रुपन्देहीमा लकडाउनको ४७ दिनमा ११ बालबालिका सहित २८ ले गरे आत्महत्या
आर्थिक अवस्था, मानसिक तनाव र अवैध सम्वन्ध आत्महत्याका मुख्य कारण
नारायण वली,
प्रकाशित २०७७ जेठ १ बिहिबार
837
Shares
रुपन्देही । कोरोना भाईरस संक्रमणको उच्च जोखिमबाट बच्न गरिएको लकडाउनकै अवधिमा रुपन्देहीमा २८ जनाले आत्महत्या गरेको पाईएको छ ।
गत चैत ११ गते देखि यही वैशाख २७ गतेसम्म आत्महत्या गर्नेहरुको संख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै आत्महत्या गर्नेहरुमा सवैभन्दा धेरै महिलाहरुको संख्या रहेको छ ।
लकडाउन भएको ४७ दिनको अवधिमा १२ जना महिला, ६ जना बालिका, ५ जना बालक, ४ जना वृद्ध र १ जना पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क वहादुर खत्रीले जानकारी दिए ।
यसैविच आत्महत्या हुनुको कारण भने मानसिक तनाव, कमजोर आर्थिक अवस्था प्रमुख हुने गरेका छन्। त्यसैगरि अवैध यौन सम्बन्ध खुल्ने आएपछि पनि कतिपय आत्महत्या हुने गरेको पाइएको प्रहरी नायव उपरीक्षक खत्रीले जनाए ।
महिलाहरुमा भने घरायसी कारणले बढी आत्महत्या हुने गरेको उल्लेख गरिएको छ । प्रायः आत्महत्या झुण्डिएर र बिष सेवन गर्ने गरेर हुने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख गरिएको छ ।