arrow

अमेरिकी उपराष्ट्रपतिद्वारा ‘सेल्फ क्वारेन्टाइन’मा नबस्ने

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख २९ सोमबार
mike-pence-usa.jpg

वासिङ्टन। अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले सेल्फ क्वारेन्टाइनमा नबस्ने बताएका छन्। आफ्ना सहयोगीलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएपनि उनले सेल्फ क्वारेन्टाइनमा बस्न अस्वीकार गरेका हुन्।  

उपराष्ट्रपतिका प्रवक्ता डेभिन ओमाल्लीले उपराष्ट्रपति पेन्स क्वारेन्टाइनमा बस्ने कुनै योजना नरहेको र नियमित रुपमा आफ्नो काम गरिरहने जानकारी दिइन्। उपराष्ट्रपति पेन्सका एक जना सहयोगी तथा सञ्चार सचिव केट मिल्लरलाई कोरोनाभाइरसको सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन्।

सहयोगीलाई सङ्क्रमण भएकाले उपराष्ट्रपति पेन्सलाई पनि सङ्क्रमण भएको हुन सक्ने, नदेखिएको हुन सक्ने र उनीबाट अरुलाई पनि सर्न सक्ने भएकाले उन सेल्फ क्वारेन्टाइनमा बस्नु उपयुक्त हुने सुझाव धेरैले दिएका थिए।

तर उनले भने आफु नियमितरुपमा कार्यालय जाने, काम गर्ने र आफ्नै कार्यालयको स्वास्थ्य ईकाइसँग निरन्तर परामर्शमा रहने जानकारी दिए। उपराष्ट्रपति पेन्सका अर्का एक सहयोगीले पहिलाभन्दा केही सतर्कता अपनाउने तर पूर्ण रुपमा सेल्फ क्वारेन्टाइनमा भने नबस्ने निर्णय भएको बताएका छन्।

सञ्चार सचिव मिलरलाई गत शुक्रबार कोरोनासङ्क्रमण भएको पुष्टि गरिएको थियो। ह्वाइट हाउसमा कार्यरत भएका कोरोनाभाइरसबाट सङ्क्रमितमध्ये उनी दोस्रो व्यक्ति हुन्।

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सवैभन्दा धेरै संख्या अमेरिकामै रहेको छ। पछिल्लो विवरण अनुसार अमेरिकामा कोरोनाका कारण १३ लाख २८ हजार २०१ जना विरामी भएका छन् भने ७९ हजार ५०८ जनाको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ