ट्रम्पले फेरि गरे पत्रकारको अपमान, अमेरिकामा कोरोनाबाट मृत्युदर किन बढ्यो भनी चीनलाई सोध्न आग्रह
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
584
Shares
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसबाट बढिरहेको मृत्युदरबारे चीनलाई सोध्न आग्रह गरेका छन् ।
सीबीएस न्यूजकी पत्रकार वेइजा जियाङले सोधेको प्रश्नमा जवाफ दिँदै ट्रम्पले अमेरिकामा कोरोनाबाट मृत्युदर बढ्नुमा चीनको हात रहेको आरोप लगाए ।
एसियन अमेरिकन रिपोर्टर जियाङको प्रश्नलाई सहजै उत्तर दिने क्रममा ट्रम्पले भने, ‘जब तपाई चीनलाई प्रश्न गर्नुहुन्छ त्यसको जवाफ पाउनु हुनेछ ।’
मलाई नै किन विशेष गरी चीनलाई सोध्न भनेर भनेको ? भनी रिपोर्टरले फेरि सोध्दा ट्रम्पले भने, ‘मैले कसैलाई विशेष गरी भनेको हैन जोसुकैलाई भनेको हुँ ।’ जसले यस्तो फोहरी प्रश्न सोध्छन् उनीहरुलाई भनेको हुँ ।’
यसरी ट्रम्पले एक पटक फेरि पत्रकारको अपमान गरेका छन् । कोरोना भाइरस सम्बन्ध पत्रकार सम्मेलनमा ट्रम्पले यो व्यवहार गरेका हुन् ।
तर रिपोर्टरले यो फोहरी प्रश्न नभएको भनी विवाद गर्न खोजे पनि ट्रम्पले त्यसलाई बेवास्ता गर्दै अगाडि बढ्न खोजे ।
त्यस लगत्तै अर्की पत्रकारले दुई वटा प्रश्न छन् भन्दै सोध्न खोज्दा उनले बेवास्ता गर्दै धन्यवाद दिएर हिँडे ।
ट्रम्पले पत्रकारलाई दुर्व्यवहार गरेको यो पहिलो घटना हैन । तर यसरी दुर्व्यवहार गर्दा नै पदीय गरिमा घट्ने पक्का छ ।
ट्रम्पले अमेरिकामा कोरोना फैलिएको दोष अमेरिकालाई दिँदै आएका छन् ।
यसैबीच अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दो क्रममा रहेको छ । लगातार दोस्रो दिन संक्रमितको संख्या घट्दै गएको छ । शनिबार संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेकामा आइतबार १३ लाख ६७ हजार ६३८ पुगे । त्यस्तै सोमबार १३ लाख ८५ हजार ७४५ पुग्यो ।
अर्थात् पछिल्ला दिनमा २५ देखि ३० हजारको हाराहारीमा संक्रमित भएकामा आइतबार २० हजारको हाराहारीमा मात्र संक्रमित भए । सोमबार त्यो संख्या घटेर १८ हजार १०७ मा झर्यो ।
त्यस्तै मृतक भने फेरि बढेका छन् । आइतबार ७ सय ८४ जना मात्र थपिएकामा सोमबार भने ९९९ जना थपिए । जबकि २ हजारको हाराहारीमा हरेक दिन अमेरिकामा मृत्यु हुँदै आएको थियो ।
८१ हजार ७८६ जनाको मृत्यु भएको छ । विश्वभर २ लाख ८७ हजार १३ को मृत्यु हुँदा ८१ हजार ७८६ जना अमेरिकाकै हुन् ।
त्यसैगरी अमेरिकामा २ लाख ६० हजार ७३४ जनालाई मात्र उपचारपछि निको भएको छ ।
सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ४७ हजार १५१ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार ३ पुगेको छ ।
न्यूजर्सीमा १ लाख ४१ हजार १३७ जना संक्रमित हुँदा ९ हजार ३४१ जनाको ज्यान गएको छ ।