- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लण्डन । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो ।
केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिए ।
पर्वत चारभञ्याङमा जन्मिएका गुरुङ अध्ययन गर्ने रहर हुँदाहुँदै कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती भएका थिए ।
पछि बीचैमा जागिर छाडेर नेपाल फर्किएका थिए । उनले पुनः औपचारिक अध्ययन गरी विसं २०२७ मा एसएलसी उत्तीर्ण गरेका थिए ।
स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गरेका थिए ।
बेलायतमा असल समाजसेवीका रूपमा चिनिएका गुरुङले थुप्रै सामाजिक काम गरेका थिए । उनकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्छन् । गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आइरहेका थिए ।
हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ ।