arrow

पाकिस्तानले शनिबारदेखि लकडाउन खुकुलो बनाउने

logo
एएनआई
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
pakistan-flag.jpg

इस्लामाबाद। पाकिस्तानले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी देशव्यापी लकडाउनलाई भोलि शनिबारदेखि खुकुलो बनाउँदै लैजाने घोषणा गरेको छ। कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि आमजनताको दैनिक जीवन थप कष्टप्रद हुँदै गएपछि सरकारले लकडाउनलाई खुकुलो बनाउन लागेको हो। प्रधानमन्त्री इमरान खानले बिहीबार लकडाउनलाई खुकुलो बनाउने तयारी गरिएको जानकारी दिँदै लकडाउनबाट आम मजदूर, साना व्यवसायी र सर्वसाधारण जनतालाई बढी नै समस्या परेको बताए।

पाकिस्तानमा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ भने ५९४ जनाको ज्यान गइसकेको छ। प्रधानमन्त्री खानले भने, “हामी विकासशील मुलुक हौं, त्यसैले हामी देशलाई यस्तो लकडाउनमा धेरै दिन राख्न सक्दैनौं।” उनले अगाडि भने, “हाम्रो निर्यात घटेको छ। हामीसँग सीमित स्रोत छ र हामीले त्यसलाई जनताको भलाईमा खर्च गरिसकेका छौं। लकडाउनबाट प्रभावित सबैलाई मद्दत गर्न सक्ने अवस्थामा हामी छैनौं।”

पाकिस्तानमा कोरोनाभाइरसका बिरामी देखिएपछि गत मार्चदेखि लकडाउन जारी छ। बजार, व्यवसाय, सपिङ सेन्टर र कार्यालयहरु बन्द हुँदा मुलुकको अर्थतन्त्रमा नराम्रो असर परेको छ। प्रधानमन्त्री खानले भने, “हाम्रो राजश्वमा ३५ प्रतिशत गिरावट आएको छ भने निर्यातमा पनि ठूलो असर परेको छ।”

पाकिस्तान सरकारले रमजानको यस महिनामा मस्जिदहरुमा सामूहिक प्रार्थनाका लागि अनुमति पनि दिएको छ। तर सरकारी अधिकारीहरुले आगामी जुलाई १५ सम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरिसकेका छन्। पाकिस्तानी शिक्षा मन्त्री शफकत महमूदले सबै बोर्ड परीक्षाहरु रद्द गरिएका र यसअघिको बोर्ड परीक्षामा विद्यार्थीले प्राप्त गरेको अंकलाई नै आधार मान्ने व्यवस्था गरिएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ