arrow

वडा कार्यालयले राहत वितरण विवरण सार्वजनिक गरेपछि सर्वत्र प्रशंसा

अन्य स्थानीय तहलाई दवाव

logo
हरि पन्त,
प्रकाशित २०७७ जेठ ३ शनिबार
pokhara-covid-w9.jpg

पोखरा। पोखरा महानगरपालिका वडा नं. ९ ले दुई महिनामा ३४ लाख रुपैयाँ भन्दा बढीको राहत वितरण गरेको छ । राहत वितरणमा अपारदर्शिताको कुरा उठिरहँदा पोखरा९ ले भने वडा भित्र वितरण भएका पूरा विवरण सार्वजनिक गरेको छ । यसै वडामा राहत वितरण पारदर्शी नभएको भन्दै केही अघि स्थानीयले आन्दोलन समेत गरेका थिए ।

नेपालमा लकडाउन घोषणा भएसंगै समस्यामा परेकाहरूलाई राहत वितरण गरिएको थियो । वडा कार्यालयले चैत र वैशाख महिनामा दुई हजार छ सय ४९ घर परिवारलाई ३४ लाख ४३ हजार पाँच सय ८० रुपैयाँ बराबरको राहत वितरण गरेको जनाएको छ ।

वडा कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर राहत वितरण गरेको विवरण सार्वजनिक गरेको हो । राहत वितरण विवरण सार्वजनिक गर्ने पोखरा महानगरका ३३ वडामध्ये वडा नं. ९ पहिलो हो ।

वडा कार्यालयले पोखरा महानगरपालिका कार्यालय, विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा राहत वितरण गरेको भन्दै कसैसंग पनि नगद नलिएको र सबैसंग जिन्सी सामग्रीमात्रै लिएको जनाएको छ ।

वडाध्यक्ष रामराज लामिछानेका अनुसार छ सय ८८ घरधुरीका लागि महानगरपालिकाबाट १० लाख ८० हजार, विभिन्न व्यक्ति र संघसंस्थाबाट एक हजार नौ सय ६१ घरधुरीका लागि २३ लाख ३२ हजार तीन सय ८० रुपैयाँ बराबरको राहत सामग्री वडा भित्र वितरण भएको छ ।

यसमा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले व्यक्तिगत रुपमै तीन लाख ७५ हजार रुपैयाँ बराबरको राहत वितरण गरेको विवरणमा उल्लेख छ ।

यसैगरी महेन्द्रपुलनयाँबजार टोल विकास संस्थाले दुई लाख ८३ हजार पाँच सय १०, समाजसेवी केशव रेग्मीले एक लाख ६३ हजार, असल छिमेकी नेपालले एक लाख २२ हजार, पोखरा व्याडमिन्टन क्लब र पिसिएम कलेजले एक लाख २१ हजार र प्रतिभा बोर्डिङ स्कूल र विष्णु थापाले एक लाख रुपैयाँ बराबरको राहत सामग्री उपलव्ध गराएको जनाएको छ । यी सबै राहत एकद्धार प्रणालीमा वडा कार्यालयकै रोहवरमा वितरण गरिएको वडासचिव लोकदर्शन कोइरालाले जानकारी दिए ।

महानगरपालिकाले राहत वितरण नगर्न र लकडाउन खुकुलो गरेर मजदूरलाई काममा लगाउन भने पनि आफूहरूले समस्यामा परेकाहरूलाई राहत वितरण कार्य जारी राखेको वडाध्यक्ष रामराज लामिछानेले बताए ।

वडा कार्यालयको यो कार्यको पोखरामा प्रशंसा भएको छ । योसंगै पोखराका अन्य वडाहरूलाई राहत वितरण विवरण सार्वजनिक गर्न दवाव परेको छ ।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले पोखरा९ ले एक कदम अघि बढेर निकै राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

सांसद थापाले अपारदर्शिताको व्यापक कुरा उठिरहेको भन्दै सबै स्थानीय तह र महानगरपालिका स्वयंले पनि एकमुष्ट रुपमा राहत वितरण विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।

यता, पोखराका अन्य वडाहरू पनि राहत वितरण विवरण सार्वजनिक गर्ने तयारीमा रहेको बताइन्छ । अझै पनि राहत वितरण कार्य जारी रहेकाले छिट्टै विवरण सार्जजनिक गरेर महानगरमा बुझाउने वडाध्यक्षहरूले बताएका छन् । पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष धनबहादुर नेपालीले पोखरा९ ले गरेको कार्यको प्रशंसा गर्दै अन्य वडाहरूले पनि छिट्टै प्रतिवेदन जार्वजनिक गर्ने बताए ।

विश्वमा फैलिएको महामारीले नेपाल पनि अछुतो रहन सकेन । भलै नेपालमा हालसम्म कोरोनाकै कारण कसैले पनि ज्यान गुमाउन परेको छैन । तर लकडाउनले हुँदा खाने र हुने खाने दुवै पक्षलाई समस्या पारेको छ । यस्तो अवस्थामा पनि आर्थिक अपारदर्शिताका कुराहरूले पीडितलाई झन पीडा थपिएको छ । पोखरा महानगरपालिका वडा नं. ९ ले जसरी काम गर्यौ, त्यो निकै प्रशंसनीय छ । वडाको यो कार्यको सवैतिरबाट प्रशंसा भइरहेको छ । सबै स्थानीय तह, निकाय, प्रदेश सरकार एवं केन्द्रीय सरकार समेतले यसको सिको गर्न आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ