arrow

नेपालगञ्ज बिहान ११ बजेदेखि निषेधित क्षेत्र, कोरोनाका कारण अन्य पालिकाले बढाए दूरी

logo
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
nepaljung-corona-victim.jpg

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले मंगलबार बिहान बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ । 

बैठकले सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले सुरक्षा र  स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । 

आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र  राजमार्ग रोक्ने कार्य कोहीकसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने निर्णय भएको छ ।

सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र  खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको छ ।  

नेपालगञ्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काको भनाइ छ ।

अझै ३५ जनाको परीक्षणको नतिजा आउन बाँकी छ । स्वाब परीक्षणपछि संक्रमितको संख्या यकिन हुनेछ । 

 उपमहानगरसँग अन्य पालिकाले बढाए दूरी
कोहलपुर–कोरोना संक्रमित भेटिएपछि  उपमहानगरपालिकासँग छिमेकी पालिकाले दूरी वढाएका छन् । दुई दिनमा मानिसमा कोरोना संक्रमण देखिएपछि छिमेकी नगरपालिका र गाउँपालिकाले आवतजावतमा पूर्ण रोक लगाएका छन् ।
 
लकडाउन कडा बनाउनाका साथै दक्षिणतर्फ भारतको सीमा नाका, उत्तरतर्फ कोहलपुर र राप्ती सोनारी गाउँपालिका तथा पश्चिमतर्फ सीमा जोडिएको  उपमहानगरपालिका क्षेत्र पूर्ण रुपमा बन्द गरिएको डुडुवा गाउँपालिकाअध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।
 
यसैगरी जानकी र खजुरा गाउँपालिकाले नेपालगञ्जतर्फका नाका बन्द गरेर केही समयका लागि नेपालगञ्ज आवतजावतमा रोक लगाएका छन् ।  सबै पालिकाले अत्यावश्यक कामबाहेक आवतजावत रोकिएको जनाएका छन् । नेपालगञ्जतर्फबाट आउने तरकारीलगायत खाद्य वस्तुलाई प्रवेशमा रोक लगाइएको छ । 

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन माइकिङ गरी सूचना जारी गरिएको र नयाँ मानिस कहीँकतै फेला परेमा क्वारेन्टाइन पठाउन भनिएको स्थानीय समाजसेवी एवं पूर्वप्रहरी निरीक्षक ढाकाराम खत्रीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ