arrow

राजनीतिक चलखेल भित्रको जालझेल

logo
तुल्सी राम पाण्डेय,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
tulsiram-pandeya.gif

उडेर जून छुन्छु भन्थे तर आज पिंजडाको चरी भाछ जीवन 
जुगौं जुग जीउँछु भन्थे तर आज आफनै खाटमा लडीराछ जीवन 

कोरोनाको कहरले संसारभर मै हु भन्ने देशदेखि गाँस, बास, कपास र सिटामोलसँग जिन्दगी साटनुपर्ने हामी जस्ता बिकासोन्मुख देशहरूलाई साच्चिकै यी गीतका शब्दले भने जस्तै पिंजडाको चरीको अनुभूति गराउँदै प्रकृति, जीवन र जगतमा फेरी मानवको हैसियत, बिज्ञानको बिगुल र शक्तीशालीहरुको दम्भ केबल फगत मिथ्या हो भनेर प्रमाणित गरिदिएको छ। आज सुप्रीम को बन्ने भन्ने लडाईमा अचानक फेरी प्रकृति र पूर्बीय दर्शनले आफ्नो अस्तित्वको लडाईमा जबर्जस्त खम्बा गाडेको छ।

पूँजीबादी र उदारबादका होडबाजीका बीच फेरी मानवलाई एकपटक पुनर्बिचार गर्न बाध्य पार्दैछ। यो धन सम्पती भोग बिलास सबै क्षणीक हो। सास्वत सत्य त केबल अध्यात्म, बैदिक सनातन र मृत्यु हो भनेर नमस्कारबाट सम्बन्धको पुनर्ताजगी गरिन थलियो। आफनै मौलिकपन माथी बूट बजारिरहेका हामीलाई आत्मग्लानि गर्न बाध्य बनायो । कती देशमा बाटोमै पैसा फ्याकियो भन्ने अपुस्ट समाचार देखी आत्महत्या सम्मका दृष्टान्तहरू यही कोरोनाको बीचमा रहेका छन्। अमेरिकाजस्तो राष्ट्रलाई समेत आच्छु आच्छु पारेको बिषम परिस्थितिमा बिचरा हाम्रो जस्तो देशले कसरी सामना गर्न सकोस यो महामारी। पुनश्च पशुपतीनाथले हामी सबैको कल्याण गरून भन्ने बाहेक अन्य अवस्था हामीसंग रहेन।

बिषम परिस्थितिको सामना मिलेर, जुटेर र डटेर सामना गर्ने साहस देखाउनु पर्छ। बेमौसमी बाँसुरी बजाउदै हाम्रा जती सबै जाती र हाम्रा जती सबै राम्रा भन्ने सोचको दृष्टी भ्रम र दोषी चस्मा बोकी हिडेर हाम्रा परिबर्तनका संबाहक भनिएकाहरुलाई शक्ती संचयदेखी बालुवाटारको कुर्चीको खुट्टा बलियो बनाउ अभियानमा लिप्त हुने समय होइन भनेर सम्झाऊने कस्ले, बुजाऊने कस्ले, बुज्ने कस्ले आत्मकेन्द्रित नेतृत्वको महासागारमा।

नेताले बिषम परिस्थितिमा आफुलाई प्रमाणित गरेर देखाउने सुनौलो अबसर पनि हो । आफुलाई अमर अजर बनाउने भनेकै असहज समय कालखंडलाई उसले कसरी सहजीकरण गर्छ भन्ने कुराले निर्धारण गर्छ। तर अपसोच भनौ या अबोध सपनाको अपहरण भनौ घडीको सुई टक्क अडिएको छ। अझै सरल भाषामा भनौ भने उल्टो पो घूमेको छ घड़ीको सुई। पुरानो ब्याट्रीको उपयोगितामा ह्रास आएर डेड जस्तै छ जबरजस्ती घुमाउन खोज्दा सुई बिपरित दिशातिर हिडेको भान हुन्छ । जन जनलाई सरकार छ, राम्रो लिडरशिप छ, हाम्रो बारेमा चिन्तित सरकार छ भनेर जनता ढुक्क हुने बाताबरण पाउने कैले? यो त सब भन्ने कुरा न हो जस्तै भएको छ आमजीवन। दुनियाँ आणबिक अस्त्र सस्त्र अनुसन्धानमा लडिरहेको छ। हाम्रो लडाई फूटाउ र राज गरमा तल्लीन छ। दुनियाँ फास्ट ट्र्याकमा दिन दुगुना रात चौगुना भनेर कूदेको छ। हामीत भएका सीमित ट्र्याक पनि अग्रगामी छलांङ शब्दको गलत ब्याख्या गर्दै भत्काउदै पो छौं। तपाईंको घडीको सुई उल्टो घुम्यो कि, मस्तिस्कमा नयाँ ज्वाराभाटा निस्कियो, हावा उल्टो बगेको हो की, नदीले बेग परिबर्तन गर्‍यो, नीतिमा खोट होकी नियतिको खेलमै झेल यस्तै अनुतरित प्रश्न छन् जनजनमा।

उराठलाग्दो परिबेशमा कता जादैछ देश

मौकामा चौका भन्ने उखानको नेपालमा जती गलत प्रयोग सायद संसारमा कतै छैन होला । महामारीको त्रासदीको बिचमा मौका यही हो लूट्ने खाने भने जस्तो रक्षक नै भक्षक भइ आफै हात धोएर लोकतन्त्रको हाउगुँजीमा लूटतन्त्रको अभ्यास भैरहेको छ। गलत प्रबृती, सोच, नियतमा खोट भएकाहरूलाई सजक र सबक सिकाउनु र असल नजीर बसाल्नु त कता कता झन बढी जिम्मेवारी झन ठूलो काँध अनी खुल्मखुल्ला रंगमंचको प्रहसन जस्तो नागों नाच हेर्दिन भन्दा पनि खुल्ला आँखाले देख्नु पर्ने यो कहाँको न्याय। यसैबीच देवत्वकरणदेखी राक्षसीकरणको खेलमा पौठाजोरी खेल्ने जमात देखेर हरीद्वार र मलद्वारबिचको भेद गर्न नसक्ने, मलद्वारलाई पनि हरिद्वार जसरी बयान गर्ने यूवा भजनमण्डली भीड तयार गरेर हामी कस्तो पुस्ता तयार गर्दै छौ। हाम्रो देश कता जादै छ भन्ने दुःखद आभास हुन्छ। सुसासन, असल शासन, जनमुखी बोली, जनमुखी व्यवहार, जनताप्रति उत्तरदायी सरकारका लागि बिदेशी समाचारका पाना पल्टाउनु पर्छ की बिदेसी सिनेमा हेर्नुपर्छ । सत्तामा आसिनहरू लाखौं जनतालाई भेडाबाख्रा ठान्ने ‘प्रवृती’ देखिदैछ । देशलाई ‘नीजि चरन’ मान्ने इतिहास लेखिदैछ । सोझासाझा जनतालाई बफादार गोठाला भन्ने र सिमित नेताहरु हैसियतदार मालिक बन्ने प्रवृत्तिको विकास हुँदैछ । पद प्रतिष्ठाले सुसज्जितले आफुलाई सिंहासनमा सजाउने र लाखौं जनतालाई शासनले कजाउने संस्कारको थालनी देखिन्छ ।

त्यसैले त यहा कवी शिरोमणी लेखनाथ पौडेलका यी पंक्तिलाई घरी घरी सम्झिन मन लाग्छ
'मै खाउँ, मै लाउँ, सुख सयल वा मोज म गरुँ
मै हाँसु, मै नाचु अरु सबै मरुन् दुर्बलहरु’

यी हरफले मात्र हुन्न पर्याप्त जती हेर्‍यो झन उती पहिरो पो छ त । जनताले मागेको खोजेको गणतन्त्र र भोगिरहेको गणतन्त्रको मिलन कैलै नहुने नै होत नदिका दुई किनार जस्तो ?

राहुल सांस्कृत्यायनको “ मागो नही दुनियाँको बदलो ” राहुल सांस्कृत्यायनको ‘ भोल्गा से गंगा तक ,अनिल वर्वेको "थ्यान्क्यु मिस्टर ग्लाड ", महाश्वेता देवीको "हजार चौरासी कि माँ" को जस्तो दर्शन पढेर आएकादेखी बन्दुकको नालबाट बिकासको बिगुल फूकेर सर्बहाराको हितमा लडेका हौ भनेर अबुझ सोझा नेपालीको आँखामा सपनाको महल देखाइ हजारौ बलिदानी दिलाएर आएका लिडरहरू बीचमा आएको सैधान्तिक बैचारिक तथा ब्यवहारिक बिचलनले हामी नेपालीलाई एक कदम पछाडी धकेलेको हुन्छ ।

हुनुपर्ने देश सुहाउँदो नेतृत्व कस्तो ?

मोदी, ओबामा, जस्टिन ट्रुडेओलाई हेरेर बस्ने की केही सिक्ने पनि। मोदी पनि आफैमा सर्ब बिज्ञ त होईनन। सामान्य परिवारबाट आएर पनि उत्कृष्ट उदाहरण बनेका छन्। आज उनको नेतृत्वको तारिफ गरेर दुनिया थाकेको छैन । बिश्वप्रसिद्ध युनिभर्सिटीले केस स्टडी गरेका छन् की चायवालाको तरक्की पछाडीको गुह्य कुरा के हो भनेर । आज उनको भिजन, नियतमा सच्चाइ र राम्रो टीमको चर्चा हुन थालेको छ ।

नेतृत्व त यस्तो होस जसमा भिजन होस। भिजनलाई बास्तविकतामा बदल्ने कार्ययोजना होस त्यो कार्ययोजना सफल पार्ने राम्रो टीम होस, बिज्ञ टोली होस। बिज्ञहरूको सुझाबलाई मनन गरोस र आफू, आफ्नो गुट र आफ्नो पार्टी भन्दा माथी देश र जनताको हितलाई सर्बोपरी राखेर काम गर्ने दूरदर्शी नेता होस र पो देशले काँचूली फेर्ने आश गर्न सकिन्छ। तर धरातलिय यथार्थ त यस्तो छैन। यहाँ त आफै मै जान्ने हुँदाहुँदै किन चाहियो बिज्ञ सल्लाहकार भन्न थालिएको छ। सल्लाहकार पनि कस्ता निगाहाबाट आएका एस म्यान नाई नभन ल वाला। गलतलाई गलत भन्न सक्ने सल्लाकारको खाडल, आफ्नो ओरिपरी चाकडीबाज, हसहस को झुण्ड अनी हामीले असल शासनको आशा गर्नु नै हामी बडी आशाबादी बन्नु हो। ठूलो लडाँइबाट आएकाहरू ठूलो ठूलो सपनाको महल खडा गरी सीसाको महल देखाएर आएकाहरू माल पाएपनि चाल पाएको देखिएन । यसलाई मसिनो ढंगले केलाउनु पर्दथ्यो । तर केलाउने, निफन्ने त कुरै छोडौं  यहाँ त मनलाग्दी मायाप्रिती खेलाउने देखि घुमाएर कमिशन मिलाउनेसम्मको जाँगर देखिन थाल्यो ।

चोटै चोटको बिचमा खोट कहा छ?

चोट, नोट, भोट, कोट र सोच यी शब्द जती सुन्दा उस्तै उस्तै पो हुन की भन्ने लागेता पनि यी श्रुतीसमभिन्नार्थ शब्दको बीच मै खोज्ने हो भने खोट कहा छ भन्ने अनुमान लगाउन सकिन्छ। नेपाली आम जनमानसमा दोष जती अरुलाई देखाउने प्रचलन हाबी छ। हामीमा सेल्फ रियलाईजेसनको कमी छ। हामी आफ्नो अनुहारको दाग देख्दैनौ र सफा गर्दैनौ पनि तर अनुहार खराब देखियो भनेर ऐना मात्रै सफा गर्ने कोसिस गर्छौ। हाम्रो सोच हाम्रो बिचार हाम्रो व्यवहार हामीले लाइन निर्णयले हाम्रो देशको रूप रेखा कोर्छ भन्ने अनुभूति आम मानिसमा छैन र यस्को सिलसिला मतपेटिकाबाट हुन्छ भन्ने हेक्का अझै पनि आएको देखिदैन। नत्र आजिवन नेतालाई गाली गरेर नथाक्ने नेपाली जब चुनाब आउछ त्यही नोटमा बिकेर भोट दिएसी कोट लगाएर पठाएकाहरूमा हुने सोचको खोट मै छ हाम्रो चोट ।

व्यवस्था बदलियो अवस्था कैले बदलिन्छ ?

‘’राणादेखी राजा, पंचायतदेखी बहुदल, प्रजातन्त्रदेखी लोकतन्त्रहुँदै गणतन्त्र, दरबारदेखी सिंहदरवार, केन्द्रिकृतदेखी बिकेन्द्रिकृत, सिंगो देशदेखी आफनै प्रदेश, कूटनीतिदेखी लूटनीतिसम्म, सदाचारीदेखी भ्रस्टाचारीसम्म, जेलदेखी सपनाको मोनो रेलसम्म, भोको पेटदेखी कमिसनको रेटसम्म, प्रतिगमनदेखी अग्रगमनका नारासम्म, चप्पल पडकाउँदै सहर पसेकादेखी सर्बहाराको लागी भन्दै कर्मनासा नदी जस्तै जंगल पसेकासम्म, क्रान्तिदेखी शान्तिसम्म, सबै भोगे सबै देखे केबल एक मात्र आशामा’ यो देशको व्यवस्थासंगै अवस्था पनि परिवर्तन होस, देशले मुहार फेरोस’ तर के नेपाली जनताले खोजेको, रोजेको र भोगेकोले ती अतृप्त चाहना पुरा गरे त?

प्रश्न एक उत्तर अनेक तर कैलेसम्म ? भूगोल एक तर नाटक अनेक कहिलेसम्म? मादल एक तर ताल अनेक कहिलेसम्म? नेपाली जनता प्रयोगबादी सिद्धान्तको सिकार कहिलेम्म ? अग्रगामी आश्वासन भित्र अधोगती कर्म कहिलेसम्म? आखिर नेपालीको मुखमा जुन जोगी आएपनी कानै चिरेका भन्ने उखानले जरो कहिले सम्म? शिशिर योगीको यो देशमा म एउटा मानिस खोजी रहेछु देखी द स्क्रिप्टको हल अफ फेम कहिले सम्म, मार्टीन लुथर किङगको आइ ह्याव अ ड्रीम देखी गुली व्याईजको अपना टाइम आएगा कहिलेसम्म?

आगो बिना पनि जलेका नेपाली मन

नेपाली कती सहनशिल कति धैर्य कती आशाबादी। छालाले चाला फेरियो उमेर गयो बैस गयो। पर्दामा नाटकहरू मंचन गरिनै रहे। जनताले होला नी त भनेर साथ दिइनै रहे। दिन बित्यो। महिना। बर्ष। तर त्यो बिहानी आएन। अरबको खाडीदेखी भारतको रेलको यात्रा नेपालीको रोकिएन। फेरी पनि आउछ। त्यो दिन अवश्य आउँछ। सुनौलो बिहानि बोकेर आउँछ। ओठमा हासों मुहारमा मुस्कान बोकेर आउँछ भन्नु र नेपालमा मुस्कान सहितको सेवा भनेर भन्नु उस्तै उस्तै छ। आकासको फल आँखा तरी मर भनेर समेत गिज्याउन थालेका छन्। तर, तपाईंले हेक्का राख्नु पर्छ, चुपचाप बस्नेहरु सबै बहिरा हुँदैनन् । आहत नै किन नहोस्, चिच्याएर रुँदैनन् ! तर, गौंडा अवश्य रुङ्नेछन् । मौका मिल्नासाथ् ठुङनेछन् !

साँच्चीकै यम बरालले गाएजस्तै ‘’जाली संसार कस्को छ र भर ‘’ भने जस्तै नै होत ? की रामकृष्ण ढकाल ले गाए जस्तै ‘’ बचन तोडे कसम नी तोडे सत्य सत्य ढाटदिन भन्नेले जस्तो पो हो ? कति धेरै निराशा,कती धेरै धोका, कती धेरै जाल, कती धेरै छलकपट, कती धेरै अनूत्तरित प्रश्न नै प्रश्नले रुमलिएको छ नेपाली मन ।

गहिरो तर गम्भीर बिषयमा बहसको नया शिराको थालनी भएको छ। यो बिषयको उठान जती हलुका होला तर बहस धेरै गह्रौ। दिशानिर्देश गर्ने गरी उठान, निचोड र पुनः फेरी नयाँ आशा भरोसा, उत्प्रेरणा र सुरक्षित अवतरण गर्ने बैज्ञानिक उपाय सहितको एक मननयोग्य एपिसोड। यो एक एपिसोड मात्रै नभई एक दिशानिर्देश गर्ने एक दस्ताबेज पो हो की, खतराको सूचक, बर्तमानलाई सबक, संजीबनी खुराक सहितको बेजोड अन्तरंग, किंकर्तब्यबिमुढ भबिष्यमाथी फेरी अर्को आशा पनि पो हो की।

नेल्सन मण्डेलालाई एकपल्ट सोधियो– तपाई यति महान् नेता हुनको पछाडिको प्रेरणाको स्रोत को हो ? उनले जवाफ दिए, ‘मेरो बुबा। मेरो बुबा एउटा गाउँको मुखिया हुनुहुन्थ्यो र म उहाँसँगै गाउँ भेलामा जान्थेँ। म बुवाको दुई गुण सधैँ ध्यान दिएर हेर्थेँ। पहिलो, बुवा सधैँ गोलो बनाएर बस्नुहुन्थ्यो, सबैलाई समान रूपमा व्यवहार गर्नुहुन्थ्यो र सहभागी गराउनुहुन्थ्यो। दोस्रो, बुबा पहिला सबैको कुरा सुन्नुहुन्थ्यो अनि अन्तिममा मात्रै आफू बोल्नुहुन्थ्यो। मैले पनि त्यही सिकेँ।’

बिडम्बना भनौ या उही परम्परागत रटान सतीले सरापेको देश भनौ जे जे उपमा दिएपनि नेपाली जनजनले आगनको डिलैमा तथा हृदयको कुनाको रोपेको फूल यसै ओईली झरी रह्यो। इंद्रावती बगेसरी अनवरत आकासको फल आँखा तरि मर भने सरी ।

कोरोना महामारीको बीचमा कता जाँदैछ नेपालको अर्थतन्त्र

यस शताब्दीको आर्थिक मन्दीपश्चातको ठूलो मानव विपदसँगै आर्थिक संकट हामी माझ आइपरेको छ। विश्व सामान्य अवस्था फर्कन्छ तर सोको लागि के कति हामीले मुल्य तिर्नुपर्ने हो, त्यो समयले देखाउने छ। कोरोनाबाट बच्न लकडाउनले धनी देशका नागरिक बचाउने पक्का-पक्की होला। तर हाम्रो जस्तो देशमा लकडाउनले कोरोनाबाट नागरिक बचाउन सकेपनि गरिबी र ‍भोकमरीबाट बचाउन सक्ने छैन। यस उपरान्त उच्च आय भएका देशहरुले नेपाल जस्ता कम आय भएका देशलाई सिधै सिध्याउने छ तथा धनी र गरिब बीचको फरक बढ्दै जाने छ। परिणामस्वरुप धनी देश वा धनी नागरिक मात्र यसको लडाई लड्न सक्ने छन्।

नेपालले आ.ब ०७६/७७ मा ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो तर हालै अन्तराष्ट्रिय मुद्रा कोषले जारी गरेको आउटलुक अनुसार नेपालको आर्थिल वृद्धिदर २.५ प्रतिशतमा सिमित रहने पुर्बानुमान गरेको छ । यो निर्धारित लक्ष्य भन्दा निकै कम भयो । कति समय पछि पुर्बबत अवस्थामा फर्किन सकिन्छ ? जीडीपीमा करिब २७ प्रतिशत हिस्सा ओगट्ने कृषि क्षेत्रको उत्पादन, बितरण र बजारीकरण कम हुनुले खाद्य संकट आउनसक्ने सम्भावना छ ।

गौरबका आयोजना लगायत साना ठुला परियोजना हरुको काम प्रभावित हुँदा सरकारलाई समयावधि थप लगायत अतिरिक्त भार पर्ने देखिन्छ। रेमिटेन्स आप्रवाहन शुन्य जस्तै हुदा अर्थतन्त्रको मेरुदण्ड कमजोर हुने छ। विश्व स्वास्थ्य संगठनले बिश्वमा आधा भन्दा बढी रोजगार गुम्ने चेतावनी दिइरहदा नेपालको बर्तमान ११.४ प्रतिशतको बेरोजगारीदरमा बढोत्तरी हुने सम्भावना छ। कृषि, उद्योग, व्यापार, पर्यटन, निर्माण, यातायात, बैंकिङ, रेमिटान्स, रोजगारी लगायत धेरै क्षेत्रगत तहहरुलाई दूरगामी असर हुने छ।



नयाँ