arrow

कहालीलाग्दो अवस्थामा पुगेको अर्थतन्त्रको चुनौती सामना गर्न मिनेन्द्रको सुझाव (भिडियो)

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २९ सोमबार
minendra-rijal-mp-nc.jpg

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले महामारीको अवस्था आंकलन गर्न नसकिने भएकोले जेठ १५ मा सानो आकारको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्।प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकताको छलफलमा भाग लिँदै कांगेस नेता रिजालले अहिले सानो आकारमा बजेट ल्याएर परिस्थितिको मुल्याङ्कन गरी साउन पछि पुरक बजेट ल्याउन सुझाव दिएका हुन्।

कोरोना महामारीको प्रभाव अहिले नै अनुमान गर्न नसकिने भएकोले अहिले नै ठूलो आकारको बजेट ल्याउँदा प्रभावकारी हुन नसक्ने रिजालको ठम्याई छ। ‘संक्रमण कति लामोसँग फैलिने हो थाहा छैन, कृषिको चुनौती के हुन्छ थाहा छैन, पर्यटन तथा स्वास्थ्यको क्षेत्रमा क्षति के हुने अनुमान गर्न सक्ने अवस्थामा छैनौ।

भबिष्यमा कुन खालको चुनौती आउँछ हामीलाई थाहा छैन, रिजालले भने ‘यो अवस्थामा संविधान अनुसार बजेट ल्याएर मात्र हामी यो कहरबाट उम्किन सक्छौं जस्तो लाग्दैन । त्यसैले अहिलेको अवस्थामा सीमित बजेट नै उपयुक्त हुन्छ। त्यसैले साउन पछि पुरक बजेट ल्याउन ठिक हुन्छ।“

नेपाली अर्थतन्त्रको अवस्था कोरोना महामारी सुरु हुनु भन्दा अगाडि समेत राम्रो नरहेको बिभिन्न उदाहरण दिदै रिजालले कोरोनाको कारण अर्थतन्त्र अझै कहालीलाग्दो अवस्थामा पुगेको बताए। चालु आर्थिक वर्षको सुरुको ६ महिनामा पनि अर्थतन्त्र चिन्ताजनक अवस्थामा नै रहेको उल्लेख गर्दै उनले भने, ‘‘चालु आर्थिक वर्षको बैशाख २८ गतेसम्म राजस्व ६ सय ४ अर्ब मात्रै छ। अनुदान १० अर्ब र अन्य आम्दानी ४४ अर्ब मात्रै रहेको हुनु निक्कै न्युन हो। जम्मा खर्च ७ सय ४५ अर्ब रहेको छ। चालु खर्च ५ सय ५८ अर्ब, पूँजिगत १ सय १३ अर्ब र वित्तिय क्षेत्रमा ७४ अर्ब मात्रै खर्च भएको छ। यस्तो अवस्थामा कोरोना महामारीका करण लक्ष्य अनुसारको राजस्व संकलन र खर्च गर्न सकिएन भन्नुमा तथ्य संगत छैन।"

सुरुको ६ महिनामा खर्च जम्मा २८ प्रतिशतमात्रै गर्न सकेको नेता रिजालले बताए। उनले राजस्व वृद्धिदर २९ प्रतिशतले गर्ने लक्ष्य सरकारले लिएपनि ६ महिनामा जम्मा १३ प्रतिशत मात्रै बढाउन सकेको बताए। प्रदेशको खर्च १३ प्रतिशत स्थानीय तहको ६ सय ६६ गाउँपालिका र नगरपालिकामा २३ प्रतिशत मात्रै खर्च गर्न सकेकोले सरकारले राखेको लक्ष्य भेट्न नसक्ने बताए। राष्ट्रिय गौरबका आयोजनाहरु पनि लक्ष्य अनुसारको खर्च हुन नसकेको उनले बताए। वैदेशिक रोजगारीमा गएका व्यक्ति रोजगारी गुमाएर स्वदेश फर्किने अवस्थामा उनीहरुलाई रोजगारी र कृषिको क्षेत्रमा कसरी जोड्न सकिन्छ भनेर बजेटले समेट्नु पर्ने रिजालले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ