- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का महासचिवमा डा भरतराज गौतमलाई नियुक्त गरेकी छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा गौतमलाई महासचिवमा नियुक्त गरिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम डा गौतमलाई सङ्घीय संसद्का महासचिवमा नियुक्त गरिएको हो । डा गौतम साविक लामाचौर–५ कास्कीका स्थायी बासिन्दा हुन्।
डा गौतम वरिष्ठ सचिवका रुपमा सङ्घीय संसद् सचिवालयमा कार्यरत थिए। विसं २०५१ चैत २१ गते शाखा अधिकृतका रुपमा संसद् सेवामा प्रवेश गरेका उनले जनप्रशासनमा ‘गोल्ड मेडलिस्ट’ हुनाका साथै त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।
नवनियुक्त महासचिव गौतमले सङ्घीय संसद्को प्रशासनिक प्रमुखका रुपमा समेत जिम्मेवारी सम्हाल्नेछन् । मङ्गलबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि उनले कार्यभार सम्हाल्नेछन् ।
तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईको दुई कार्यकाल पूरा भएपछि कार्यवाहकका रुपमा सचिव गोपालनाथ योगीले जिम्मेवारी सम्हालेका थिए ।