arrow

कोरियामा रहेको नेपालीहरुको मागः जहाज खाली नफर्काउ स्वदेश फर्कनेहरुलाई लैजाउ

कोरियाको नेपाली दुतावास अगाडी प्रदर्शनको तयारी

logo
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
nepal-airlines-narrowbody.jpg

कोरिया। कोरियामा काम गर्ने, अध्ययन गर्ने र व्यवसाय गर्ने नेपालीहरुले आफूहरुलाई फर्कने वातावरण बनाउन धेरै नै हारगुहार गरेपछि सरकारले कोरिया जान अनुमति दिएको छ।

अप्रिलको अन्तिमसम्म भीसाको म्याद भएकाहरु यसबाट लाभान्वित हुन नसकेपनि भीसाको म्याद बाँकी रहेकाहरु भने यसबाट लाभान्वित हुने भएका छन्। 

सरकारले नेपाल वायु सेवा निगमको जहाज मार्फत कोरिया लैजादै छ। वैशाख ३० गते अर्थात मे १२ साँझ ५ बजे निगमको जहाज दक्षिण कोरिया उड्ने छ। सरकारले खासगरि कामका लागि जान चाहेनहरुका लागि यो व्यवस्था गरेको हो। इपीएस पास गरेर कोरिया जान कुरिरहेकाहरु यसबाट केहि भएपनि लाभान्वित हुने छन्।  

निगमको जहाज कोरिया आउने भएपछि लामो समदेखि नेपाल फर्कन चाहना राखेर बसेकाहरु पनि मातृभूमी फर्कन पाइने होकी भने उत्साहित छन्। तर सरकारले अझै कोरियामा रहेका नेपालीहरुलाई ल्याउने बारेमा ठोस निर्णय नगर्दा अन्यौल भने कायमै छ।

निगमको जहाज कोरिया आएर फर्कदा नेपाल फर्कन चाहनेहरुलाई लैजान उनीहरुले कोरियामा रहेको नेपाली दुतावास र नेपालस्थित आफ्ना सम्पर्क मार्फत सरकारी अधिकारीहरुलाई हारगुहार गरिरहेका छन्।

कोरिया आइपुगेको जहाज खाली नफर्काई नेपाल फर्कन चाहनेहरुलाई लैजान एनआरएन कोरियाका संस्थापक अध्यक्ष केपी सिटौलाले माग गरेका छन्। उनले नेपालबाट मानिस लिएर आएको जहाज खाली फर्काउन नहुने बताए।

नेपाल फर्कन चाहनेहरुले दुतावासमा हारगुहार गरेपनि दुतावासले आफूहरुको उद्धारमा चासो नराखेको उनीहरुको भनाई छ। दुतावासले पहल नगरेपछि उनीहरुले शुक्रवार नेपाली दुतावास अगाडी नेपाल लैजान माग सहितको प्लेकार्ड बोकेर प्रदर्शनको तयारी गरेका छन्। 

निगमको जहाज २६० नेपालीलाई लिएर कोरिया उडदैछ। कोरियाबाट पनि कम्तिमा त्यतिनै फर्कन सक्ने सम्भावना हुने भएकोले आफूहरुलाई ल्याउने वातावरण मिलाइदिन उनीहरुले मिडियामा पनि आग्रह गरेका छन्। 

निगमले नेपालीहरुलाई झण्डै दोब्बर भाडा लिएर कोरिया लैजान लागेको हो। करिव ६० हजार भाडा लाग्ने भएपनि निगमले एकतर्फी नै १ लाख १३ हजार ७७५ रुपैया लिएर कोरिया लैजादै छ। कोरियन एयर अप्रिल १० तारिखमा कोरियन नागरिक लिन आउँदा भने एकतर्फी ८६४ डलरमा लगेको थियो। 

महंगो भएपनि कोरिया जानेहरुले यो भाडा तिरेर पनि जान तयार देखिएका छन्। आउनेहरुले पनि महंगो भएपनि रकम तिर्न तयार रहेको, नेपाल आएर नेपाल सरकारको मापदण्ड अनुसार क्वारेन्टाइन बस्न तयार रहेको कोरियाका नेपालीहरुसँग समन्वय गर्दै आएका उमेश कायस्थले बताए।

सरकारको एक निर्णयले आफूहरु नेपाल आउन सक्ने भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्। 
नेपाली कांग्रेसले पनि विदेशमा रहेका नेपालीहरुलाई योजनाबद्ध ढंगले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ। स्वदेश फर्कनु नेपालीहरुको अधिकार भएको उल्लेख गर्दै कांग्रेस स्वदेश फर्कन चाहनेहरुलाई तत्काल नेपाल फर्काउने पहल थाल्न कांग्रेसले माग गरेका हो।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ