arrow

लकडाउनमा किसानको हात पुर्पुरोमा, अज्ञात रोगले गोलभेंडा सखाप 

logo
हेमन्त केसी, रासस, 
प्रकाशित २०७७ जेठ २ शुक्रबार
tomato.jpg

जाजरकोट । अज्ञात रोगले गोलभेडालाई नष्ट पारेपछि जाजरकोटको भेरी नगरपालिकाका किसान चिन्तित बनेका छन् । 

गोलभेडामा रोगको सङ्क्रमण फैलिएर बाली नै नष्ट भएपछि भेरी नगरपालिका– १, ४, ११ का किसान चिन्तित बनेका हुन् । 

आम्दानीको राम्रो स्रोत भएको टमाटरको बिक्रीबाट भएको आम्दानीले दैनिक घर खर्चदेखि छोराछोरी पढाउँदै आएका यहाँका किसान निकै मारमा परेका छन् ।
 
बिहीबार खेतबारीमै कृषि प्राविधिक लिएर गएकी भेरी नगरपालिका–११ की कालुदेवी पुन मगरले सबै टमाटर देखाए । फल लागेर लटरम्म फलेका टमाटर सबै जमिनभरि राताम्य भएर गलेको देखेपछि कृषि प्राविधिकसमेत अनौठो मान्दै हैरान भएका थिए । 

कृषि प्राविधिक यज्ञ अधिकारीले भने, “शुरुमा भएको भए केही औषधि गर्न सकिथ्यो, अब सबै फल पाकिसकेकाले केही उपाय छैन ।” यो कुरा सुनेपछि अर्का कृषक तिले रोकायले झन् चिन्ता थपिएको बताए ।

उनले भने, “भेरी नगरपालिकाको पकेट क्षेत्रमा लगाएको टमाटर खेती सबै सखाप भयो, हाम्रो आम्दानीको मुख्य स्रोत बन्द भयो, अब के गर्ने ?” तरकारीखेतीबाटै जीविकोपार्जन गरिरहेका किसानले लगाएको गोलभेडा गलेपछि चिन्तित बनेको रोकायले बताए ।
 
जिल्लाको सबैभन्दा बढी तरकारी उत्पादन गर्ने मटेला, इवर र कालेगाउँमा लगाएको सबै टमाटर रोगले खेर गएपछि यहाँ तीन दर्जन किसान मर्कामा परेका छन् । 

भेरी नगरपालिका कृषि शाखाबाट अनुदानमा वितरण भएको टमाटर बीउ पाएर राम्रो उत्पादन गर्ने उद्देश्यले भएभरको मेहेनत गरेका किसान अहिले रुनु न मर्नुजस्तै भएको अर्का किसान कृष्णकला रोकायले बताए । 
 
वर्षेनी तरकारीमा समस्या देखिए पनि यो पटक धेरै समस्या देखिएको उनले बताए । कोरोना भाइरसबाट जोगिन र जोगाउनका लागि लकडाउन हुँदा नगरपालिकाको कृषि शाखाले औषधि खरिद गर्न नसकेको जानकारी दिएको छ ।

धेरै ठाउँमा औषधिका लागि सम्पर्क गर्दा पनि सम्भावना नभएपछि घरेलु विधिबाहेक अरु उपाय नभएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले बताए । उनले थपे, “अब कृषकले तरकारी खेती प्रणाली बदल्नुपर्छ । जुन अहिले टमाटरमा देखिएको रोग छ, त्यो नयाँ खालको रोग हो । हामीजस्ता सामान्य प्राविधिकले यो केही गर्न सक्दैनौं ।”
 
भारी जमिनमा लटरम्म फलेको टमाटर भकाभक कुहिएर झर्न थालेपछि हातमा परेको पैसा हराएको जस्तै भएको कृषकले संज्ञा दिएका दिएका छन् । टमाटर कुहिएर झरेपछि सदरमुकाममा टमाटर पाउन मुस्किल भएको छ । टमाटरको प्रत्येक बोटमा टमाटर झरेर सोतर भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ