैठकले दाङ भित्रिने सबै नाकाहरु सिल गरेर स्वास्थ्यकर्मी सहितको सुरक्षा हेल्पडेक्स तत्काल स्थापना गर्न समेत सुझाव दिएको छ ।
साथै बैठकमा अति आवश्यक खाद्यान्नका पसलहरु मात्र संचालन गर्न र अनावश्यक रुपमा वजारमा भिडभाड नगर्न सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई अपिल समेत गरेको छ ।
साथै बैठकमा बोल्ने सदस्यहरुले जेष्ठ नागरिकहरुले वृद्धभत्ता लिन आउदा वजारमा सामाजिक दुरी कायम नगरी एकै ठाउंमा भिडभाड बढेको भन्दै तत्काल आवश्यक व्यवस्थापन गरी समस्या समाधान गर्न स्थानीय सरकार प्रमुख , सुरक्षा प्रमुख र बैंक मेनेजरहरुको ध्यानाकर्षण गराएको छ । सम्बन्धीत वडा बाटै बृद्धभत्ता वितरण गर्ने वातावरण श्रृजना गर्न समेत तुलसीपुर उद्योग वाणिज्य संघले उपमहानगरपालीका र गाउंपालीकाहरुलाई अनुरोध गरेको छ । बैठकले लामो लकडाउनका कारण व्यवसायीहरु मारमा परेको भन्दै घरमालिकहरुलाई लकडाउन अवधिभरको घर भाडा मिनाह गर्न समेत अनुरोध गरेको वाणिज्य संघका महासचिव रुप वहादुर खत्रीले जानकारी दिएका छन् ।
त्यसैगरी बैठकले लकडाउनका कारण उद्योग धन्दा बन्द भएको भन्दै बैंक व्याज मिनाह र छुट पाउने व्यवस्था मिलाउन नेपाल उद्योग वाणिज्य महासंघ मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको छ । यता तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाईमा यस क्षेत्रका दर्जन वढी सामाजिक संघ संस्थाहरुको आयोजनामा तुलसीपुरमा पैदलयात्रीका लागि संचालन गरेको खाना , आवास र यातायातको सुविधा अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव र सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष विमल रिजाल, सल्लाहकारहरु सुरेश हमाल, नारायण प्रसाद खनाल, प्रेस सल्लाहकार शरद रेग्मी वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालिसे लगायतले दाङ जिल्लालाई सुरक्षीत र संक्रमण वाट जोगाउन सबैले आ–आफ्नो तर्फवाट सहयोग गर्नु पर्ने बताएका थिए ।