arrow

ऐतिहासिक पदकधारी गौरिकाको ३०औं कीर्तिमान

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
काठमाडौं । नेपाली पौडीवाज एवं साग पदक धारी गौरिका सिंहले फेरि नयाँ कीर्तिमान बनाएकी छन् । १२औं सागमा ऐतिहासिक रजतसहित चार पदक जितेकी गौरिका सिंहले उत्कृष्ठ लय जारी राख्दै आयरल्याण्डमा भएको आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा २ सय मिटर ब्याकस्ट्रोकमा समेत राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । उनको यो ३० राष्ट्रिय कीर्तिमान हो ।  
 
१३ वर्षीया गौरिकाले आयरल्यान्डको डब्लिनस्थित नेसनल अक्वाटिक्स सेन्टरमा २ मिनेट २५.९९ सेकेन्डमा २ सय मिटर पूरा गर्दै नयाँ कीर्तिमान बनाइन् । गौरिकाले आफ्नै नाममा रहेको २ मिनेट २६.९३ सेकेन्डको कीर्तिमान सुधार गरिन् । यसअघि, उनले १२ औं सागमा ब्याकस्ट्रोकको कीर्तिमान बनाएकी थिइन् । शुक्रबार मात्रै गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा कीर्तिमान बनाएकी थिइन ।  
 
शुक्रबार १ मिनेट १.७८ सेकेन्डसहित १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । दुई सय मिटर ब्याकस्ट्रोकको उपलब्धि गौरिकाको व्यक्तिगत स्पर्धामा २७ औं र समग्रमा ३० औं राष्ट्रिय कीर्तिमान हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा दुई वर्षअघि सम्पन्न भएको १९औं राष्ट्रिय पौडी प्रतियोगितामा आठ राष्ट्रिय कीर्तिमान बनाएर ११ वर्षको छंदै उनले सनसनी मच्चाएकी थिइन् ।
 
गौरिकाले २०औं राष्ट्रिय पौडीमा सहभागि ६ स्पर्धामै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । गौरिकाको यो सुधारले आगामी साउनमा ब्राजिलमा हुने रियो ओलम्पिकका सहभागि हुने अवसर प्रदान गर्ने छ । जुलाई–अगस्ट, २०१५ मा कजान (रुस) मा भएको १६औं फिना वल्र्ड च्याम्पियनसिपमा मौका पाएकी गौरिकाले दुवै स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाइन् । उनले नोभेम्बर २०१५ मा दुबईमा भएको फिना एयरवेभ स्वीमिङ वल्र्डकपमा समेत दुवै स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएको रकर्ड छ । 
 
यस्तै, भारतको गुवाहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद सागमा गौरिकाले पौडीमा नेपाललाई पहिलो ऐतिहासिक पदक दिलाउँदा व्यक्तिगत चार वटा पदक हासिल गरिन् । पदकविहिन रहेको पौडीलाई उनले कांस्य हुँदै रजत दिलाईन् । अन्तर्राष्ट्रिय पौडीमा नेपाललाई पदक दिलाउने उनी नै पहिलो नेपाली खेलाडी हुन् ।     
 
सागमा उनले महिला २ सय मिटर व्यक्तिगत मिड्लेमा रजत जितिन् । ४०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्याकस्ट्रोक र २०० सय मिटर ब्याकस्ट्रोकमा उनले कांस्य जितेकी थिइन्। एउटै खेलको विविध विधामा उनले कीर्तिमान राख्दै नेपाललाई सफलता दिलाइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ