arrow

लकडाउनमा सडक निर्माण गर्दा स्थानीयको अवरोध, प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाईफायर, दुई घाइते

logo
प्रकाशित २०७७ वैशाख २८ आइतबार
Dailekh_District.png

दुल्लू । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । 

ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ । 

सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लङ्घन गरी ५०–६० स्थानीयवासी जम्मा भएको जानकारी पाएपछि प्रहरी सो ठाउँमा पुगेको थियो ।
 
प्रहरी पुगेपछि एक्कासि प्रहरीमाथि स्थानीयवासीद्वारा आक्रमण भएपछि बाध्य भएर भीड नियन्त्रणमा लिन जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।
 
“लकडाउन उल्लङ्घन गरी सडक खन्ने क्रममा विवाद भएको जानकारीपछि बोलाइएको प्रहरीमाथि आक्रमण हुँदा सो घटना भएको हो”, नगरपालिकाका उपप्रमुख तारा शाहीले भने । उनका अनुसार प्रहरीकोे बर्दीसमेत च्यातिएको भन्ने खबर आएको छ । 

शनिबार दिउँसो मात्रै सहमतिका आधारमा सडक खन्ने भनेर काम गर्न आग्रह गरिएको थियो ।
 
उपप्रमुख शाहीले आफूहरु दिउँसो त्यहीँ बसेको र मान्छेहरुको भीडभाड पनि धेरै भएकाले आफूहरुले प्रहरीलाई त्यहाँ पठाएको बताए । उनले त्यो घटनाका बारेमा सबै बसेर, सल्लाह गरेर नियम कानूनअनुसार अघि बढ्ने पनि बताए । 

अहिले घटनास्थलमा थप सुरक्षा बल दुल्लूबाट पठाइएको र स्थिति सामान्य भएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान हुने र आवश्यक छानबिन गरी कारवाही अघि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । प्रदेश सरकारको रु २० लाख र नगरपालिकाको रु पाँच लाख साझेदारीसहित रु २५ लाख  रकममा उपभोक्ता समितिमार्फत उक्त सडक निर्माणकार्य भइरहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ