arrow

स्वास्थ्य मन्त्री ढकाललाई तत्काल हटाऊ 

देखिनै छाडेको दुर्लभ दृश्य देखाएर मन्त्री ढकालले कोरोना महामारी बिरुद्धको लडाईलाई मजाक बनाएका छन्

logo
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
bhanubhakta-dhakal-corona.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई तत्काल हटाउन दवाव बढेको छ। मन्त्री ढकाललाई तत्काल हटाउन यतिबेला सामाजिक संजालबाट चर्को दवाव दिइएको छ । 

विश्व कोरोना भाइरसको संक्रमणबाट ग्रस्त रहेका अवस्थामा नेपाल पनि अछुतो छैन । कोरोनासँग लड्ने सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवार मन्त्रालयका मन्त्रीको गैरजिम्मेवार व्यवहारका कारण उनी यतिखेर सामाजिक संजालमा चर्को आलोचनाको पात्र बनेका छन्। कोरोना भाइरस संक्रमण रोक्नका लागि सामाजिक दूरी कायम गर्ने लगायतका गतिविधिमा कडाइ गर्नुपर्नेमा मन्त्री ढकाल आफैले हात मिलाएपछि उनी चर्को आलोचनाको पात्र बनेका हुन् । 

प्रसंग बिहीबार (बैशाख २५ गते) को 
बैशाख २५ गते नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गर्यो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा साँझ ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त किट हस्तान्तरण गरिन् । 

स्वीस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा चार हजार पीपीई सेट, एक हजार इन्फ्रारेड थर्मोमिटर, आठ हजार एन ९५ मास्क यसअघि नै हस्तान्तरण गरिसकेको थियो ।

नेपाल सरकारलाई उक्त संस्थाले कोभिड–१९ को पूर्वतयारी, राहत र पुनर्स्थापनाका प्रयास सहयोग पुर्याउन रु पाँच लाख डलरको कोष स्वीकृत गरेको छ । कोषले महामारी प्रभावित नेपालीको सामाजिक, आर्थिक असर घटाउन एवं आवश्यकता र समावेशितामा आधारित कार्यमा प्रभावकारी सम्बोधन गर्नेछ ।

नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले ३० हजार किट सरकारलाई कोरोना भाइरस नियन्त्रण गर्न आवश्यक र महत्वपूर्ण परीक्षणलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । 

अब प्रसंगमा फर्कौं 
राजदूत क्यापलरले स्वास्थ्य सामग्री दिइन् । मन्त्री ढकालले सामग्री बुझे । तर धन्यवाद दिने बेलामा मन्त्री ढकाल र राजदुत क्यापलरले सबै प्रोटोकल बिर्से । 

स्वास्थ्य मन्त्रालय आफैले जारी गरेको प्रोटोकल र विश्व स्वास्थ्य संगठनको प्रोटोकल तोड्दै उनले राजदूतसंग हात मिलाए । 

कोरोनाको संक्रमणका बेलामा हात मिलाउनु प्रोटोकल विपरित छ । कोरोनाको संक्रमण रोक्न सामाजिक दूरी नै एकमात्र विकल्प बनेको छ । तर एउटा जिम्मेवार मन्त्री आफैले हात मिलाए पछि महामारीको समयमा उनी स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्न कति लायक छन् भन्ने गम्भीर प्रशन खडा भएको छ। । देशमा कोरोना रोक्न लकडाउन लगाएको शुक्रबार ४६ दिन भइसकेको छ । 

यसको प्रमुख कारण नै सामाजिक दूरी कायम गर्नका लागि हो । तर ‘...लाई भन्दा देख्नेलाई लाज’ भनेझैं मन्त्री ढकालको हर्कतले आम नागरिक लाजले पानी भएका छन् भने रीसले चुर पनि भएका छन्। कोरोनाको महामारी रोक्न मन्त्रीले भूमिका खेल्नु त कता हो कता सरकार, मन्त्रालय र विश्व स्वास्थ्य संगठनको प्रोटोकल बिर्सेर हात मिलाउन पुग्नलाई मन्त्रीबाट तत्काल विदा गर्नुपर्ने माग व्यापक भएको छ । 

आफैलाई ज्ञान छैन भन्छन् मन्त्री ढकाल
मन्त्री ढकालले यसअघि कानुन मन्त्रालय सम्हालेका थिए । जनता समाजवादी पार्टीका उपेन्द्र यादवले स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएपछि ढकाललाई यो जिम्मेवारी दिइयो । 

जब कोरोनाको संक्रमण फैलियो तब पीसीआर परीक्षण र आरडीटी परीक्षणको कुरा आयो । त्यति नै बेला मन्त्री ढकालले आफूलाई पीसीआर सीसीआर केही पनि थाहा नभएको भनी पत्रकार सम्मेलनमै भनिदिए । 

उनी स्वास्थ्यको बारेमा आफूलाई सामान्य ज्ञान पनि नभएको बताउँदै आए । त्यति गर्दा पनि ओलीले आफ्नो नैतिकता गुमाए । ढकालका कुरै बेग्लै । 

उनी कुनै पनि विवेक पुर्याउँदैनन् । दुःखको कुरा सिक्न पनि तयार छैनन् । यो प्रवृत्तिको मानिस कोरोनासंग लड्नका लागि निकै खतरनाक छ । 

यस्ता मन्त्रीलाई तत्काल हटाउनु पर्ने देखिन्छ । सामाजिक संजालमा पनि उनलाई हटाउनु पर्छ भन्दै विरोध भइरहेको छ । सत्तारुढ नेकपाका नेताहरु समेत मन्त्रीको हर्कत प्रति लज्जित छन् । 

सरकारले आफैले जारी गरेका निर्देशन मन्त्रीले नै अवज्ञा गरेपछि जनतालाई भन्ने हैसियत समेत बाँकी रहेन । भन्दा पनि कुन मुखले भन्नु। सरकार र विभिन्न संस्थाका तर्फबाट करौडौं खर्चेर जनचेतना जगाउन गरेका काममा मन्त्रीले एकै घटनाले त्यसको हुर्मत लिएका छन्।  

सामाजिक संजालमा समेत मन्त्री ढकालको जस्तै गैरजिम्मेवारहरुकै कारण कारोना व्यापक फैलिएको टिप्पणी हुन थालेको छ।  

नमस्ते नेपाली संस्कृतिः विदेशीले सिके नेपालको मन्त्रीले नै बेइज्जत गर्दै
नमस्ते पूर्वीय संस्कार हो । नेपालीहरुले परापूर्वकालदेखि यहि संस्कारलाई आफ्नो अभिवादनको क्रममा प्रयोग गर्छन् । पछिल्लो समय पश्चिमी सभ्यताको प्रभावमा हात मिलाउन थालियो । 

तर कोरोनाले गर्दा विश्वका मै हुँ भन्ने देशहरु नमस्ते गर्न शुरु गरेका छन्। बेलायती राजकुमार नमस्कारतिर लागे । 

जापानीहरु पहिले देखिनै शिर निहुराउनतिर लागिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि हात मिलाउन छोडेर नमस्कार गर्न थालेका छन्।  

तर नेपालका मन्त्री ढकालले आफ्नो संस्कार त बिर्से नै यतिबेला नेपालीहरुकै बेइज्जत गरेका छन् । 

क्रान्तिकारीले पनि समय र सन्दर्भ हेर्छ । तर उनको क्रान्तिकारीता कुनै पनि कम्युनिष्टले बुझ्न सकेका छैनन् । 

नैतिकता गुमाउँदै मन्त्री ढकाल
मन्त्री ढकालले नैतिकता गुमाउँदै गएका छन् । उनले यसअघि कोरोनाका स्वास्थ्य सामग्री खरिद गर्नका लागि कमिशनको चक्करमा मुछिएका थिए । त्यसपछि चीनसंग किन्ने भनिएको उक्त खरिद प्रक्रिया नै रद्ध भएको थियो । 

ओम्नी ग्रुपमार्फत सामान खरिद गर्न खोज्दा उनी मुसिएका थिए । उनको चर्को आलोचना हुँदासमेत प्रधानमन्त्री ओलीले उनलाई हटाएनन् । बरु प्रतिरक्षा नै गरे । 

यसबाट प्रधानमन्त्री ओली पनि यो काण्डमा मुसिएको स्पष्टै हुन्छ । भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने ओलीले यसअघि ७० करोड कमिशनको चक्करमा मुसिएर राजीनामा दिएका पूर्व संचारमन्त्री गोकुल बास्कोटाको पनि प्रतिरक्षा गर्दै बचाउमा उत्रिएका थिए ।

त्यस्तै अहिले मन्त्री ढकालले पनि हदै गर्दासमेत ओली चूप छन् । मन्त्री ढकालले पदीय जिम्मेवारीसमेत निर्वाह गर्न सकिरहेका छैनन् । उनले कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्था मिलाउन पनि चुकेका छन् । संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा पीसीआर परीक्षणसंगै आरडीटी परीक्षणमा पनि कमी आएको छ।

आरडीटी किटको विश्वसनियतामाथि गम्भिर प्रशन उठ्यो । कतिपय ठाउँमा टेष्टसमेत बन्द गरियो । चीनबाट ल्याएका किट नै फिर्ता गर्नुपरेको थियो । चीनबाट ल्याइएका आरडीटी कीटको विश्वसनीयतामाथि प्रश्न उठेपछि यसको प्रयोगमा रोक लगाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिटसमेत परेको छ । 

मन्त्री ढकाल नै त्यसमा मुछिएका छन् । खरिद प्रक्रिया विवादमा परेपछि नेपाली सेनालाई स्वास्थ्य सामग्री ल्याउने जिम्मा दिइएको भए पनि सेनाले एक हप्तासम्म सामग्री ल्याउन सकेन। भारत र चीनबाट ल्याउने भनेका सामग्री आउन अझै एक साता लाग्ने सेनाले नै जनाएको छ । 

कोरोनाको परीक्षण बढाउनु पर्नेमा मन्त्री ढकालकै गैरजिम्मेवारीका कारण अहिले पीडितहरु अलपत्र परेका छन् । दिनानुदिन परीक्षण बढाउनु पर्नेमा मन्त्री ढकालकै कारण अहिले परीक्षणमा सुस्तता आएको छ । 

स्वीस राजदूतको नैतिकता पनि धरापमा 
यतिमात्र हैन स्वीस राजदूतमाथि पनि गम्भीर प्रश्न उठेको छ। उनले पनि सामाजिक दूरीको हद पार गरेपछि आलोचनाको शिकार भएकी छिन् । मन्त्रीले हात दिँदैमा हात मिलाउन खोज्ने राजदूत र राजदूतले हात मिलाउन खोज्दा हात मिलाउने मन्त्रीको दुवै यो प्रकरणमा गैरजिम्मेवार देखिए। 

कोरोना भाइरसको प्रभाव विस्तारसँगै देखिनै छाडेको दुर्लभ दृश्य देखाएर यी दुई पात्रले कोरोना महामारी बिरुद्धको लडाईकलाई कमजोर मात्र बनाएका छैनन मजाक पनि गरेका छन्। कोरोना भाइरसको संक्रमण भए यताकै दुर्लभ दृश्य देखाउने ढकालको कृती जुगजुगसम्म अमर रहने भएको छ। तर महामारीमा आफ्नै सरकार र विश्व स्वास्थ्य संगठनले तय गरेको प्रोटोकल तोड्दै गलत सन्देश प्रसारमा लाग्ने मन्त्री भने यो समयमा स्वास्थ्य मन्त्रीका लागि कति पनि योग्य देखिएनन। राजदुत क्यापलरको बारेमा स्वीस सरकारले निर्णय गर्ला तर ढकालको हकमा भने प्रधानमन्त्री केपी ओलीले तत्काल निर्णय गरि यिनलाई घर पठाउनु पर्छ। यि जस्ता मन्त्री जतिसमयम सरकारमा रहन्छन त्यति सरकारसँगै नेपाली जनताको बेइज्जत बाहेक केहि पनि हुनेछैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ