arrow

अलेपोमा आक्रमण तत्काल रोक्न सिरियालाई अमेरिकाको दवाब

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
America-2014.png.png
बेरुत । सिरियाको अलेपो सहरमा पछिल्लो समयमा बढिरहेको आक्रमणलाई तत्कालै रोक्न अमेरिकाले आग्रह गरेको छ । अमेरिकाले सिरियाली राष्ट्रपति बसर अल असदलाई सो कारबाही रोक्न आग्रह गरेको हो । दुई महिनादेखि सिरियामा युद्धविराम जारी रहेको छ । 
 
तर पनि सिरियाली फौजले अलेपोमा कारबाही जारी राखेपछि उक्त हिंसाप्रति चिन्ता व्यक्त गरिएको समाचारमा जनाइएको छ । गएको बिहीबार पनि अलेपोमा भएको भिडन्तमा परी कम्तीमा ३८ जना सर्वसाधारण मारिएका थिए । अलेपोमा यसरी कारबाही जारी रहेका बेला अमेरिकी विदेशमन्त्री जोन केरी वार्ताका लागि आइतबार जेनेभा जान लागेका छन् । 
 
जेनेभा जानुअघि उनले यस्तो कारबाही तत्कालै रोक्नुपर्ने धारणा राखेका हुन् । उनले जेनेभामा साउदी अरेबिया र जोर्डनका विदेशमन्त्री र सिरियामा लागि नियुक्त संयुक्त राष्ट्रसंघीय प्रतिनिधिसँग वार्ता गर्नेछन् । उनले भने – यसरी अलेपोमा जस्तै आक्रमणको अवस्था यथावत नै रहने हो भने यसले सिरियामा शान्ति स्थापनाको प्रयास विफल हुनेछ, त्यसैले देशमा शान्ति स्थापनाका लागि हालको युद्धविरामको अवस्था कायम राख्न जरुरी छ । 
 
सिरियामा भएको युद्धविरामको अनुगमन संयुक्त राष्ट्रसंघ र अमेरिकाले गरिरहेका छन् । युद्धविरामको पालना भइरहेको भनिएका बेला पछिल्लो समयमा अलेपो सहरमा हिंसा भड्किएको छ । अलेपोमा बिहीबार ब्रदरहुडलाई लक्ष्य गरेर रकेट हमला गरेको र त्यसमा परी कम्तीमा दुई जना बालबालिकासहित ३८ जना मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । 
 
युद्धविरामको अवस्था अहिले पनि कायमै छ । तर यति लामो समयसम्म पनि सिरियाको बारेमा ठोस रुपमा वार्ता भने सुरु हुन सकेको छैन । पछिल्लो समयमा सिरियामा युद्धबिराम जारी रहेको भनिएको भए पनि अलेपोमा भने भिडन्त भइरहेको छ । सो भिडन्तमा परी पछिल्लो शुक्रबारयता करिब १८६ जनाको ज्यान गएको बताइएको छ । 
 
सिरियामा हुन लागेको भनिएको वार्ताको अगुवाई अमेरिका र रसियाले नै गरेका छन् । तर सिरियाली विपक्षीहरूले सिरियाली राष्ट्रपति बसर अल असद नहट्दासम्म कुनै वार्ता हुन नसक्ने अडान लिएपछि यो वार्ता अघि बढ्न सकेको छैन । सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । हाल त्यहाँ गृहयुद्ध जारी छ । 
 
सो समयदेखि हालसम्म जारी हिंसा तथा द्वन्द्वमा परी दुई लाख ७१ हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएको तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । यस द्वन्द्वमा ७९ हजार भन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५०० बालबालिका र करिब ९ हजार महिला रहेका छन् ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ