arrow

एनआरएनएले सीमामा तारवार लगाउने पहल शुरु गरोस

logo
जेदु पोखरेल,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
jedu-pokhrel.gif

सन २००३ सालमा स्थापना भएको गैरआवासिय नेपाली संघ बिश्वभरका गैरआवासिय नेपालीहरुको  हितको पक्षपोषण एवं संरक्षण अनि नेपालको प्रवर्धन र बिकासगर्ने  पवित्र उद्देश्य लिएर अगाडी बढ्दै आज १७ वर्षको किशोरावस्थामा पुगेको छ। हामीलाई गौरव छ, गैरआवासिय नेपाली संघले कमसे कम हाम्रो मातृभूमीको बिकास र बिश्वमै छरिरहेका नेपालीको हितको रक्षार्थ काम गर्दै आएको छ। नेपाललाई दु:ख पर्दा संघले आफ्नो गच्छेले भ्याएसम्म तन, मन, धनले सहयोग गर्दै आईरहेकोबारे सबैलाई अवगत नै छ। त्यसको ज्वालन्त दृष्टान्त भनेको भूकम्पको समयमा, बाढी पहिरोको समयमा वा अहिलेको महामारी कोरोना भाईरसकै समयमा किन नहोस गैरआवासिय नेपाली संघले दिलोज्यान अर्पेर खटिरहेको, लागिरहेको छ । यस पवित्र कामको लागी नेपाली जनता आभारी नै हुनुपर्दछ भन्ने मलाई लागेको छ ।

एकपटक फेरि नेपाल भारतको सिमाबिबादले नेपाल देशको अस्तित्व नै खतरामा पर्न हो कि भनि सोच्न बाध्य बनाएको छ। अहिले नेपाल-भारतको सिमा बिवाद एउटा ऐतिहासिक चुनौतीको रुपमा खडा भएको छ। यो मुद्धा नयॉ भने होईन। हिन्दुस्तान एक छिमेकी राष्ट्र भएर पनि अन्तर्राष्ट्रीय कानुनको धज्जि उडाउदै जुन मिचाहा र बिस्तारबादी लालची प्रबृती देखाएको छ, यसमा सारा विश्वको दृष्टि गएको हुनुपर्दछ। यदि यस मुद्धालाई उसले वार्ताबाट समाधान गर्न नचाहेमा अन्ततोगत्वा यसको फैसला विश्वले नै गर्नुपर्ने हुन्छ। नेपालसंग १८५० किलोमिटर लामो खुला सिमा जोडिएको भारतले नेपालको भु-भाग बारम्बार हडप्दै आईरहनु नेपालकै अस्तित्व संकटमा पर्नु हो । हाम्रो मातृभूमिको क्षेत्रफल कतिसम्म खुम्चिने हो ? सदियों देखिको लगातार सिमामिचाईले आज ईतिहासको त्यो बृहद नेपालको ठूलो भु-भाग मात्र गुमेको छ, त्यहि बचेकोमा पनि छिमेकी हिन्दुस्तानको श्रृंखलाबद्ध कुदृष्टि पर्नु हाम्रो सिमा अब्यवस्थित भएर नै हो ।

यसै पृष्ठभूमिमा हामी सम्पुर्ण आवासीय र गैरआवासिय नेपाली एकभएर यसको समाधानको उपाय खोज्नुपर्ने बेला भएको छ । त्यसैले मलाई लाग्छ देशको सिमा ब्यवस्थापनको पहिलो उपाय देशको सिमामा तारवार लगाउनु नै हो। मातृभूमिको रक्षार्थ एकपटक फेरी बिश्वभरका गैरआवासिय नेपालीहरु एकभई नेपाल भारतको सिमामा तारबार लगाईदिन सकियो भने भविष्यमा फेरी कहिल्यै पनि भारतसंग सिमाबिबादको मुद्धा उठ्नबाट रोकिने छ र हाम्रो त्यो बृहत नेपाल खुम्चिएर आज जुन अबस्थामा छ त्यो अवस्था फेरि दोहोरिने छैन । गैरआवासिय नेपालीको यो राष्ट्रवादी कामले एकातिर नेपालदेशको संरक्षण र नेपालराष्ट्रको अस्तित्व रहेसम्म युगौयुग रहने छ भने अर्कोतिर गैरआवासिय नेपाली संघको आफ्नो मातृभूमिको पबित्र राष्ट्रवादी कर्तव्य पुरा भई संघको प्रताप नेपालको मध्य आकासमा चम्किरहने छ । त्यसैले यो राष्ट्रवादी अभियान शुरु गर्नको लागि नेपाल सरकारसंग समन्वय गर्दै सम्पुर्ण गैरआवासिय नेपाली संघका राष्ट्रीय समिति, प्रवासमा स्थापित बिभिन्न नेपाली राजनितिक पार्टीका भातृसंस्था तथा सामाजिक संघ संस्थाहरुसंग आबस्यक छलफल अगाडी बढाउन यसै पत्रमार्फत एनआरएनएका अध्यक्ष सहित कार्यसमितिलाई प्रस्ताव गर्दछु ।

अन्तमा: कुनैपनि देशको सिमा नै त्यस देशको बस्त्र हो, त्यसैले देशको सिमा आमाको बस्त्र जस्तै आदरणीय हुन्छ त्यसको सदैव रक्षा गर्नु हाम्रो कर्त्तव्य हुन्छ । अस्तु: । जय एनआरएन ।

(जेदु पोखरेल गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रीय समिती अमेरिकाका सदस्य हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ