बिराटनगरको भन्सारमा बरामद एक करोड ९ लाखले खोल्यो पोल
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
468
Shares
मोरङ। लकडाउनकै बेलामा पनि भइरहेको तस्करी र त्यसको रकम तिर्ने प्रक्रियाको एउटा उदाहरण मंगलवार विराटनगरस्थित भन्सारको एकिकृत जाँच चौकीमा देखिएको छ।
भारतीय नम्वरको टाटा ४०७ मोडलको WB73E7635 गाडी भन्सारको एकिकृत जाँच चौकीको भारतीय पक्षबाट नेपालको ढोका छिर्ने क्रममा तस्करीको एउटा नमुना देखिएको हो।
स्यानिटाइज गर्ने क्रममा रहेको ड्राइभरसँगै रहेको क्याविनमा रहेको जुटको बोरामा सिलाएको अवस्थामा रहेको एक कार्टुनले तस्करीको अनौपचारिक च्यानलको भण्डाफोर समेत गरेको छ।
भारतको सिलिगढी गंगानगर वडा नं ५ बस्ने २४ वर्षिय चालक रवि कुमार शर्मा र भारत कैमजहपुर विहार रोउति मिया बडा नं १२ बस्ने १८ वर्षिय पप्पु कुमार रहेको सो सवारीबाट एक करोड ९ लाख ७४ हजार भारतीय रुपैयाँ समेत बरामद भएबाट लकडाउनकै बेलामा पनि भइरहेको तस्करीको एउटा कुरुप पाटो उजागर भएको हो।
सवारी साधनको स्यानिटाइज गर्ने क्रममा क्याविनमा रहेको सिलाएको जुटको बोरामा शंका लागि सशस्त्र प्रहरीले सोध्दा चालकले चियापत्तीको लेभल भनेर भनेपनि वास्तविकतामा फरक दृश्य देखिएपछि सबै चकित परेका थिए।
बोरामा राखेर कस्ले पैसा पठायो भन्ने बारेमा अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली र भन्सारका कर्मचारीहरु छानविन र अनुसन्धानमा जुटेका छन्। एउटा टोली अनुसन्धानमा लागेको छ भने अर्को टोली रकम गन्ने काममा लागेको छ। भन्सार प्रमुख शिव भण्डारीले सशस्त्र प्रहरीले आवश्यक प्रक्रिया पुरा गरेर भन्सारमा बुझाउने भएपनि अहिले प्रक्रियामै रहेको बताए।
यो घटनाले लकडाउनकै समयमा पनि नेपालबाट र भारततर्फ र भारतबाट नेपालतर्फ भइरहेको चोरी निकासीलाई उजागर गरेको विराटनगरकै एक व्यवसायीले बताए। लकडाउनका कारण नेपाल र भारततर्फ दुबै देशमा हुण्डी कारोवार बन्द जस्तै भएको छ। यस्तो बेलामा रकम तिर्ने काम भने यसैगरि बोरामा राखेर वा यस्तै माध्यमबाट हुन थालेको पोल पनि यो घटनाले खोलेको उनले बताए।