arrow

कोरोना संक्रमित युवकको गाउँलाई सिल गरियो, परिवार र सम्पर्कमा आएका सबैको परीक्षण

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
Dakneshwori_Nagarpalika1.png

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ हटैलटोल र त्यसआसपास क्षेत्रलाई सिल गर्ने निर्णय गरेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए ।

वैशाख ९ गते चितवनबाट घर आएका ती युवकमा सोमबार कोरोना सङ्क्रमण देखापरेको हो । चितवनबाट आएका युवकलाई सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ स्थित कन्तचन्द्र मावि पातोको क्वारेन्टाइनमा राखिएको थियो । सङ्क्रमित युवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा अहिले भर्ना गरिएको छ ।

 उनलाई अस्पतालमा भर्ना गरी सङ्क्रमित युवकको टोल हटैल र उक्त गाउँका आसपास क्षेत्रलाई सिल गरिएको  जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले बताए । उनको वैशाख २५ गते स्वाब सङ्कलन गरिएको थियो । रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट सिधै घर गएका युवकको पछि रिपोर्ट आउँदा कोरोना सङ्क्रमण देखिएको छ ।
  
यसैबीच उनका परिवारसहित उनको सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना परीक्षण गरिने सूचना अधिकारी ठाकुरले बताए । उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति तथा उनका परिवारजनसहित उनीसँग सम्पर्कमा आएका अन्य सबै व्यक्तिको स्वाब परीक्षण गरिने उनको भनाइ छ । 

लकडाउनको समयमा वैशाख ९ गते डाक्नेश्वरी नगरपालिका–३ तरहीस्थित घर पुगेका उनीसहित १३ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ