arrow

शुक्रबार कुन बेला छ अमृतबेला र शुभबेला ? (राशीसहित)

राम्रो मानिँदैन राहुकालमा यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय गर्नु 

logo
ज्यो.  हरि पन्त,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
Today_Horoscopee_(3).jpg

आजको पञ्चांग 
आज मिति २०७७ जेठ २ गते शुक्रबार, इस्वी संवत मे १५ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठ कृष्णपक्ष बछलागा चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठकृष्णपक्षको अष्टमी तिथि १४ घडी २१ पला अर्थात् बिहानमा ११ बजेर विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४५ मिनेटमा हुनेछ । 

आज दिनमान ३३ घडी ४० पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रही बिहान ठीक ५ बजेर १७ मिनेटमा०१ मिनेटसम्म त्यसउप्रान्त नवमी तिथि लाग्नेछ । आज धनिष्टा नक्षत्र, विष्कुम्भादि योगमा ऐन्द्र, करणमा तैतिल, आनन्दादि योगमा धाता रहने छ । 

सूर्य वृष राशिमा, चन्द्रमा कुम्भ राशिमा रहने छ ।

मेषः समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ–नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुनेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।

वृषः समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ ।

मिथुनः समय तथा स्वास्थ्य भरपर्दो रहनेछैन । पेटमा आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, जताबाट पनि तपाईलाई समय राम्रो छैन । आज सकेसम्म उत्तर दिशाको यात्रामा नजानुहोला । आज धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्नुभएमा ठूलो घाटाबाट बच्न सकिनेछ ।

कर्कटः समय राम्रो छैन । सरकारी कार्यालयबाट लिइने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज पश्चि दिशाको यात्रामा नजानुहोला ।

सिंहः स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । 

कन्याः समय शुभ छ, स्वास्थ्य भरपर्दो रहनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज माँगे पाइन्छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता पाइने देखिन्छ ।

तुलाः समय शुभ छैन । साना–साना कुरामा पनि शंका र चिन्ता गर्ने देखिन्छ । जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ ।

वृश्चिकः स्वास्थ्यमा समस्या आउन सक्छ । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला ।

धनुः स्वास्थ्यमा सुधार आउनेछ । पदीय प्रमोसन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनुहुन्छ भने आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ । विशेष गरी पश्चिम दिशाको यात्राले फाइदा मिल्नेछ । 

मकरः समय अत्यन्त खराब छ, शत्रुस्थानको चन्द्रमाले मनमा विना कामका चिन्ताले सताउनेछन् । आँपूm अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनेछ । 

कुम्भः समय अत्यन्तै शुभ छ । भाग्यस्थानको चन्द्रमाको प्रभावले कुनै पनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । आज पूर्व दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् ।

मीनः समय खराब छ । स्वास्थ्य पनि भरपर्दो रहनेछैन । चिसोबाट सतर्क हुनुहोला । यात्रामा समेत झमेला हुन सक्नेछ । पेशाबाट तनाव उत्पन्न हुनेछ । आम्दानीका स्रोतहरू बन्द हुनेछन् । जागीरमा समेत समस्या आउन सक्छ, आजको कसैसंग धेरै बोल्नु भन्दा नबोल्नु नै तपाइँको जित हुनेछ । 

साइतः आज चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले दक्षिण बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज शुक्रबार पश्चिम दिशाको यात्रा गर्नु शुभ मानिंदैन । 

आजको शुभ लाभादि बेला 
बिहान ५ः१७ बजेदेखि         ६ः४७ बजेसम्म        चर बेला
बिहान ६ः४७ बजेदेखि         ८ः१७ बजेसम्म        लाभ बेला
बिहान ८ः१७ बजेदेखि         ९ः४७ बजेसम्म        अमृत बेला
बिहान ९ः४७ बजेदेखि        ११ः१७ बजेसम्म        काल बेला
दिउँसो ११ः१७ बजेदेखि        १२ः४७ बजेसम्म        शुभ बेला
दिउँसो १२ः४७ बजेदेखि      २ः१७ बजेसम्म        रोग बेला
दिउँसो २ः१७ बजेदेखि        ३ः४७ बजेसम्म        उद्धेग बेला
दिउँसो ३ः४७ बजेदेखि        ५ः१७ बजेसम्म        चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समयभित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो । साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ