arrow

मान्छेलाई आक्रमण गर्ने चितुवा मारियो, रामबहादुर घाइते

logo
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
leopard-attack.jpg

तनहुँ । तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक पोथी चितुवाको मृत्यु भएको हो ।
 
स्थानीय रामबहादुर कुमालले व्यावसायिकरूपमा पालेको कुखुरा रातिको समयमा चोर्न आएको थाहा पाएपछि स्थानीयवासीले लखेट्दै जाँदा वन छेउको रुखमा रहेको चितुवा एक्कासी मानिसमाथि जाइलागेपछि चितुवा मारिएको हो ।

सो क्रममा स्थानीय रामबहादुर कुमाल सख्त घाइते भएको वडाध्यक्ष पूर्णबहादुर लौडारी भाटले जानकारी दिए । घाइतेको अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ । 

इलाका प्रहरी भानुबाट प्रहरी टोली घटनास्थलमा पुगे पनि वन कार्यालयका प्रतिनिधि आइनपुगेका कारण यसको विस्तृत जानकारी पाउन नसकिएको उनले बताए ।
 
घटनाको जानकारी पाएसँगै डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत विजय देवकोटाको एक टोली त्यसतर्फ जाँदै गरेको डिभिजन वन कार्यालय तनहुँका डिभिजन प्रमुख केदार बरालले बताए । 

केही समयअघि सोही वडाको लोहीपाखामा राखेको खोरमा बुधबार बिहान पोथी चितुवा मृतावस्थामा फेला परेको थियो । करिब पाँच–छ वर्षको देखिने २५–३० किलोग्राम तौल भएको चितुवा मृत फेला परेको हो ।
 
चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै  सात जना घाइते भएको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । 

वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको १६ स्थानमा १६ वटा खोर निर्माण गरी पासो थाप्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ