arrow

बिदेशमा अलपत्र परेका नेपालीलाई घर फिर्ता ल्याउन गगनले दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव

प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश स्नेही

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
gagan20.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न थापाले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्। विभिन्न देशमा अफ्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ता गराउने बिषयमा संसदमा छलफल होस् भन्नका लागि सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको थापाले जानकारी दिए।

थापाको प्रस्तावमा सांसदहरु डा. डिला संग्रौला र प्रकाश रसाईली(स्नेही)ले समर्थन गरेका छन्। उक्त प्रस्तावमा थापाले बिदेशमा अलपत्र रहेका नेपालीहरुलाई राज्यले के कसरि सहयोग गर्न सक्छ भन्ने सुझाव सहित प्रस्ताव दर्ता गरेका हुन्। 

रोजगारी, अधय्यन, घुमघाम, पारिवारिक भेटघाट आदिका लागि नेपाल बाहिर रहेका नेपालीहरु बिदेशमा अलपत्र परेको समाचारहरु आईरहेका छन्। उक्त संख्या दिनानुदिन बढ्ने क्रममा रहेको छ। उनीहरुलाई स्वेदेश फर्काउनका लगि राज्यले उचित समयमा सहि कदम चालेमा अलपत्र रहेका नेपालीहरुको समस्या समाधान गर्न सकिने थापाको तर्क रहेको छ।

‘संसारको जुन सुकै कुनामा रहेका हुन नेपाल आउन पाउनु उनीहरूको न्युनतम हक हो र तिनलाई उद्वार गरेर नेपाल ल्याउने राज्यको कर्तव्य हो। काम गर्न जसरी जहाँ गएको भए पनि, डकुमेन्टेड भए पनि अनडकुमेन्टेड भएपनि, अध्ययनमा गएको भए पनि भिजिटमा गएको भए पनि ति नेपाल सरकारले पठाएर गएका नेपाली नागरिक हुन। रहरले गएका होइनन्। तिनको पैसा आउँदै गर्दा तिनलाई हामीले पठाएकोमा गर्व गर्‍यौं। तिनीहरूले रगत र पसिना वगाएको पैसाले तिनको परिवार मात्रै होइन राष्ट्रिय अर्थतन्त्र धानेको छ।

आज पनि ति रहरले नेपाल आउन खोजेका होइनन। हिजो वांच्ने र परिवार वचाउने विकल्प खोज्दै विदेश गए आज संकटका वेला अन्य कुनै आशा र आधार नभएपछि घर परिवार र देश सम्झेर आउन खोजेका हुन। यो विषयमा कुनै छनोट हुन सक्दैन। सरकारले यो संवेदनशिलतालाई मध्यनजर गर्दै दायित्वबोध नगर्दासम्म विदेशमा रहेका नेपालीको उद्धार राहात र स्वदेश फिर्ताको प्रकृया अगाडि बढ्ने देखिदैन बरु संभव छैन भनेर पन्छिनै खोजेको देखिन्छ’ थापाले प्रस्तावमा भनेका छन्।

विश्वका अरु देशहरुले आफ्ना नागरिकहरु स्वदेश लगेको र लग्न नसकेको अवस्थामा सम्बन्धित ठाउँमा सहयोग गरेको उदाहरण पेश गर्दै थापाले भने ‘केही समय अगाडि चीनको वुहानमा रहेका १७५ जनाहरुलाई उद्धार गरेर स्वदेश ल्याइएको आफ्नै अनुभव छ  भने अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय मिसनमा काम गर्नेहरुलाई स्वदेश ल्याउनका लागि नेपाल सरकारले निर्णय गरिसकेको छ।

लकडाउनकै बेलामा पनि नेपालबाट कयौँ चार्टर उडानहरु भए र कयौँ देशका नागरिकहरु आफ्नो देश गए। यतिवेला विभिन्न देशहरूले आफ्ना आप्रावासी श्रमिकहरूलाई स्वदेश फिर्ता लगिरहेका छन, लैजाने क्रममा छन। युएइमा रहेका ४० हजार पाकिस्तानी श्रमिकले घर फर्किने आवेदन दिइसकेका छन भने उनिहरूलाई घर फर्काउन पाकिस्तानले प्रकृया शुरु गरिसकेको छ। फिलिपिन्सले घर फिर्ता र विस्थापित आप्रवासी श्रमिकका लागि राहातको व्यवस्था गरेको छ।

पाकिस्तानले रासन सहयोग गरेको छ। बंगलादेशले औषधी र खाद्यान्न सहित मालदिभ्समा पानी जहाज पठाएको छ। छिमेकी भारतले पनि आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउने अभियान शुरु गरिसकेको छ। यी सवै देशहरूले राहत, उद्धार, स्वदेश फिर्ती, परीक्षण, क्वारिन्टाइन र घर फिर्ताका लागि सवै तयारी पुरा गरी काम गरिरहेका छन।‘नेता थापाले संग्रौला र रसाईलीसँग मिलेर दर्ता गरेको प्रस्तावमा तत्काल गर्नु पर्ने कार्यहरु भनेर केहि बुँदाहरु उल्लेख गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ