arrow

पोखराको फिर्केपुल निर्माण छ महिनादेखि अलपत्र, वर्षादमा खोलाले घरवास उडाउने त्रासमा स्थानीय

logo
हरि पन्त
प्रकाशित २०७७ वैशाख २७ शनिबार
pokhara-firke-bridge.gif

पोखरा। सिद्धार्थचोक र त्यही नजिक रहको फिर्केपुल पोखराको मुटुमै छ । त्यही मुटुको सडक हुँदै सानाठूला हजारौं सवारी साधन दैनिक आवतजावत गर्छन् । त्यस सिद्धार्थचोक–फिर्के सडकमा दुवैतर्फ गरि २ सय व्यवसायी छन् । उनीहरूको रोजीरोटी त्यहींको व्यवसायले चलेको थियो । तर अहिले ती व्यवसायीको रोजीरोटी मात्र खोसिएको छैन, छ महिनादेखि दैनिक हजारौं सवारीसाधन आवतजावतलाई अवरुद्ध बनाइएको छ । योसम्मकी मानिसहरू आवतजावत गर्न समेत समस्या हुने बनाइएको छ ।

यसको एकमात्र कारण हो फिर्के पुल । स्मार्टसिटी बनाउने भन्दै गत मंसिर २१ गते भैरहेको फिर्केपुल भत्काइयो । डोजर चलाएर ठूलो र डरलाग्दो खाल्डो बनाइयो । त्यसपछि न पुल निर्माण गर्ने ठेकेदार आए, न सम्बन्धित सरोकारवाला । स्थानीयको लगातारको दवावपछि फागुनमा काम सुचारु गरियो । दुई तीन दिन काम भयो तर काम रोकियो । काम के कारणले रोकियो केही पत्तो छैन ।

चैतबाट लकडाउन शुरु भयो । करिब दुई महिना लामो लकडाउन अवधिमा समेत पुल निर्माण कार्य अघि बढ्न सकेन । पुल निर्माणको समयावधि जम्मा १८ महिनाको छ । तर छ महिना त्यत्तिकै गुज्रिसकेको छ । अझ वर्षातको समय शुरु हुँदै गर्दा फिर्केले कतिको घरबास उढाउने हो भन्दै स्थानीयको निद हराएको छ । शुक्रबार केही स्थानीय वडा कार्यालय र महानगरमा डेलिगेशन समेत गएका थिए । छ महिनासम्म चुप लागेर बसेका महानगरका मेयर मानबहादुर जिसीले स्थानियलाई अब काम हुन्छ भन्ने आश्वासन मात्र दिएर पठाएका थिए ।

यसअघि फिर्के खोलामा हिमपाइप राखेर कल्भर्ट बनाइएको थियो । त्यही कल्भर्टमाथि पुरेर पोखरा ४ र ५ जोड्ने सडक बनाइएको थियो । त्यही सडकले वर्षाैंदेखि चल्दै आएको थियो । जब महानगरमा नयाँ जनप्रतिनिधिको आगमन भयो, अनि यो पुल काम नलाग्ने भयो, स्मार्ट सिटीको बाधक भयो । यही बाहनामा गत मंसिर २१ गते एक्कासी डोजर हानियो सडक मुनि खोलामा राखिएको हिमपाइप निकालेर फालियो, भैरहेको संरचना भताभुंग पारियो ।

जुनसुकै भौतिक संरचना निर्माण गर्दा स्थानीय तथा छिमेकीसंग सरसल्लाह गर्नुपर्छ तर यहाँ नयाँ पुल बन्दैछ भन्ने स्थानीयलाई अत्तोपत्तो थिएन । जब डोजर आयो अनिमात्र स्थानीयले चाल पाए, फिर्केमा नयाँ पुल बन्दैछ।

स्थानीय सबै आश्चर्य चकित परे । केही स्थानीयले सो कार्यप्रति विमती पनि जनाए । तर विकासमा बाधक बन्न हुँदैन भन्दै एक दुई दिनमै सब चुप लागे । स्थानीय त चुप लागे, संगै पुल निर्माण कार्य पनि चूप लागेजस्तै भयो । २३ मिटरको उक्त पुलको लागत चार करोड ५५ हजार रुपैयाँ छ । पुल निर्माणको ठेक्का सानेपा    ललितपुरको शान्ति र आरोग्य जेभीले पाएको छ ।

बाटो भत्काइसकेपछि उक्त सडकको विकल्प दिनुपर्थ्यो तर दिइएन । निर्माण कार्य पनि अघि बढ्न सकेन । यही रिसमा स्थानीय आगो भए । वडा, महानगर सबैतिर धाए । धेरैलाई फोन गरे, कसैले उनीहरूको आवाज सुनेनन् । स्थानीय अदालत जाने चेतावनीसंगै काम शुरु भयो तर दुई तीन दिन भन्दा बढी काम हुन सकेन । त्यहाँस्थित स्थानीयवासी र व्यवसायीका जम्मा दुइै वटामात्र माग छ, ‘वैकल्पिक बाटो खुल्नुपर्यो, पुन निर्माण कार्य तुरुन्त शुरु हुनुपर्यो ।’

स्थानीय कृष्ण पराजुली ढाका मोहनले स्थानीय जनता काम रोक्ने पक्षमा नभएको तर तुरुन्त वैकल्पिक बाटो निर्माण गर्नुपर्नेमा जोड दिए । उनले ‘सार्वजनिक जग्गा छुट्याएर वैकल्पिक बाटो बनाइदिनुस्’ भन्दा वडाध्यक्षहरू विभिन्न बाहना बनाउँदै गैरजिम्मेवार बन्ने गरेको भन्दै आक्रोशित भए । पुल निर्माण कार्य तुरुन्त हुनुपर्ने उनी बताउँछन् । पराजुली गत स्थानीय निर्वाचनमा एमालेकातर्फबाट वडाध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए ।

अर्का स्थानीय भीष्म अधिकारी पनि फिर्केको समस्याप्रति चिन्तित छन् । उनले पुल बन्ने ठाउँमा जार्वजनिक जग्गा कति छ भन्ने स्थानीय र वडालाई जानकारी नभएको बताए । उनले यस विषयमा महानगर निकम्मा बनेको भन्दै निकै आक्रोशित बने ।

स्थानीयवासी कृष्णप्रसाद पराजुली ढाकामोहन प्रश्न गर्छन्, ‘पोखराको मुटुमा त यस्तो छ अन्य ठाउँमा कस्तो होला ?’ महानगरपालिकाको अकर्मण्यताकै कारण यो पुल अलपत्र परेको उनी बताउँछन् । उनी भन्छन्, ‘पुल भत्काएर छोडिदिंदा स्थानीय र यहाँका उठिबास लाग्ने अवस्था आएको छ ।’ पुल निर्माणको विरोध कसैले नगरेको उनले बताए ।

पुल निर्माण गर्नका लागि बाटो भत्काइए पछि सबैभन्दा बढी पीडित बनेका छन् सिद्धार्थचोक–फिर्केका २०० व्यवसायी । उनीहरूको व्यवसाय २ महिनादेखि ठप्प छ । ‘घरभाडा जसरी बुझाउनुपर्छ, बैंकले १ दिन छाड्दैन’, उनीहरूले पीडा पोखिरहेका छन् ।

यसैमध्येका एक व्यवसायी युगमराज अगस्ती पुल निर्माण गर्नका लागि बाटो भत्काइएपछि शब्दमा व्यक्त गर्नै नसकिने पीडा भएको बताउँछन् । उनले चट्याङ शैलीमा विकास निर्माण गर्न खोजिएको भन्दै आक्रोश पाखे । कसैसंग सरसल्लाह नगरी राजा महाराजाको हुकुमी शासनमा जस्तै गैरजिम्मेवार ढंगबाट विकास निर्माण गर्न खोजिएको उनले बताए ।

अर्का स्थानीय दीपक मुल्मीले पुलले आफूलाई सबैभन्दा धेरै क्षति पुर्याउने भन्दै उचित क्षतिपूर्तिको माग गरे । पुल निर्माण हुन थालेपछि उनको २ वटा सटर बन्द अवस्थामा छ । भवन चर्किएको छ ।

स्थानीय व्यवसायी गणेश विकले आफूहरू निकै छट्पटाएको बताए । यो ठाउँ छाडेर अन्यत्रै जानुपर्ने बाध्यता आफूहरुलाई परेको बताए । उनले भने, ‘घरभाडा जसरी तिर्नुपर्छ । घर व्यवहार चलाउनुपर्छ । बाटो भत्काइएपछि निकै समस्या भएको छ ।’

यता, पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा–५ का वडाध्यक्ष धनबहादुर नेपालीले फिर्केको समस्या भनेजस्तो नभएको प्रतिक्रिया दिए । उनले पुलको डिजाइन २३ फिटबाट १७ फिटमा झार्ने र नयाँ प्रक्रिया अघि बढाउँदा केही ढिलाई भएको स्वीकार गरे । उनले पोखराका लागि सबैभन्दा बढी आवश्यक पर्ने पुल भएकाले अब छिट्टै शुरु हुने बताए । ‘हामी अघि बढिरेका छौं । केही केही समस्या आएर रोकिएको जस्तो भएको हो । छिट्टै, उनले भने ।

पोखरा–४ का वडाध्यक्ष शंकरप्रसाद बाँस्तोलाले स्थानीयको बुझाई नै गलत भएको प्रतिक्रिया दिए । उनले स्थानीयको माग र आवश्यकता अनुसार नै पुल निर्माण गर्न लागिएको बताए । वडाध्यक्ष बाँस्तोला वैकल्पिक बाटो नजिकै २ वटा रहेकाले त्यति समस्या नहुने भन्दै स्थानीयको आक्रोशप्रति पन्छिन खोजे । उनले पोखरा–४ कै पहलमा फिर्के पुल बन्न लागेको भन्दै यो काम छिटो भन्दा छिटो सम्पन्न गर्न आफू लागिपरेको जानकारी दिए ।

पुल निर्माण परियोजनाका इन्जिनियर रामनारायण यादवले पहिलो स्थानीयकै अवरोधले पुल निर्माण रोकिएको र पछिल्लो समयमा खोलामा कडा चट्टान रहेकाले चट्टान भत्काउने मेशिन अभावमा काम रोकिएको बताए । मेशिन आउने वित्तिकै निर्माण कार्य शुरु हुने उनले बताए । इन्जिनियर यादवले ठाउँ साँघुरो भएकाले पुलकै छेउबाट वैकल्पिक बाटो दिन नमिल्ने बताए ।

केन्द्रीय सरकार र पोखरा महानगरको लगानीमा पुल निर्माण गर्न लागिएको हो । २३ मिटरको पुल रिसाइज गर्ने भन्दै १७ मिटरमा झारिएको छ र पुल निर्माणको लागत चार करोड ५५ हजार रुपैयाँ छ । पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने मिति २०७७ मंसिर ५ गते रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ