arrow

ग्रीसमा आप्रवासीद्वारा सञ्चालन गरिएको होटलमा लुटपात

logo
एएफपी,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
greece-map.jpg

अर्निसा। दर्जनौँ शरणार्थीलाई आप्रवासीहरूको व्यवस्थापनमा सञ्चालित एक होटेलमा सार्ने योजना गत हप्ता सार्वजनिक भएसँगै उत्तरी ग्रीसको एउटा गाउ अर्निसामा रहेको उक्त होटेलमा स्थानीयले लुटपात तथा आगजनी गरेका छन्।

गाउँका करिब २५० व्यक्ति होटलमा प्रबेश गरी बहुमुल्य सामानहरू लुट्नुका साथै आगजनी गरेका छन्। उनीहरूले खाली होटेलमा प्रवेश गरी उक्त हिंसात्मक कार्य गर्नुको उद्देश्य त्यस होटेलमा वा गाउँमा आप्रबासी शरणार्थीलाई राख्ने सरकारी योजनाको विरोध गर्नु रहेको बताएका छन्।

एक युवतीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भनिन्, “घटना साँच्चै त्रासदीपूर्ण थियो। गाउँलेहरूले होटेलमा राति ढुङ्गामुढा गरे, बहुमुल्य सामानहरू लुटेर लगे र अन्त्यमा आगो लगाए।” उनले एएफपीलाई भनिन्, “रातिमा भएको हुलदङ्गाका कारण होटेलको नजिकै बस्ने मेरा वृद्ध पिता त्रासले रातभर निदाउन सक्नुभएन।”

ग्रीक सरकारले शरणार्थी शिविरमा भएको भिडलाई कम गर्न करिब शरणार्थीका लागि निवेदन दिएका करिब दुई हजार आप्रवासीलाई टापूबाट मुख्यभूमी (वस्ती) मा सार्ने प्रतिवद्धता जाहेर गरेको केही समयपछि उक्त घटना भएको हो।

यूरोपमा कछुवा गतिको शरणार्थी व्यवस्थापन प्रणालीको भार सहनुपर्दा वाक्क बनेपछि स्थानीयले आफ्नो वस्तीमा आप्रवासीको ल्याउने कुराको विरोध गरेका हुन्।

सरकारका प्रवक्ता स्टेलियो पेटासले सोमबार भने मे ५ गते भएको उक्त घटना ‘गलत सूचना’का कारण सिर्जित अवस्था भएको बताएका छन्। आप्रबासीबाट कोरोनाभाइरस फैलिने भयका कारण स्थानीय विरोधमा उत्रिएका सरकारले बताएको छ।

प्रवक्ताले भने, “कोरोना भाइरसको सङ्कटको सुरूवातसँगै सरकारले आप्रवासीबाट सङ्क्रमण फैलिन नदिन विशेष उपायको अवलम्वन गरेको छ।” प्रहरीले होटेलमा भएको आक्रमणको अनुसन्धान थालेको र दोषीमाथि कारबाही चलाइने बताएको छ। घटनालाई लिएर अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन।

आगजनीबाट होटेलका झ्याल, ढोका तथा फर्निचरहरू फुटेका र कोठाहरू ढुङ्गा,ईटा र आगलागीपछि निस्केको खरानीले अछरल्ल बनेका प्रहरीले बताएको छ।

होटेलको मालिकले स्थानीयको डरका कारण आफ्नो परिचय नदिन वा समाचार नछाप्नसमेत याचना गरेका थिए भने केही स्थानीयले सरकारको निर्णयप्रति विरोध जनाउँदै आफुहरूको वस्तीमा शरणार्थीलाई स्वागत गर्न नसक्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ