कोरोनाको समय पथरी : क्यान्सर जितेकी सर्वोच्चकी वयोवृद्ध न्यायाधीश अस्पताल भर्ना

एपी प्रकाशित मिति : २०७७ बैशाख २४ बुधबार

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतकी न्यायमूर्ति रूथ बडर जिन्स्बर्गलाई मंगलबार पित्ताशयमा पथरी (ढुंगा) देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर उनले बुधबार टेलिफोनबाट अदालतको सुनुवाईमा भाग लिने सर्वोच्च अदालतले जनाएको छ । 

८७ वर्षीया न्यायाधीश जिन्स्बर्गको बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा बिना शल्यक्रिया पित्ताशयको पथरीको उपचार गरिएको अस्पतालले जनाएको छ ।  सर्वोच्च अदालतका अनुसार हाल अस्पतालमा आराम गरिरहेकी जिन्स्बर्गलाई एक वा दुई दिनपछि डिस्चार्ज गरिने छ । 

जिन्स्बर्गले सोमबार र मंगलबार टेलिफोन मार्फत अदालतको सुनुवाईमा भाग लिएकी थिइन्। उनको चार पटक क्यान्सर रोगको उपचार गरिएको छ । हालसालै गत अगस्टमा पेटको ट्युमरको लागि रेडिएसन गरिएको थियो । 

विभिन्न रोगसँग लडिरहे पनि यी उदारवादी वयोवृद्ध न्यायाधीशले सन् १९९३ देखि अर्थात विगत २७ वर्षदेखि सर्वोच्च अदालतमा निरन्तर सेवा गरिरहेकी छन् । उनलाई तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले नियुक्त गरेका थिए । 

कोरोना महामारीका कारण अमेरिकी सर्वोच्च अदालतमा पनि हाल टेलिफोन मार्फत मुद्दाहरुको सुनुवाई हुने गरेको छ । जिन्स्बर्गले आफूलाई स्वास्थ्य अवस्थाले साथ दिएमा ९० वर्षको उमेरसम्म सर्वोच्च अदालतमा सेवा गर्ने बताएकी छन् । संयुक्तराज्य अमेरिकामा सर्वोच्च अदालतमा आजीवन न्यायाधीश हुन सक्ने संवैधानिक प्रावधान रहेको छ । 

नयाँ