- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बलिया छिमेकीले गिद्दे नजर गाड्दा र आफ्नो आँगनमा पराइको रजाई देख्दाको पीडाले समय–समयमा सबै नेपालीको मन मुटु दुख्छ ! वारीबाट हाम्रै भुमि हो भनेर भन्नुको विकल्प छैन हामीलाई । केही हाम्रो त्रुटी र छिमेकीको निरन्तरको दादागिरीले हाम्रा आँगनहरु पराइको अधिनमा रहेका छन् । लाग्दछ, फिरौतीमा परेको बालकको पीडा र अतिक्रमणमा परेको हाम्रो भूमि उस्ताउस्तै हुन ।
“नागरिकको भोको पेटले राष्ट्रियता देख्दैन रासन नै पहिलो रोजाई हुन्छ, बेरोजगार ब्यक्ति सधैं रोजिरोटीको खोजीमा हुन्छ, नकि राष्ट्रियताको” भने जस्तै हाम्रा सिमाका जनता गरिबी, बेरोजगारी, असुरक्षित जस्ता समस्या भोगीरहेका छन् । सवै जनताको सुरक्षा, रोजिरोटीको पहिलो प्रवन्ध त्यस देशको सरकारले गर्नुपर्छ । तर, हाम्रो देशको नेतृत्व बर्ग बेखबर देखिदा माथिका मर्मस्पर्शीहरु भनाइहरु सत्य सावित हुन्छन् ।
कस्तो विडम्बना हामी हाम्रो धर्तीको लागि प्रमाण पेश गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा छौं । दुई बलिया छिमेकी मुलुकको हेपाहा प्रवृति र हाम्रा राज्य सञ्चाकहरुको निरिहता । जसका कारण हाम्रो धर्तीमा छिमेकीको कुदृष्टि लागिरहेको छ । जसको पछिल्लो उदाहरण हो लिपुलेक, लिम्पियाधुरा र कालापानी ।
राष्ट्रियता आफु अथवा आफ्ना पूर्खा जन्मेको, हुर्केको देशप्रति गरिने अगाध प्रेम, श्रद्धा र समर्पण हो । राष्ट्रियता त्यस देशको पहिचान पनि हो । राष्ट्रियता भौगोलिक सिमाना संगसंगै जनताको भावना संग गासिएको हुन्छ । नेपालको राष्ट्रियता देशको कला, संस्कृति, भाषा, सभ्यता र भुखण्डसंग जोडीएको छ । यसको संरक्षण नै राष्ट्रियता संगको प्रेम, श्रद्धा र समर्पण हो । तर, हाम्रो देशका जनता विभिन्न भुखण्डमा रही छिमेकी राष्ट्रहरुको दादागिरी र हस्तक्षेपका कारण निरिह बनेका छन् । यसैको ज्वतन्त उदाहरण हो कालापानी, लिपुलेक, लिम्पियाधुरा पनि । नेपालको राष्ट्रिय स्वाधिनताको संरक्षण र सम्वर्धनमा दुई छिमेकी राष्ट्र भारत र चीनले बेलाबेला अतिक्रमण गरिरहेको छ । यो नौलौ कुरा थिएन् तर, संकटमा पनि यसरी दादागिरी गर्नुले हामीलाई थप पीडा बोध भएको मात्र हो ।
सिङ्गो विश्व कोरोनासंग लड्न एक आपसमा सहकार्य गर्दै, एकअर्को राष्ट्रप्रति समबेदना, साहानुभुती र सहायतामा जुटेको बेला भारतले लिपुलेकमा एकतर्फी रुपमा उट्घाटन गरी सडक खन्ने कार्यको जुन प्रारम्भ गरेको छ । भारतको नेपाल माथिको कुदृष्टिले विश्व जगत एक पटक फेरी हसाएको छ । यो कदापी पनि सह्य हुदैन ।
मानव जाति रहने की नरहने यस्तो विषम परिस्थिति विश्व जगत हायलकायल भएको बेला नेपालको माटो माथिको हस्तक्षेपले स्वाधिनता माथि प्रहार गरेको छ ।
प्रत्येक राष्ट्रको इतिहासमा त्यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर राष्ट्रको अस्तित्वको रक्षा गर्नुपर्ने घडी पनि आउँछ । आज नेपालमा त्यस्तो घडी आएको छ । राष्ट्रको रक्षा गर्न सवैमा मनोबल बढाउनु पर्ने बेला आएको छ । खोक्रोराष्ट्रबादलाई त्यागेर सक्कली राष्ट्रियताको निम्ति नेपाली जनताका लागि फेरी सोचनीय विषय बनेको छ ।
कहिले नाकाबन्दीले नेपालीलाई पिरोल्यो, कहिले माहाकालीको पानी सुकायो, कहिलो महाकाली नदिका भारततर्फ तर्फका ढोका बन्द गरेर नेपालको भूमि बगायो । यति मात्र होइन नेपाल र भारतको सिमा छुट्टयाउने ८ हजार ५ सय ५३ सिमास्तम्भ मध्ये एक हजार पाँच सय सिमास्तम्भ हराएका छन् । यसमा पनि बैज्ञानिक रुपमा नापी गर्न सकिएन भने सिमा घटबढ हुने सम्भावना रहिआएको छ । सधैं भाषणमा रोटी र बेटीको सम्बन्ध छ भन्दै “ब्ल्याक मेल” गरिरहने भारत मित्र राष्ट्र नभएर, शत्रु राष्ट्र नै हो कि पनि लाग्छ । यस्तो संकटमा गरिएका यी निकृष्ट हर्कतले यही प्रमाणित गर्दछ ।
केही महिना अगाडि भारतले आफ्नो राजनैतिक नक्सामा लिपुलेक र कालापानी राख्दा ब्यापक विरोध भयो । बीचको अवधिमा सरकारले कुटनैतिक रुपमा यो समस्या समाधान गरी सक्नु पर्दथ्यो । नेपाल सरकार आफ्ना आन्तरिक भागबण्डामा ब्यस्त रह्यो । यस्तो संकट भैरहदा पनि गुटगत अंशबण्डा र आन्तरिक पार्टीको शक्ति संघर्षले सरकार ढुलमुल भएको छ । राष्ट्रप्रेमलाई दाउलगाएर नेपालको राष्ट्रिय ढुकुटी रित्याएर, सुसासनको धज्जी उडाउँदै नागरिकलाई बेसाहारा बनाइएको छ ।
देशका सवै राजनीतिक शक्तिहरुसंग समन्वय, सहकार्य गरेर एउटै धागोमा उनेर राष्ट्रियता र कोरोना संक्रमणका विषयमा सामान धारणा बनाएर अगाडि बढ्ने बेला भएको छ । देशको आन्तरिक कलहलाई टाढा राखेर नेपालका गुमेका भूमि फिर्ता माग्ने, देशका विपक्षमा भएका सन्धि सम्झौंताहरु खारेज गर्न तर्फ नेपालका सवै क्रियासिल राजनीतिक दललाई सहकार्य र समन्वयको बाटोबाट देशको सवै शक्ति भुमि मिच्नेका विरुद्धमा लाग्नु पर्ने बेला भएको छ । तवमात्र राष्ट्रियता जोगिने छ । नत्रभने कायरपनले राष्ट्रियता बच्दैन् ।
कुटनीतिक र राजनीतिक सम्बाद गरेर आफ्ना सवै भुगोलको रक्षा गर्नु पहिलो दायित्व नेपाल सरकारको हो । दुईतिहाइ बहुमतको बलियो सरकार बनेको धेरै समय वितिसकेको छ । प्रतिपक्षमा हुँदा राष्ट्रियताको ढोल पिट्ने अहिलेका प्रधानमन्त्री खडक प्रसाद ओली कुम्भकर्ण सुते झै सुतिरहनुले फेरी भारतले संकटको मौका छोपेर अतिक्रमण सुरु गरेको छ ।
हाम्रा भूमि भारतले जर्वजस्ती लिएको छ । ती सवै क्षेत्रको प्रमाणका रुपमा नेपाल संग थुप्रै प्रमाणहरु छन् । त्यहाका स्थानीयहरुले तिरेको मालपोत, राणाशासन कालमा कुटी, नाबी, गन्जी, छाङरु र तिङ्कर पाँचै गाँउको मालपोत उठाउने भनी नेपाल सरकारबाट त्यहाँका जिम्मावलहरुलाई दिएको सनद–पत्र त्यहाँका बयोबृद्ध नागरिहरु संग भएको प्रमाण, सन् १९३७ को जेबी टासीनको भारतको नक्सामा पनि सुगौली सन्धीकै आधारमा कुटी, नाबी, गुन्जी समेतको सम्पूर्ण क्षेत्र नेपाल तर्फ नै रहेको तथ्यांक, जनगणना लगायत थुप्रै प्रमाणहरु छन् ।
हाम्रो बलियो कुटनैतिक प्रयास नहुनुले हाम्रा महत्व बोकेका आँगनहरु, बहुमुल्य जडीबुटी, यार्सागुम्बा, कस्तूरी, न्याहुर जस्ता दुर्लभ बन्यजन्तु, पाँचऔले, खनिज लगायत प्राकृतिक स्रोतसाधनले सम्पन्न भएको यो विशेष महत्व भएको क्षेत्रमाथि बलिया छिमेकीको निरन्तरको अतिक्रमणले हाम्रो स्वाधिनतामा माथि आक्रमण भएको छ । सिमा मिचिदा पनि सरकार प्रष्ट बोल्न सक्दैन किन कि सत्ता प्राप्तीको लागि उनीहरुकै आर्शिवाद पर्खिनु पर्ने यो निरिहताले नेपाली भुमि माथि निरन्तर बुट बजिरहेको छ । सवै नेपाली जनजनले कोरोनाबाट त बच्न जरुरी छ साथसाथै राष्ट्रियता जोगाउन पुर्खाले गरेको त्यो लडाई फेरी हामीले पुरा गर्ने बेला आएको छ । सवै जाग्नुपर्छ । सवै उठ्नु पर्छ ?
दिल्ली र बेईजिङको हस्तक्षेपकारी मनोविज्ञानबाट अव हामी सचेत हुन जरुरी छ । हाम्रा गुमेका भूमिका बारेमा परराष्ट्रविद, सिमाबिद, स्थानीय बयोबृद्ध नागरिक, भुगोलविदहरु संग समन्वय गरेर राजनीतिक दलहरुभित्र बिश्वास स्थापित गरेर समग्र शक्ति, सवै एक भएर स–प्रमाण ठाडो शिर गरेर कुटनैतिक पहल गर्नुपर्छ ।
नेपाली जनता सवै एकत्रित भएर साथ दिन तयार छन् जनजनको जिव्रमो हाम्रो लिपुलेक, हाम्रो कालापानी छ । हाम्रो भुमिमा अर्काको बुट सहन सक्दैनौं । यहि शब्द जनजनको जिव्रोमा छ । सरकारले गुमेका भुगोलका बारेमा देशभित्र समान धारणा बनाएर सवै विज्ञहरुको परामर्शमा पहल कदमी गर्नु जरुरी छ र स्थानीय जनताहरुलाई रोजीरोटीका लागि उपयुक्त रोजगारी सिर्जना गरेर राष्ट्रियताका लागि बलियो मनोविज्ञान बनाउन समय समयमा प्रयत्न गर्नुपर्छ ।
हाम्रो माटोका लागि सबै एक हौं, यसैमा हाम्रो भलो छ । हाम्रो पुर्खाको बल एक चोटी हाम्रा लागि अग्नी परक्षा भएको छ । सवै शक्ति देशको लागि एकत्रित गरौं ।
जय जय गोरख, जय जय काली, जय कालापानी, जय लिपुलेक, नेपाल आमाको जय ! जय !! जय !!!