arrow

भारतबाट लुकिछिपी भित्रिनेबाट कोरोनाको थप जोखिम 

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
naka.jpg

बाँके । बाँकेमा भारतबाट लुकिछिपी नेपाल भित्रिनेबाट कोरोना भाइरस संक्रमणको थप जोखिम बढेको छ ।  जमुनाहस्थित नेपाल–भारत मुख्य नाकामा आवतजावत ठप्प रहे पनि ग्रामीण नाकाबाट लुकिछिपी नेपाल छिर्ने क्रम दैनिक रुपमा चलिरहेको छ । मंगलबार मात्रै राप्तीपारिको कालाफाँटा र खडैचा नाकामा ५१  नेपाली आइपुगेका छन् । नेपाल प्रवेश गर्नेक्रममा कालाफाँटामा २९ र खडैचामा २२ जनालाई रोकिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । 

उनका अनुसार संक्रमण रोकथामका लागि नेपाल र भारतमा बन्दाबन्दी जारी रहे पनि दैनिकजसो नेपाली सीमा नाकासम्म आउने गरेका छन् । कतिपयले सीमामा तैनाथ सुरक्षाकर्मीलाई समेत छलेर नेपाल प्रवेश गर्ने गरेका छन् ।  भारतीय प्रहरीले नेपालीलाई सहजै नाकासम्म आउन दिएका कारण दैनिक रुपमा नेपाली सीमामा आउने गरेका छन् । लकडाउन लम्बिँदै जाँदा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गरिसकेका नेपालीलाई भारतीय प्रहरीले छाडेको पाइएको छ ।
एक हप्ताअघि मात्र राप्तीपारि नरैनापुर क्षेत्रमा भारतबाट प्रवेश गरेका २१ नेपालीलाई दशगजा क्षेत्रमै अस्थायी एकान्तबास बनाएर राखिएको छ । मंगलबार नाकामा आइपुगेका व्यक्तिलाई के गर्ने भन्ने बारेमा छलफल भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

नेपाल–भारत सीमामा लुकिछिपी भइरहेको आवागमन रोक्नका लागि बाँकेमा सीमाक्षेत्रको अनुगमन तथा निगरानी शुरु भएको छ ।   संक्रमण रोकथामका लागि मुख्य नाका जमुनाह ठप्प भए पनि ग्रामीण नाकाबाट अनधिकृत तरिकाले हुन सक्ने आवतजावत रोक्न सीमा क्षेत्रको अनुगमन तथा निगरानीमा कडाइ गरिएको प्रजिअ कुमारबहादुर खड्काले जानकारी दिए । बाँकेका २४ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । उनीहरुको  कोरोना  आइसोलेशन अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ