arrow

काठमाडौं महानगरकी उपप्रमुख खड्गीसहितको कोरोना परीक्षण

कामपाले शुक्रबार  बिहान महानगरका सरसफाइमा काम गर्ने कर्मचारीको परीक्षण गर्ने कार्यक्रम

logo
प्रकाशित २०७७ जेठ २ शुक्रबार
hariprabha.JPG

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । 

कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान ११ बजे शुरु गरिएको आरडिटी र पिसीआर परीक्षण साँझ साढे ६ बजेसम्म गरेको थियो ।
      
महानगरले कालिमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको हो । 

बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाइ मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस भए–नभएको पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको हो ।
 
परीक्षण अवलोकन गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ तरकारी बजार पुगेका थिए । त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले पिसीआर परीक्षण गराएकी थिइन् । उपप्रमुखसहित सबैको परीक्षण नतिजा भने आउन बाँकी छ । 
 
सो अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने, “उपत्यकामा  सङ्क्रमित व्यक्तिहरु देखिन थालेका छन् । यसले लकडाउनको पालना गरेर बस्नेहरुलाई सशङ्कित बनाएको छ । यो आशङ्कालाई निवारण गर्नका लागि हामीले परीक्षण शुरु गरेका हौँ । महामारी नियन्त्रणका लागि खटिने जनप्रतिनिधि र कर्मचारीलाई क्रमशः परीक्षण गर्छौँ ।”
 
उनले भने, “जो जहाँ हुनुहुन्छ, त्यहीँ बसिदिनोस् । यसले महामारी नियन्त्रणमा सहयोग पुर्याउँछ । सबै संयम भएर घरमा बस्न सके मात्र कोरोनामाथि विजय प्राप्त गर्न सक्छौँ । यसकारण अहिले कोही पनि काठमाडौँ बाहिरबाट भित्र आउने र भित्रबाट बाहिर जाने नगर्नोस् । यो आउने जाने समय होइन ।”
 
उपप्रमुख खड्गी श्रेष्ठले भनिन्, “अहिले जसलाई भेटे पनि शङ्का गर्नुपर्ने अवस्था छ । यो शङ्का हटाउन पनि जनप्रतिनिधिले परीक्षण गराउनुपर्छ । अब यो परीक्षण महामारी नियन्त्रण गर्न खटिने सबै जनप्रतिनिधि र कर्मचारीको पहुँचमा पुर्याउँछौँ ।” 

इपिडियोमोलोजी तथा महामारी नियन्त्रण शाखाका प्रमुख डा अमृत पोखरेलका अनुसार कम जोखिममा रहेका ७० प्रतिशत नागरिकको आरडिटी र जोखिममा रहेका ३० प्रतिशतको पिसीआर परीक्षण गर्ने गरी काम भइरहेको छ ।
  
कालिमाटी तरकारी तथा फलफूल विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार कालिमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी छन् । 

सामान्य अवस्थामा बजारमा हरेक दिन १० हजार बढी मानिसको आवतजावत हुन्छ । तरकारी, फलफूल तथा माछा लिएर दैनिक औषतमा एक हजार बढी सवारी आउँछन् भने दुई हजार बढी मोटरसाइकल आवतजावत गर्छन् । बजारसँग आश्रित ५०० भरिया मजदुर छन् । 

बजार व्यवस्थापनका लागि ६३ कर्मचारी र सुरक्षाकर्मी कार्यरत छन् भने २० मजदुर सरसफाइमा कार्यरत छन् । कामपाले शुक्रबार  बिहान महानगरका सरसफाइमा काम गर्ने कर्मचारीको परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ