arrow

बिपी भन्नुहुन्थ्यो –‘राष्ट्रियता खतरामा परेको बेला लोकतन्त्रको स्वार्थ गौण हुन्छ’

logo
बन्दना भट्टराई, 
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
bandana-bhattarai-krishi-st.jpg

‘अन्याय जसै भो जगतमा आगो तिमी बन्थ्यौ,
बैरीले जब पिर्दछ यी जनता, योद्धा  तिमी बन्थ्यौ ।
पाए दुःख निकै दबाब जनले स्वतन्त्रता खोसियो,
लम्क्यौ निकै कठोर पथमा नौलो बिहानी भयो ।’

स्मरणीय ज्ञात अज्ञात शहिदहरू, रात र दिन नभनी सबैको भलोका लागि लड्ने वीर योद्धाको  रगत र पसिनाको जिउँदो उदाहरण हो, लोकतन्त्र । करिब  ७० वर्षअघि,  विद्यार्थीहरूका वर्गीय अधिकारका निमित्त लड्दै जनताको स्वतन्त्रता ,सार्वभौमिकता र रैतीबाट नागरिक बनाउने अभियानमा अहोरात्र खटिएर नै जन्मिएको हो लोकतन्त्र  । 

पञ्चायती कालरात्री विरुद्ध अविचलीत लडेर विजय प्राप्त गर्ने अग्रजप्रति उच्च सम्मान । बिपीले भन्नु भएको थियो – “राष्ट्रियता खतरामा परेको बेला लोकतन्त्रको स्वार्थ गौण हुन्छ । लोकतन्त्र संकटमा परेको बेला पार्टीगत स्वार्थ गौण हुन्छ र पार्टी संकटमा परेको बेला व्यक्तिगत स्वार्थ गौण हुन्छ ।”

नेपालको इतिहास हेर्ने हो भने सेन काल, मल्ल काल, लिच्छवीकाल ,राणा,पञ्चायत हुँदै गणतन्त्र आयो । पहिले लोकतन्त्र थिएन ,जनतालाई दबाबमा राखिएको  थियो । सबै सामन्ती शासकलाई हटाइ लोकतन्त्र स्थापना भयो । 

तर बिडम्बना एउटा राजा हटाएर के भयो अरू सबै आम जनता राजा हुन पुगे । जनताले आफूले रुचाउने नेतृत्वदायी कार्यकर्तालाई देशको अभिभारा दिए । सर्वहारा प्रतिको नेतृत्व गर्ने सपथ लिएका अग्रजहरू सत्तामा गएपछि करोडौंको भ्रष्टाचार गर्न थाले, दण्डहीनता बढ्नुको कारक हुन पुगे । 

क्रुर शासन हुने देश कोरिया ,क्युवा र अन्य केही राष्ट्र बाहेक अरू जताततै लोकतान्त्रिक सरकार भएकोे र विकाश पथ उच्च भएकोले पनि सबैको चाहना  स्वतन्त्रता बन्न पुग्यो तर दिन प्रतिदिन देखिने राजनीतिक अस्थिरताले जनतामा निराशा मात्रै छायो ।

संघीय गणतान्त्रिक सरकार वितेको सवा दुई बर्ष भैसकेको छ तर नेपालीको रगतमा गणतन्त्र र संघीयताको बीउ उब्जिएको छैन । जस्तो बीउ हुन्छ त्यस्तै बाली हुन्छ । जस्तो खेत हुन्छ त्यस्तै बीउ चाहिन्छ । खेत अनुसारको बीउ र बीउ अनुसारको बाली नै खेती पद्धति हो । मानिसले तराईमा जुम्लाको स्याउ फलाउँछु भन्नु र हिमालमा धान फलाउँछु भन्नू मुर्खता हो तसर्थ देश विकाशलाई ध्यानमा राख्ने हो भने एउटा सही नेतृत्व र सही परिपाटी मिलाउनु आवस्यक छ । नेपालको विविधता विश्व माझ एक उदाहरण हो । यसको सही परिचालन नहुनु ,भुगोल अनुसारका अनुसन्धान र विज्ञान नहुनु आफैँमा दुःखद् कुरा हो ।

 संघीय व्यवस्थाले कर्मचारीतन्त्र ध्वस्त हुन पुग्यो, जनताले सेवाप्रवाहमा दुःख खेप्दै गए । स्थानीय जनप्रतिनिधीहरू भ्रष्ट छाडा हुदै गए । शिरदेखि  पैताला सम्मका सबै सरकारहरू भ्रष्टाचारमा चुर्लुम्म भए वा लिप्त लिप्त र  थामेर नै नसक्नु दुर्गन्धित हुँदै जनतामाथि पीडा थपिदै गयो । 

कोही संरक्षक नेता जनताले महसूस गर्न सकेनन् । असल नेतृत्व गर्न चुनिएका प्रतिनिधि करोडौंको भ्रष्टाचार गर्न थाले । सुन तस्करी देखि गाँजा तस्करी, १ करोड देखि ७० करोड , शिक्षा देखि अस्पताल, विद्युतदेखि जल, विमान देखि चार पाङ्ग्रे जताततै भ्रष्टमा देशका नेतृत्वकर्ता कै नाम आउन थाल्यो । अरुको त के कुरा गर्नु यस्तो विश्वव्यापी रूपमा फैलिएको कोरोनाको रोकथाम गर्ने बेलामा पनि अनेकौं कालाबजारी, औषधी किनबेचमा भ्रष्टाचार देख्न पाउनु देशको  निकै दुर्वल पाटो हो ।

नाङ्गो भ्रष्टाचारका अनेक अटुट श्रृंखलाहरू बढिरहे । काम अनियन्त्रित हुँदै जाँदा सरकार अलोकप्रिय मात्र बनेन जनताको निरन्तर घृणाले देशमा  संकटमाथि संकट थपियो । 

संघीय संविधान बनेपछिको पहिलो संघीय सरकारको प्रधान नेतृत्वले परम्परा स्थापित गर्ने, सुसंस्कार बसाल्ने, व्यवस्थालाई उन्नत र आफूलाई समन्वयकारी बनाउन हर तरहको प्रयत्न गर्नुपर्नेमा भ्रष्टाचार, गुटबन्दी, विकृति र अस्तब्यस्थतालाई मलजल गर्दै जाँदा  संघीय गणतान्त्रिक ब्यवस्था नै ध्वस्त हुने सँघारमा पुगेको छ। 

जनताले नरूचाए वा घृणा गर्न थालेपछि  सर्लक्क मार्ग प्रसस्त गर्नुपर्नेमा अथवा परिबर्तित देश बानाउनु पर्नेमा बूढो गोरूले कोरली गाई ओगट्ने चरित्र मात्र प्रदर्शन गर्नाले मुलुकलाई ठूलो दुर्घटनामा हुईँकाईरहेको प्रष्ट देखिँदैछ।

नेपालको राजनीति,  सरकार र कानुन विश्वमै सबैभन्दा कमजोर छ । नेतृत्वदायी कर्याकर्ताहरूको  मनस्थिति नै कुहेपछि जस्तो सुकै राम्रो संविधान, असल कानुन र योजना ल्याए पनि कर्याकर्ताको लापरवाही,भ्रष्टाचारका गतिविधि हुने हुँदा यहाँ स्थिरता, विकास र समृद्धि संभव हुने कुरै हुँदैन ।

सुदूर र मध्य पश्चिम लगायत विभिन्न जिल्लाका मजदूरहरूले नै काठमाडौँमा आवश्यक पर्ने अधिकांश श्रम धान्दै आएका रहेछन् । लकडाउनका बेला तिनले कुकुरले नपाउने दुःख बेहोर्दै रूदै बालबच्चा बोक्दै घिस्रदै आ–आफ्ना जिल्ला घर गएका छन् । 

लकडाउनबाट तीनका मनमा परेको गहिको चोट र कष्ट सायद जिवनमा तिनले कहिल्यै बिर्सने छैनन् । नेपालको शासकहरू भने देशलाई ती दुःखी पीडितहरूलाई राहत कसरी दिने भन्ने बारे चिन्तित हुनुपर्नेमा  कसरी देशलाई आफ्नो अनुकूल चलाउन  सकिन्छ । कसरी भ्रष्टाचार गरेर अरबौ अरब कमाउन सकिन्छ ,त्यसप्रति रातदिन चिन्ता गर्छन् ।

 देशमा अहिले कुनै उत्सव चलिरहेको छ ? यस्तो विषम परिस्थितिमा सबै दल सबै नेपालीलाई एकधिक्का बनाउने पर्ने ठाउँमा हेर्नुस्  सरकारको जनता लाई राहतका रुपमा अध्यादेश को कुरा । मानसिक सन्तुलन भएको यो सरकार भ्रस्टाचार गरेको प्रमाण हुदाहुदै पनि छैन भन्छ यस्तो मानसिक सन्तुलन भएको सरकार साच्चै लोकतन्त्र माथिको खतरा हो ।

हाम्रा पूर्वजहरुले लोकतन्त्रको जग खनेर गए अब हामीले त्यसमा भ्रष्टाचारको पिल्लर स्थापित गर्ने कि सुसज्जित देशको निर्माण गर्ने ? मनन गरौं । (स्तम्भकार गौरादह कृषि क्याम्पसमा अध्ययनरत छिन्) 



नयाँ