arrow

प्रधानमन्त्री मोदी र युरोपेली परिषदका अध्यक्षबीच फोनवार्ता

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
narendra-modi2.jpg

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युरोपेली परिषदका अध्यक्ष चाल्र्स माइकेलबीच बिहीबार फोनवार्ता भएको समाचारमा जनाइएको छ। प्रधानमन्त्री मोदीले बिहीबार युरोपेली परिषदका अध्यक्ष चाल्र्स माइकेललाई फोन गरेको भारतीय सञ्चारमाध्यमले शुक्रबार बिहान जानकारी दिएका छन्।

उनीहरुबीच भारतमा पछिल्लो समयमा बढ्दो कोभिड-१९ को संक्रमण र यसको चुनौतीका विषयमा कुराकानी भएको पनि उक्त समाचारमा जनाइएको छ। भारतीय प्रधानमन्त्री मोदीको कार्यालयले शुक्रबार बिहान प्रकाशन गरेको विज्ञप्तिका अनुसार उनीहरु दुई जनाले भारत र युरोपमा कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका साथै उपचारका क्रममा देखा परिरहेका चुनौतीहरुका बारेमा छलफल गरेका थिए।

उनहरुले आगामी दिनमा यस महामारीका विरुद्धमा लड्नका लागि आवश्यक सहयोग र समन्वयलाई अघि बढाउने विषयमा सहमति गरेका थिए। त्यस क्रममा उनीहरुबीच आगामी ‘भारत इयु’ सम्मेलनको सम्मेलनका लागि एजेन्डा तय गर्ने विषयमा पनि सहमति गरेका थिए।

उनीहरुबीच यस महामारीको नियन्त्रणपछिको अवस्थाका लागि आवश्यक आर्थिक सहयोग तथा अन्य आर्थिक एजेण्डाका विषयमा पनि आपसमा सम्पर्कमा रहने विषयमा कुराकानी भएको थियो। प्रधानमन्त्री मोदीले बिहीबार यसबारेमा ट्वीट गरेका छन्। आफ्नो ट्वीट अकाउन्टमा उनले भनेका छन्– मैले युरोपेली परिषदका अध्यक्षसँग फोनमा कुराकानी गरेको छु। युरोपेली परिषद र भारतबीच सम्बन्धको महत्व मात्र होइन नयाँ क्षेत्रमा खोजी र अनुसन्धानका क्षेत्रहरुमा पनि ठूलो सम्भावना रहेको छ।

उनले सो ट्वीटमा भने –हामीले भारत र युरोपेली युनियनले आगामी दिनमा यो कोरोना भाइरसको महामारी नियन्त्रणका क्षेत्रमा के कसरी मिलेर काम गर्न सक्छौँ र यो महामारीको अन्त्यपछि पनि आर्थिक सुधारका क्षेत्रमा पनि के कसरी मिलेर अघि बढ्न सक्छौँ भन्ने बारेमा कुराकानी भएको छ।

यो कोभिड १९ संक्रमणले युरोपेली देशहरुलाई पनि नराम्ररी प्रभावित पारेको छ। बेलायत, इटाली, स्पेन, बेल्जियम, फ्रान्सलगायतका देशमा यस संक्रमणबाट दशौँ हजार मानिसको ज्यान गएको छ।

यसैगरी भारतमा पनि यस कोरोना भाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्म ५६ हजार ३४२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। उक्त मन्त्रालयकाअनुसार शुक्रबार बिहानसम्म यस संक्रमणबाट १ हजार ८८६ जनाको मृत्यु पनि भएको छ भने दिनहूँ हजार भन्दा बढीको संख्यामा विरामी थपिने क्रम पनि जारी नै छ।

भारतको सो मन्त्रालयलकाअनुसार शुक्रबार बिहानसम्म यो रोगका ३७ हजार ९१६ जना संक्रमित अस्पतालमा उपचार गराइरहेका छन्। भारत सरकारले पनि पछिल्ला दिनहरुमा देशव्यापी लकडाउन गरिरहेको छ। यस अवस्थालाई थप दुइ साताको लागि लम्बाएको छ। भारतले यही मे ४ देखि लागू हुनेगरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ