arrow

निर्वाचनका बारेमा श्रीलङ्काको सर्वदलिय बैठक पनि अनिर्र्णीत

logo
पिटिआई
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
corona-srilanka.jpg

कोलम्बो। श्रीलङ्कामा संसदीय निर्वाचन कहिले गराउने भन्ने बारेमा सर्वदलिय बैठक पनि अनिर्णीत भएको छ। आगामी जुनमा गर्नेगरी तय गरिएको निर्वाचन निर्धारित समयमै गर्ने की नगर्ने भन्ने बारेमा छलफल गर्न निर्वाचन आयोगले बुधबार सर्वदलिय बैठकको आयोजना गरेको थियो।

राष्ट्रपति गोटाबाया राजापाक्षेले विपक्षीको बहुमत रहेको संसद केही महिना अगाडी विघटन गरेर निर्वाचनको घोषणा गरेका थिए। उनले गत मार्च महिनामा संसद विघटन गरी शुरुमा अप्रिलमा निर्वाचन गराउने तय गरेका थिए। तर भाइरसको सङ्क्रमणका कारण स्थगित भएको निर्वाचन फेरी जुन २० तारिखमा गर्ने भनिएको थियो। तर कोरोनाभाइरसको सङ्क्रमणको अवस्था पूर्ण नियन्त्रणमा आइनसकेकाले तोकिएको समयमा निर्वाचन गर्न सकिने की नसकिने भन्नेमा दलहरु नै अन्यौलमा रहेका छन्।

श्रीलङ्कामा कोरोनाभाइरसका कारण अहिलेसम्म ८८९ जना सङ्क्रमित भएका छन् भने नौ जनाको मृत्यु भएको छ। कोरोनाभाइरसले मानवीय संकट निम्त्याएकै बेला श्रीलङ्कामा निर्वाचनको विषयलाई लिएर संवैधानिक संकट पनि उत्पन्न भएको छ। श्रीलङ्काको संविधानमा संसद विघटन भएको तीन महिनामा गठन गरिसक्नु पर्ने व्यवस्था रहेको जनाइएको छ। देशका विभिन्न विपक्षी दलहरु र नागरिक अगुवाका विभिन्न संघसंगठनहरुले अहिले निर्धारण गरिएकै समयमा निर्वाचन सम्पन्न गर्न माग गरेका छन्।

उनीहरुले संवैधानिक व्यवस्थालाई भत्कन नदिनेगरी कुनैपनि हालतमा तीन महिना भित्रमा निर्वाचन गरिसक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन समेत दिएका छन्। संवैधानिक बाध्यता र कोरोनाभाइरसको सङ्क्रमणको अवस्थालाई ध्यान दिएर निर्वाचनका बारेमा निर्णय गर्न आयोजना गरिएको सर्वदलिय बैठक विना निश्कर्ष सकिएको एक नेताले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ